बैंकले दिने ब्याज घटाए, लिने घटाएनन्

सुदर्शन सापकोटा
काठमाडौं, पुस ५
प्रशस्त पैसा जम्मा भएर पनि बैंकहरूले निक्षेपको जस्तै ऋणमा लिने ब्याज घटाउन कन्जुस्याइँ गरेका छन्। करिब दुई सातायता अधिकांश बैंकले निक्षेपको व्याज २.५ प्रतिशत बिन्दुसम्म घटाएका छन्। ऋणको भने बढीमा १ प्रतिशत बिन्दुले मात्र घटाइएको छ।

वाणिज्य बैंकहरूबाट कर्जा लिँदा १५ प्रतिशतसम्म व्याज तिर्नुपर्छ, जबकि एकवर्षे निक्षेपको ब्याज १२ बाट १० प्रतिशतमा झारिएको छ।

चर्को व्याजदरका कारण मंसिर पहिलो सातादेखि ऋण लेनदेन ठप्प छ। यस्तो बेला निक्षेप र ऋण दुवैको व्याज सँगसँगै घटाउनुपर्नेमा बैंकहरूले आफ्नो खर्च मात्र कटौती गर्ने बाटो समातेका छन्।
विगतमा निक्षेप र कर्जाको व्याज सँगसँगै घटबढ हुने गरेको थियो। यसपालि भने निक्षेपको मात्र ब्याज घटाएर बैंकहरूले थप पैसा नलिने र नयाँ ऋण पनि नदिने मनसाय देखाएका छन्। निक्षेपको ब्याज घट्दा बचतकर्ताको आम्दानी घटेको छ भने कर्जाको यथावत् रहँदा घर, सवारी साधन खरिदलगायत उद्योग व्यवसाय गर्न बैंकको ऋण पर्खिरहेकाहरू समस्यामा परेका छन्।
'एउटै अनुपातमा व्याज घटाउँदा बैंकले खर्च धान्न सक्दैन,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, 'निक्षेपको लागत कम हुँदै गएपछि ऋणको ब्याज घटाउन सकिन्छ, यसका लागि केही महिना लाग्छ।'
उनका अनुसार विगतमा महँगो ब्याज तिरेर लिएको निक्षेपको म्याद गुज्रन कम्तीमा १० महिना बाँकी छ। 'त्यही पैसा लगानी गरिएकाले अहिले एकैचोटि निक्षेप र ऋण दुवैको ब्याज घटाउँदा बैंकको लागत बढ्छ,' उनले भने।
प्रधानमन्त्रीले बाबुराम भट्टराईले पनि बैंकमा पर्याप्त पैसा हुँदाहुँदै ऋणको ब्याज नघटेकोमा गत मंगलबार उद्योगी व्यवसायीसँगको भेटमा चासो व्यक्त गरेका थिए। उनले ब्याज चर्को र अस्वाभाविक भएको बताएका थिए।
ब्याज दर महँगो हुँदा बैंकले ऋण लगानीसमेत गर्न सकेका छैनन्। भारतको तुलनामा निक्षेपको ब्याज कम भए पुँजी पलायन हुने सम्भावना रहन्छ।
अमेरिकी डलर बलियो भएसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) वृद्धि भएको, नेपालबाट बाहिरिनेभन्दा भित्रिने पैसा (शोधनान्तर बचत) बढेसँगै बैंकमा पैसा थुप्रिएको छ। ब्याज तिर्नुपर्ने पैसा थुप्रिने तर ऋण लगानी नहुने भएपछि बैंकले निक्षेपको ब्याज घटाएका हुन्।
डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीका अनुसार बैंकहरूले लिएको १ सय रुपैयाँ निक्षेपमध्ये ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। सुरक्षाका लागि ब्याज नआउनेगरी २० रुपैयाँ राष्ट्र बैंकमा जम्मा गर्नुपर्छ। निक्षेपमा दिने ब्याज तथा अन्य खर्चसमेत जोडेेर ८० रुपैयाँबाट आम्दानी गर्नुपर्ने भएकाले बैंकलाई ऋणको ब्याज घटाउन समस्या भएको उनले जानकारी दिए।
सबैभन्दा बढी निक्षेपको ब्याज स्ट्यान्डर्ड चार्टर्डं बैंकले घटाएको छ। बैंकले २.५ प्रतिशत विन्दुले निक्षेपको व्याज घटाएको हो। तर कर्जाको व्याज भने १ प्रतिशत विन्दुले मात्र घटाएको छ। यस्तै एनआइसी बैंक, एभरेस्ट बैंक, ग्लोबल बैंक, एनसिसी बैंक, किस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट, मेगालगायतले कर्जाको व्याज निक्षेपको तुलनामा वढीले घटाएका हुन्।
कर्जाको माग नहुने तर महँगोमा लिएको निक्षेप वढेकाले बैंकहरुको नाफामा पनि असर देखिइसकेको छ। नाफामा देखिएको असर कम गर्नलाई पनि बैंकले निक्षेपको व्याज घटाएका हुन्। यसपाली बैंकको नाफा २३ प्रतिशतले घटेको छ। 'कर्जा नउठेर समस्या भइरहेका बेला नाफा नगरे बजारमा सन्देश नै गलत जाने भएकाले पनि कर्जा घटाउन सकिएको छैन,' एक बैंकरले भने, 'घरजग्गामा गएको ऋण उठेको भए यतिखेरसम्म व्याज घटिसक्थ्यो।'
अपरिस्कृत तथ्यांक अनुसार, अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेपको ५५ प्रतिशत महँगोमा लिएको निक्षेप छ। बैंकहरुले प्रकाशित गरेको असोजसम्मको तथ्यांक हेर्दा उनीहरुले औषत ४ प्रतिशतको स्पे्रड दर (कर्जा र निक्षेपबीचको व्याज दरको फरक) मा काम गरिरहेका छन्।
राष्ट्र बैंकले भने निक्षेपको व्याज नघटाइ ऋणको व्याज घटाउन दवाव दिइरहेको छ। राष्ट्र बैंकले व्याज तोक्ने जिम्मा बजारलाई नै दिएकाले हस्तक्षेप गर्न पाउँदैन। तर अनौपचारिक रुपमा व्याज घटाउन भने दवाव दिइरहेको छ। 'निक्षेपको व्याज नघटाइ कर्जाको व्याज घटाउनु पर्छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवाली भने।

No comments:

Post a Comment

thanks for comment