भिवोर विकास बैंक किन्न नबिल बैंक सकारात्मक

सुदर्शन सापकोटा
काठमाडौं, पुस ३
वित्तीय संकटमा परेको भिवोर विकास बैंक बिक्री गर्न राष्ट्र बैंकले पहल सुरु गरेको छ। राम्रो सम्पत्ति भए पनि भिवोरले राष्ट्र बैंकको ऋण तिर्न नसकेकाले नबिल बैंकलाई किनाउनका लागि पहल गरेको हो। हङकङको एक कम्पनीले ४९ प्रतिशत सेयर किन्न इच्छा देखाए पनि धेरैपल्ट सम्झौता गर्न नेपाल आउने समय बढाइरहेकाले राष्ट्र बैंकले निजी क्षेत्रको ठूलो बैंक नबिलसँग बिक्रीका लागि पहल थालेको हो।
 शनिबारसम्म आइपुग्नुपर्ने हङकङको इन्भेस्टमेन्ट च्यानल कम्पनीले बैंकलाई कुनै पनि प्रतिक्रिया दिएन। राष्ट्र बैंकले यसका लागि नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग कुराकानी गरिसकेको छ। नबिलले हङकङको कम्पनी नआए भिवोर खरिद गर्न राष्ट्र बैंकलाई सकारात्मक जवाफ दिएको छ। 'हङकङको कम्पनी नआए नबिलले भिवोर खरिद गर्न सकारात्मक जवाफ दिएको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, 'भिवोरको अवस्था राम्रो बनाउन अन्य विकल्पमा पनि कुराकानी भइरहेको छ।'


स्रोतका अनुसार भिवोरको सम्पत्ति अवस्था राम्रो भएकाले नबिल बैंक खरिदका लागि सकारात्मक भएको हो। राष्ट्र बैंकले भिवोरको समस्या अन्य कारणबाट सुल्झे नयाँ तथा साना बैंक किन्न पनि भनेको छ। नयाँ बैंकको कार्यसम्पादन कमजोर र सन्तोषजनक नरहेको तथा साना बैंकको वित्तीय अवस्था खासै राम्रो नभएको भन्दै यस्ता कम्पनी किन्न पहल गरेको हो।

नबिलका अधिकारीहरूले भने भिवोर खरिद विषयमा राष्ट्र बैंकबाट कुरा आए पनि यसबारे अहिले केही बताउन नमिल्ने प्रतिक्रिया दिए। भिवोरका प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले तरलता प्रवाहका लागि नबिलसँग कुराकानी भए पनि कम्पनी बिक्रीबारे छलफल नभएको दाबी गरे। 'राम्रो सम्पत्ति रहेको भिवोर जोगाउँदा अर्थतन्त्रलाई नै फाइदा गर्छ,' उनले भने, 'यसका लागि राष्ट्र बैंकले पहल गर्नु स्वाभाविक हो।'

नबिल बैंककबाट खरिद गर्न ढिलाइ भए वा अन्य व्यवधान आए राष्ट्र बैंकले उसको कर्जा बिक्रीका लागि पनि पहल गरेको छ। राष्ट्र बैंकको पहलपछि विकास बैंक संघका सदस्य बैंकहरू भिवोरको सम्पत्ति किन्न सकारात्मक भएका छन्। २/३ करोडका दरले बैंकको सम्पत्ति किन्न क्लिन इनर्जी डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, एनडिइपी विकास बैंकलगायत १४ राष्ट्रियस्तरका विकास बैंक तयार रहेका राष्ट्र बैंक स्रोतले जानकारी दियो।

'संस्थागत सुशासनमा समस्या नभएकाले भिवोरलाई जोगाउनु आवश्यक छ,' स्रोतले भन्यो, 'सम्पत्ति गुणस्तर र अन्य वित्तीय सूचकांक राम्रो भएकाले पहल गरेका हौं।' भिवोरसँग बिक्रीका लागि तयारी अवस्थामा रहेको बाँसबारीस्थित १ सय ३२ आना जग्गा र कमलपोखरीमा व्यावसायिक हाउजिङ छ। भिवोरले आफ्नो वित्तीय अवस्था सुधार्न हङकङको कम्पनीलाई ४९ प्रतिशत सेयर बेच्ने सम्झौताको तयारी गरेको थियो। उक्त कम्पनीले भने सम्झौता टारिरहेपछि राष्ट्र बैंकले पुँजी हाल्न पहल गरेको हो। हङकङको कम्पनी आएको भए भिवोरलाई बैंक ग्यारेन्टीका रूपमा १ अर्ब ३१ करोड रुपैयाँ प्राप्त हुन्थ्यो।

तरलता अभावका कारण भिवोरले राष्ट्र बैंकसँग लिएको ६८ करोड ८६ लाख रुपैयाँमध्ये २५ करोड रुपैयाँ म्याद नाघिसक्दा समेत तिर्न सकेको छैन। भिवोरले अन्तिम ऋणदाता सुविधा र पुनर्कर्जाका रूपमा राष्ट्र बैंकसँग ऋण लिएको थियो।

No comments:

Post a Comment

thanks for comment