निजी क्षेत्रमा प्रत्यक्ष लगानी गर्न एडिबी इच्छुक

सुदर्शन सापकोटा
काठमाडौं, मङ्सिर २९
एसियाली विकास बैंक (एडिबी) ले नेपालको निजी क्षेत्रमा प्रत्यक्ष लगानी गर्न सरकारसँग स्वीकृति मागेको छ। सरकारमार्फत लगानी गरिरहेको एडिबीले संरचनै बनाएर प्रत्यक्ष निजी क्षेत्रमा लगानी गर्न स्वीकृति माग गरेको हो।
ऋण लगानी संरचनामा स्वीकृति पाएपछि एडिबीले निजी क्षेत्रमा लगानी गर्न पटकैपिच्छे सरकारसँग स्वीकृति लिइरहनुपर्दैन। बिनाझन्झट निजी क्षेत्रमा जान पाएपछि लगानी बढ्ने स्रोतले बतायो। एडिबीले वर्ल्ड बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) जस्तै गरी निजी क्षेत्रमा लगानी गर्न खोजेको हो। आइएफसीले परियोजनापिच्छे सरकारसँग स्वीकृति नलिई लगानी गर्न पाउँछ।
एडिबीले निजी क्षेत्रमा लगानी गर्न चाहे पनि कुन-कुन क्षेत्रमा जाने भन्ने खुलाएको छैन। एडिबी स्रोतका अनुसार निर्यातमूलक उद्योग, एयरलाइन्स, पर्यटन उद्योग र उत्पादनमूलक उद्योगमा लगानी गर्ने सोचाइ छ। यस्तो लगानी नेपालकै अर्को निजी संस्थासँग मिलेर वा आफैंले व्यवस्थापन हेरेर हुन सक्ने स्रोतले जानकारी दियो। 'अहिले स्वीकृति माग गरिए पनि कसरी कुन क्षेत्रमा लगानी गर्ने भनेर टुंगो लागिसकेको छैन,' स्रोतले भन्यो।
एडिबीले गरेको प्रस्तावबारे अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग पनि राय मागेको छ। राष्ट्र बैंकले अर्थलाई एडिबीको प्रस्तावबारे सकारात्मक उत्तर दिने तयारी गरिरहेको छ। 'लगानी गर्छु भन्ने कुरामा नकारात्मक हुनै सकिन्न,' राष्ट्र बैंक स्रोतले भन्यो, 'एडिबीले नेपालको विकास तथा पूर्वाधार क्षेत्रमा लगानी गरिरहेकाले उसको प्रस्तावलाई अन्यथा लिनुपर्ने कारण पनि छैन।'
एडिबीले सरकारसँग स्वीकृति लिएर हायात रिजेन्सी होटल, गोरखकाली रबर उद्योग र ज्योति स्पिनिङ मिल्समा लगानी गरिरहेको छ। अहिलेसम्म निश्चित प्रतिशत सेयर तथा ऋण लगानी गरेको एडिबीले स्वीकृति पाएमा आफैंले व्यवस्थापन लिएर कम्पनी सञ्चालन गर्न पाउने छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार एडिबी प्रत्यक्ष रुपमा संलग्न भएर निजी क्षेत्रमा लगानी गर्ने भएकाले स्वीकृति दिने तयारीमा सरकार छ। स्रोतले सरकारको प्रशासनिक काम सकिएपछि चाँडै नै संरचनात्मक लगानी सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी दियो।
'एडिबीलाई चाँडै नै स्वीकृति दिन्छौं। उनीहरुलाई स्वीकृति दिँदा पैसा मात्र नआएर व्यवस्थापन र प्रविधि पनि आउने भएकाले नेपाललाई फाइदा छ,' अर्थ स्रोतले भन्यो। सम्झौता भएलगत्तै ठूला आकारमा लगानी नआए पनि व्यवस्थापन र प्रविधि भित्रिने हुँदा नेपाली जनशक्तिको क्षमतावृद्धि हुने स्रोतको दाबी छ।
एडिबीले अहिले सरकारमार्फत पूर्वाधार विकास, सडक, कृषि, प्राकृतिक स्रोत, शिक्षा, खानेपानी, महिला बालबालिकालगायत क्षेत्रमा लगानी गरिरहेको छ। एडिबीले प्रत्यक्ष लगानी स्वीकृति पाए अहिले गरिरहेको कामलाई निरन्तरता दिँदै निजी क्षेत्रमा वेग्लै लगानी गर्ने छ। यस्तो पैसा ऋणका रुपमा नभई लगानीका रुपमा आउने छ।
एडिबीको नेपाल संस्थापक सदस्य राष्ट्र को। नेपालमा उसले अहिलेसम्म २ अर्ब ६३ करोड अमेरिकी डलर बराबर ऋण र ६० करोड ३२ लाख डलर सहायता दिइसकेको छ। प्राविधिक सहयोगका लागि नेपालले १४ करोड ८३ लाख रुपैयाँ नेपालले पाइसकेको छ।

No comments:

Post a Comment

thanks for comment