भिवोरले राष्ट्र बैंकको सबै ऋण तिर्‍यो

पुँजी बढाउन मर्जर वा विदेशी साझेदारीमा जाने-
सुदर्शन सापकोटा
काठमाडौं, पुस ८
भिवोर विकास बैंकले राष्ट्र बैंकको सवै ऋण चुक्ता गरेको छ। बैंकले लिएको कुल ६८ करोड ८६ लाख रुपैयाँ ऋणमध्ये बाँकी रहेको २५ करोड रुपैयाँ बुधबार तिरेको हो। चरम तरलता अभाव भएपछि राष्ट्र बैंकसँग अन्तिम ऋणदाता सुविधा र पुनर्कर्जाका रुपमा बैंकले गत जेठमा ऋण लिएको थियो।
 ऋण तिर्ने अवधि सकिएको एक सातापछि बैंकले सवै ऋण चुक्ता गरेको हो। भुक्तानी गर्नु पर्ने समय सकिदाँसमेत ऋण चुक्ता नभएपछि राष्ट्र बैंकले भिवोरलाई कारवाही गर्ने तयारी गरेको थियो।
भिवोरले राष्ट्र बैंकको ऋण चुक्ता गर्नका लागि बाँसबारीको जग्गा बिक्री गरेको थियो। यसका अलावा अन्य विकास बैंकहरुलाई आफ्नो साढे नौं करोडको असल कर्जासमेत बिक्री गरेको प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले जानकारी दिए।

'ऋण चुक्ता गरेपछि अहिले हामी एकदमै सवल अवस्थामा छौं,' उनले भने, 'अब पुँजी वृद्धि गरेर बैंकको क्षमता वढाउने तयारीमा लाग्छौं।' उनले बैंकमा निक्षेप वढ्न थालेको समेत जानकारी दिए।

बैंकले पुँजी वृद्धिका लागि अर्को स्थानीय संस्थासँग गाभिने र विदेशी साझेदारसँग सहकार्य गर्ने नीति लिएको छ। यसका लागि बैंकले व्यवसायिक घराना ज्योति समुहले प्रवर्द्धन गरेको भाजुरत्न फाइनान्ससँग गाभिनका लागि सम्झौता नै गरिसकेको छ। बैंकसँग अहिले ६८ करोड रुपैयाँ चुक्ता पुँजी छ। भाजुरत्नको पुँजी बाहेक ज्योति समुहले २० करोड रुपैयाँ थप्ने छ। थप रकम आएपछि बैंकको पुँजी ९५ करोड रुपैयाँ पुग्ने छ।

बैंकले आफ्नो असल कर्जा बिक्री नगरी राष्ट्र बैंकको ऋण तिर्नका लागि हङकङको एक कम्पनीसँग साझेदारीको तयारी गरेको थियो। बैंकले दिएको समयसीमा सम्म पनि हङकङको इन्भेस्टमेन्ट च्यानल लिमिटेड नआएपछि बैंकले नेपालकै विकास बैंकहरुलाई कर्जा विक्री गर्नु पर्‍यो।

बैंकले गुमेको जनविश्वास फर्काउनका लागि अन्य विदेशी साझेदार ल्याउने भएको छ। 'राष्ट्र बैंकको ऋण तिरेपछि पनि केही असहजता छन्,' घिमिरेले भने, 'त्यो असहजता भनको जनविश्वास आर्जन गर्नु नै हो। यसका लागि अन्य विदेशी साझेदार ल्याउनका लागि हामी खुला छौं।'

बैंकसँग बाँसबारीमा १ सय ३२ आना जग्गा र कमलपोखरीमा हाउजिङ छ। यसबाहेक ललितपुरमा पनि बैंकको हाउजिङ छ। बाँसबारीको जग्गा खरिदका लागि ग्राहकसँग सम्झौता भएपछि त्यहाँबाट बैंकले केही रकम पाएको हो।

असोजसम्मको वित्तीय विवरण अनुसार, भिवोरको जगेडा कोष ३ करोड रुपैयाँले ऋणात्मक छ। यो अवधिमा बैंकले ८ करोड ८३ लाख रुपैयाँ घाटा खाएको छ। २ अर्ब २३ करोड रुपैयाँ कुल कर्जा दिएको बैंकको ५० करोड रुपैयाँ रियलस्टेटमा छ।

अहिले रियलस्टेटको मूल्य घटेसँगै कारोबारसमेत नभएकाले बैंकलाई समस्या छ। यद्यपी पुँजी पर्याप्तता अनुपात भने करिव साढे १२ प्रतिशत छ। बैंकसँग २ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ। तरलता अभावको समाचार सार्वजनिक भएपछि बैंकको निक्षेप घट्दो अवस्थामा छ।

No comments:

Post a Comment

thanks for comment