माछापुच्छ्रे बैंक र स्टेन्डर्ड फाइनान्स चैतभित्र गाभिने

सुदर्शन सापकोटा
काठमाडौं, मङ्सिर २५
माछापुच्छ्रे बैंक र स्टेन्डर्ड फाइनान्स गाभिने (मर्ज हुने) भएका छन्। मर्जका लागि दुवै संस्थाबीच शनिबार पोखरामा औपचारिक सम्झौता भएको छ। मर्जरपछि नाम माछापुच्छ्रे बैंक नै रहनेछ।

 

 
अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत माछापुच्छ्रेकै हुने
स्टेन्डर्ड फाइनान्सको चुक्ता पुँजी १५ प्रतिशत छुटमा समायोजन
नयाँ कम्पनीमा माछापुच्छ्रेका ५ र स्टेन्डर्डका ३ सञ्चालक हुने
गाभिएपछि चुक्ता पुँजी २ अर्ब ४७ करोड पुग्ने
ग्राहक संख्याका कारण नाम माछापुच्छ्रे बैंक नै रहने
 


सम्झौता अनुसार स्टेन्डर्ड फाइनान्सको एक सय रुपैयाँ बराबरको सेयर मूल्यांकन ८५ रुपैयाँ (छुटमा समायोजन) गरिने छ। माछापुच्छ्रेको भने यथावत रहने छ। माछापुच्छ्रेको १ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजीमा स्टेन्डर्ड फाइनान्सको एक अर्बको पँुजीलाई ८५ करोड मूल्यांकन गरिने छ। दुवै संस्थाको पुँजी गरेर नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड पुग्नेछ। यो हिसाबले नयाँ कम्पनीमा माछापुच्छ्रेको सेयर हिस्सा ६५ प्रतिशतभन्दा बढी हुनेछ।
माछापुच्छ्रेको ग्राहक संख्या धेरै भएकाले नाम परिवर्तन नगरिने सहमति भएको छ। माछापुच्छ्रेको ग्राहक संख्या २ लाख ५० हजारभन्दा माथि छ। स्टेन्डर्डको भने २५ हजारको हाराहारीमा छ।
एभ्को इन्टरेनसनललाई दिएको ठूलो कर्जा उठ्न नसक्ने अवस्थामा पुगेपछि माछापुच्छ्रे बैंकलाई आर्थिक समस्या हुँदै आएको थियो। आफैंले पुँजी बढाएर बलियो बन्नुपर्ने वा पुँजी बलियो भएको संस्थासँग मर्जमा जानु माछापुच्छ्रेको बाध्यता थियो।
वाणिज्य बैंकमा स्तरोन्नति भएर कारोबार गर्ने सोचाइ साथ पुँजीवृद्धि गरेको स्टेन्डर्ड फाइनान्सलाई राष्ट्र बैंकको नीतिले एकैचोटि ग वर्गबाट क वर्गमा जान रोक लगाएको थियो। यसले गर्दा स्टेन्डर्डलाई माछापुच्छ्रेले आकर्षित गरेको हो।
सेयर अनुपातका हिसाबले सञ्चालक समिति सदस्य संख्यामा दुवै संस्थाको भाग छुट्याइने समेत सम्झौता भएको छ। सेयर हिस्साअनुसार मर्जरपछिको संस्थामा माछापुच्छ्रेका तर्फबाट ५ जना र स्टेन्डर्डका तर्फबाट तीन जना सञ्चालक समिति सदस्य हुने छन्। सम्झौता अनुसार अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत माछापुच्छ्रे बैंकबाटै राखिने छ। बाँकी कर्मचारीको टुंगो भनेपछि गरिने समझदारी भएको छ। माछापुच्छ्रेमा साढे चार सयको हाराहारीमा र स्टेन्डर्डमा सवा सयको हाराहारीमा कर्मचारी छन्।
आगामी चैतभित्र मर्ज भइसक्ने गरी दुवै संस्थाले २५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले संयुक्त रुपमा सैद्धान्तिक सहमतिका लागि यसै साता राष्ट्र बैंकमा आवेदन दिँदै छन्। सम्झौतापत्रमा दुवै संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुले हस्ताक्षर गरेका छन्। माछापुच्छ्रेको केन्द्रीय कार्यालयमा भएको सम्झौतामा माछापुच्छ्रेका अध्यक्ष सूर्यबहादुर केसी र स्टेन्डर्ड फाइनान्सका अध्यक्ष हिरण्यप्रसाद धरले हस्ताक्षर गरे।
मर्जरमा जानका लागि एक महिनाअघि दुवै संस्थाले अध्यक्ष स्तरीय अनौपचारिक सम्झौता गरेका थिए। केही दिनअघि मात्रै दुवै संस्थाले विशेष साधारणसभाबाट एकआपसमा गाभिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेका थिए।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो समूहले प्रवर्द्धन गरेको स्टेन्डर्ड फाइनान्सको १५ शाखा छन्। पोखराको उद्योगी, व्यापारीले प्रवर्द्धन गरेको माछापुच्छ्रे बैंकको ३९ शाखा छन्। मर्जरपछि नयाँ संस्था सबैभन्दा बढी सञ्जाल भएको निजी क्षेत्रको बैंक हुनेछ।
मर्जरले लगानी क्षमता बढाउने छ। पुँजी पर्याप्तता अनुपात र कर्जा-निक्षेप अनुपातका कारण लगानी विस्तारमा समस्या झेलिरहेको माछापुँच्छे्र बैंकमा ३९.५ प्रतिशत पुँजी पर्याप्तता अनुपात भएको संस्था गाभिँदा लगानीको अवसर बढ्ने छ। माछापुच्छ्रेको यस्तो अनुपात १०.९२ प्रतिशत मात्र छ। पुँजीको हिसाबले नेपाल इन्भेस्टमेन्ट बैंकपछिको सवैभन्दा ठूलो बैंकसमेत बन्नेछ।
माछापुच्छ्रेको एभ्को समूहमा गएको १ अर्ब २४ करोड रुपैयाँ कर्जा उठाउन बाँकी छ। नाफाको अधिकांश हिस्सा जोखिम कोषमा राख्नुपरेकाले नाफा घटेको हो। गत वर्ष बैंकले जम्मा ८६ लाख रुपैयाँ नाफा गरेको थियो। गाडी बिक्री गर्ने एभ्को इन्टरनेसनलमा मात्र करिब ४५ करोड रुपैयाँ फसेको छ। यसले गर्दा बैंकको खराब कर्जा बढ्दै गएर निक्षेपकर्ताको विश्वाससमेत कम हुँदै गएको थियो। एक वर्षमा बैंकको निक्षेप २ अर्बसम्मले घटेको थियो।

No comments:

Post a Comment

thanks for comment