जसोदा सैंजु भन्छिन् कर्मचारी मर्ज गर्न गाह्रो रहेछ

जसोदा सैंजु
प्रमुख कार्यकारी अधिकृत
एच एन्ड बी डेभलपमेन्ट बैंक
अहिलेको बैंकिङ वातावरणलाई कसरी लिइरहनु भएको छ ?
अहिले बैंकिङ चुनौतीपूर्ण छ । विगतमा बैंक तथा वित्तीय संस्थाहरुमा समस्या देखिँदा अन्य राम्रो संस्थाप्रति पनि सर्वसाधारणको विश्वास कम भएको थियो । तर अहिले विस्तारै विश्वास फर्किन थालेको छ । सर्वसाधारणको खातासँगै बचत पनि वढ्न थालेको छ । विश्वासमा कमी आउँदा संस्थागत निक्षेपकर्ताले पैसा फिर्ता लगे पनि सर्वसाधारणको उपस्थिति वढ्न थालेकाले पैसा वढेको छ । विश्वास वढ्न थालेकाले नै हाम्रै बैंकको निक्षेप ५ अर्ब ८५ करोड र कर्जा ५ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ ।
कस्ता चुनौतीहरु सामना गर्नु परेको छ ?
सर्वसाधारणको विश्वास आर्जन गर्नु नै ठूलो चुनौती हो । बैंक तथा वित्तीय संस्थाको संख्या वढेसँगै अस्वस्थ प्रतिस्पर्धा पनि बजारमा देखिएको छ । यो पनि चुनौती हो । निक्षेपकर्ता आफ्नोमा तान्नलाई हुने नहुने जस्तो सुकै सुविधा पनि दिन थालियो । उपभोक्ताका लागि पनि यो छोटो समयका लागि मात्रै फाइदा हो । यसले भविस्यमा संस्थाको अवस्था विगार्छ । वित्तीय स्थायित्वका लागि हुने नहुने सुविधा दिन हुँदैन ।
राष्ट्र बैंकले पनि व्याज आउने गरी पैसा राख्न नपाउने व्यवस्था गरिदिएको छ । यो पालना गर्नु पनि त चुनौती होला नि ?
एउटा वित्तीय संस्थाले अर्को संस्थामा व्याज आउने गरी पैसा जम्मा गर्न नपाउने व्यवस्थाले कम्पनीहरुको नाफामा यो वर्ष ठूलो गिरावट आउने छ । कर्जा नउठिरहेका बेलामा यस्तो व्यवस्थाले असर पर्नु स्वभाविक हो । राष्ट्र बैंकले अर्को संस्थामा पैसा राखेर नाफा गर्ने होइन भन्छ तर मलाई त्यस्तो लाग्दैन । अहिले पैसा भएपनि लगानी गर्ने ठाउँ छैन । २० प्रतिशत तरलता कायम गर्नु पर्छ । यो पैसा वाणिज्य बैंकमा राख्दा व्याज आउँथ्यो । तर राष्ट्र बैंकमा राख्दा आउँदैन । तरलता कायम गर्ने पैसा अर्को संस्थामा राख्दा आम्दानी हुँदा यसलाई नाफा गर्न राखे भन्न हुँदैन ।
घरजग्गाको कर्जा उठ्न छाड्यो भन्छन् । कस्तो छ अवस्था ?
असोजमा व्याज उठ्न समस्या भयो । आगामी दिनमा व्याज उठ्न अझ गाह्रो छ । अहिले घरजग्गा कर्जाको मात्र होइन व्यवसायका लागि दिएको कर्जाको पनि व्याज उठेको छैन । घरजग्गा त आगामी दिनमा अझ गाह्रो छ । व्यवसायीले घरजग्गाको मूल्य घटाएर विक्री गर्नु पर्छ । उनीहरुले घटाएर बेचे बैंकको व्याज तिर्न सक्छन् । नत्र भोली व्याज थपिने र तिर्नै नसकिने अवस्था आउन सक्छ । जसले गर्दा उनीहरुलाई नै कानुनी तथा सामाजिक रुपमा गाह्रो हुन्छ ।
अहिले पैसा वढेपनि कर्जा लगानी भएको छैन । किन ?
