ऋणको व्याज घटाउन गभर्नरको आग्रह


काठमाडौं मंसिर ३
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुलाई कम व्याजमा नयाँ ऋण दिन आग्रह गरेका छन् । बैंकिङ क्षेत्रमा पैसा वढे पनि ऋणको व्याज नघटेकोमा चासो व्यक्त गर्दै गभर्नरले सस्तोमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा फाइदा हुने बताए ।
'व्याज तिरेर लिएको पैसा त्यतिकै राख्दा खर्च वढ्छ,' वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग राष्ट्र बैंकमा छलफल गर्दै उनले भने, 'अलिकति व्याज घटाएर दिँदा ऋण पनि जान्छ र लागत पनि घट्छ ।' गभर्नरले सस्तो १ प्रतिशतभन्दा कमको व्याजको सरकारी ऋणपत्रमा लगानी गर्नुभन्दा राम्रो संभावना भएको क्षेत्रमा व्याज घटाएर लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री वावुराम भट्टराईले गत बिहीबार व्यवसायीहरुसँग व्याज नघटेकोप्रति चासो राख्दै घटाउनु पर्ने बताए लगत्तै गभर्नरले बैंकरलाई डाकेर व्याज दरमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । राष्ट्र बैंकले व्याज दर तोक्ने जिम्मा बैंकहरुलाई छाडिसकेकाले प्रत्यक्ष रुपमा घटाउनका लागि निर्देशन दिन मिल्दैन । त्यही भएर उनले व्याज घटाएर कर्जा लगानी गर्न आग्रह गरेका हुन् ।
बैंकरहरुले कर्जा-निक्षेप अनुपात पुसपछिको अवस्थाका कारण व्याज घटाउन नसकेको बताए । 'ऋण नउठेर नाफा मात्रै घटेको होइन बैंकहरुको अवस्था नै खराव भइसकेको छ,' बैंकरहरुले भने, 'पुसमा वित्तीय अवस्था झनै नराम्रो हुने भएकाले अहिले व्याज घटाउने अवस्था छैन ।' बैंकरहरुले वाणिज्य बैंकहरुसँग भएको निक्षेपमध्ये अधिकांस महँगो व्याज तिरेको संस्थागत निक्षेपकर्ताको भएकाले ऋणको घटाउने अवस्था नभएको बताएका थिए ।
३१ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा महाप्रबन्धक उपस्थिति रहेको छलफलमा बैंकस्र संघका अध्यक्ष अशोक राणा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्वीवहादुर पाण्डे बैंक अफ एसियाका प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्री लुम्बिनी बैंकका शोभनदेव पन्त कमर्ज एन्ड ट्रस्टका अनलराज भट्टराई एभरेस्ट बैंकका प्रमुख कार्यकारी पिके मोहपात्रले वोलेका थिए ।
बैंक अफ एसियाका क्षेत्रीले २ प्रतिशत निक्षेपको व्याज घटाउँदा पनि ऋणको व्याज ०।५ प्रतिशतले घटाउन सकिने अवस्था नरहेको बताएका थिए ।
बैंकरहरुले कर्जा-निक्षेप अनुपात र पुँजी पर्याप्तता अनुपात कायम गर्नु पर्ने भएकाले थप लगानीका लागि कठिनाइ भएको बताए । 'माग पनि नभएको र अनुपातहरु कायम गर्नु पर्ने कारणले कर्जा दिन सक्ने क्षमता छैन,' इन्भेस्टेमन्ट बैंकका पृथ्वीवहादुर पान्डेले भने । उनले पुँजी पर्याप्तता अनुपात १० प्रतिशतबाट घटाएर ९ मा झार्न माग गरेका थिए ।
डेपुटी गभर्नर महाप्रसाद अधिकारीले आउँदो पुसमा व्याज आम्दानी गर्ने समय विगतमा जस्तो एक महिना थपप गर्न नसकिने बताए ।

No comments:

Post a Comment

thanks for comment