तरलता अभावले गर्दा विगतमा कर्जा दिन गाह्रो थियो । अहिले तरलता सहज हुँदा कर्जा लिन आउने मान्छे छैन । कुनै गतिविधि नभएको तथा ढुक्कसँग व्यवसाय गर्ने अवस्था नभएकाले व्यक्तिगत कर्जासमेत जान सकेको छैन । आर्थिक गतिविधि नभइ तथा नयाँ उद्योग धन्दा नआइ केही होला जस्तो छैन ।
व्याज घटाउँदा कर्जा जान्थ्यो कि ?
विकास बैंकमा वाणिज्य बैंकको भन्दा पुँजी लागत उच्च हुन्छ । यसले गर्दा व्याज महँगो हुनु स्वभाविक हो । व्याज दर घट्न कम्तिमा ४÷५ महिना पर्खनै पर्छ । निक्षेपको व्याज घटाएर लागत कम भएपनि कर्जाको घटाउनु पर्ने भएकाले पनि समय लाग्छ । फेरी राम्रो ग्राहक छ भने सस्तो व्याजका लागि वाणिज्य बैंक नै गइहाल्छ । अहिले वाणिज्य बैंकबाट पनि कर्जा गएको छैन । व्याजका कारणले कर्जा नगएको होइन ।
निक्षेपको व्याज वढाउन वाणिज्य बैंकसँग प्रतिस्पर्धा भयो तर कर्जाको घटाउन चै किन ढिला भएको ?
नेपालमा वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीलाई वर्गीकरण गरे पनि उनीहरुको काममा प्रतितपत्र खोल्ने वाहेक फरक छैन । विकास बैंक भनेको परियोजनाहरुमा लगानी गर्ने उद्देश्यले खोलिएका संस्था हुन् । तर यहाँ सवैले एउटै काम गरिरहेका छन् । यसले गर्दा विकास बैंकलाई वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न समस्या छ । ग्राहकले पनि व्याज वढी पाउनका लागि विकास बैंक आउने तर कर्जा सस्तोमा पाउनका लागि वाणिज्य बैंक धाउने गरेका छन् । राष्ट्र बैकले कम्पनीको इजाजतपत्र अनुशार काम गर्ने क्षेत्र पनि छुट्याइ दिनु पर्छ ।
तपाईहरु छोटो अवधिमा नै दुई कम्पनी मर्ज गर्न सफल हुनु भयो । मर्जरपछिको अवस्था चै कस्तो हुँदो रहेछ ?
मर्जरपछिको समस्या भनेको कर्मचारी समायोजन र साचालनमा हो । खाताहरु कार्यालयलगायत त मर्ज भए तर कर्मचारीलाई मानसिक रुपमा मर्ज गर्न गाह्रो हुने रहेछ । कर्मचारीलाई मर्ज गराउनका लागि कम्तिमा एक डेढ वर्ष लाग्ने रहेछ । एच एन्ड बी क्षेत्रीयस्तरको हिमचुली र राष्ट्रियस्तरको वीरगाज फाइनान्सबीचको मर्जरपछि तयार भयो । फरकस्तरका संस्था मर्ज हुँदा अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपातलगायतलाई समायोजन गर्न समस्या हुने रहेछ । मर्जरअघि यस्ता कुरामा ध्यान हुँदैन तर मर्जरपछि ऐनमा यो पनि रैछ त्यो पनि रैछ भनेर ख्याल गर्नु पर्छ । हेर्दा साना लागे पनि यसलाई व्यवस्थित गर्न सुरुमा गाह्रो हुने रहेछ ।
बैंकको आगामी योजना के छन् ?
चालु वर्षभित्र ९ वटा शाखा खोल्छौं । राष्ट्र बैंकले हामीलाई १५ शा खा खोल्न स्वीकृति दिइसकेको छ । अहिले हामीसँग २३ शाखा छन् । साना तथा मझौला उद्योग तथा व्यवसायमा लगानी वढाउँछौं । अर्थतन्त्र जतागए पनि यस्तो क्षेत्रमा गएको लगानीमा जोखिम हुँदैन । भारतीय मुद्राको ड्राफ्ट बनाउनका लागि तयारी गरिरहेका छौं ।

1 comment:

  1. its good to read her Interview .. probably for the first time... Thank You!!

    ReplyDelete

thanks for comment