सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक : गभर्नर खतिवडा

- जलविद्युत परियोजनालाई साढे नौं प्रतिशतमा कर्जा
 - 'मूल्य वृद्धि कावुमा छैन'
 काठमाडौं, मंसिर १७
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले घरजग्गा कर्जामा देखिएको समस्यालाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) कम्पनी आवश्यक भएको बताएका छन्। असोज महिनाको वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको घरजग्गामा गएको कर्जाको व्याज उठ्न छाडेको तर्फ लक्षित गर्दै गभर्नरले यसको पहल निजी क्षेत्रले गर्नु पर्ने बताए।
'घरजग्गा क्षेत्रको समस्या समाधानका लागि राष्ट्र बैंकले छलफल गरिरहेको छ,' वालुवाटार कार्यालयमा शुक्रबार पत्रकार भेटघाटमा उनले भने, 'निजी क्षेत्रबाट पहल भएर आए सम्पति व्यवस्थापन कम्पनी स्थापना गरेर समस्या समाधान गर्न सकिन्छ।' उनले यस्तो कम्पनीमा निजी क्षेत्रका साथै सरकारी सहभागितासमेत रहनु पर्ने बताए। उनले राष्ट्र बंैकको तर्फबाट कम्पनी स्थापना गर्न पूर्ण हसयोग उपलब्ध गराउने बचन पनि दिए।
गभर्नरले घरजग्गा व्यवसायीले नाफा खोज्ने प्रवृत्ती छाडेर घटाएर बिक्री गर्नु पर्ने बताए। उनले सट्टेवाजी र अप्रकृतिक रुपमा जग्गाको मूल्य वढेको भन्दै जोखिम उठाएर भए पनि मूल्य घटाउन आग्रह गरे। 'व्यवसाय गर्दा सँधै नाफा मात्रै हुँदैन, अलिकति घाटा सहेर भएपनि मूल्य घटाउनु पर्छ,' गभर्नरले भने, 'यसले कारोबार वढ्छ।'
उनले डलरको मूल्य वढेसँगै रेमिट्यान्समा वृद्धि भएकाले यसको फाइदा उठाउन समेत रियलस्टेट तथा हाउजिङ व्यवसायीलाई आग्रह गरे। 'रेमिट्यान्स वढेर अहिले सर्वसाधारणसँग पैसा छ,' उनले भने, 'सस्तो मूल्य कायम गरे सर्वसाधारणले पनि घरजग्गा खरीद गर्ने अवस्था छ।'
उनले सस्तो घरजग्गाका लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासँग अझै पनि स्थान (स्पेस) भएको बताए। '२५ प्रतिशतभन्दा तल झार्नु पर्ने राष्ट्र बैंकको निर्देशन हो। अहिले बैंकहरूले १८ प्रतिशतमा झारिसकेकाले अझ पनि लगानी गर्ने ठाउँ छ,' उनले भने।
गभर्नरले राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अहिले राजधानी र पोखरा वाहेकको बजारमा घरजग्गाको कारोबार राम्रो भइरहेको र मूल्यसमेत वृद्धि भइरहेको जानकारी दिए। अप्राकृतिक रुपमा मूल्य वढेकाले काठमाडौंमा धेरै नै समस्या भएको भन्दै केही समस्या पोखरामासमेत रहेको बताए।
गभर्नर खतिवडाले पुसपछि बैंकहरूको व्याज दर घट्ने बताएका छन्। तरलता वढेसँगै बैंकहरूमा व्याज दर घटाउनु पर्ने दवाव परेको भन्दै उनले पुसपछि यसको प्रभाव देखिने बताए।
रेमिट्यान्स तथा आयात वृद्धि र सरकारी खर्चका कारण तरलता वढेको जानकारी दिँदै उनले तरलताको प्रकृति स्थायी वा अस्थायी भन्ने टुङो नलागिसकेकाले पुससम्म पर्खिनु पर्ने बताए। उनले बैंकहरूले कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा कायम गर्नु पर्ने दवावले पनि तरलता वढेकाले जानकारी दिए। गभर्नरले विकास बैंक र फाइनान्स कम्पनीमा रहेको पैसासमेत सर्वसाधारणले वाणिज्य बैंकमा सारेकाले बैंकिङ तरलता वढेको बताए।
गभर्नरले बैक तथा वित्तीय संस्थालाई अनौपचारिक रुपमा व्याज घटाउन दवाव दिइएको समेत वताए। 'पहिले कर्जा वढाएर निक्षेपको वढाएकाले अहिले पनि कर्जा घटाएर निक्षेपको घटाउन भनेका छौं,' उनले भने, 'केही बैंकले व्याज घटाउन सुरुसमेत गरिसकेका छन्। केही भने पर्ख र हेरको अवस्थामा छन्।'
गभर्नर खतिवडालेे व्याज दर घटेसँगै सेयर बजारमा समेत सुधार आउने बताए। उनले बैंक तथा वित्तीय संस्थाको नाफा विगतको तुलनामा कम भएको, सेयर आपुर्ति वढेको र तरलता संकुचन र व्याज दरका कारण सेयर बजार ओरालो लागेको बताए। 'बैंकसँग तरलता वढेसँगै व्याज दरसमेत तल आउँछ,' उनले भने, 'यसले सेयर बजारमा पनि सुधार ल्याउँछ।' अहिले सेयर बजारभन्दा सर्वसाधारलाई बैंकमा राखेको पैसाबाट आम्दानी बढी हुने गरेको छ।

'मूल्य वृद्धि कावुमा छैन'
गभर्नर खतिवडाले समस्टिगत आर्थिक अवस्था राम्रो हुँदै गएपनि मूल्य वृद्धिमा सुधारको संकेत नदेखिएको बताएका छन्। उनले मुद्रा विस्तारका कारणले भन्दा पनि अन्य वाह्यि कारणले मूल्यवृद्धिमा सुधार नभएको बताए।
'पेट्रोलियमको मूल्य वढेसँगै यातायात, उत्पादन र भन्डार खर्च वढेको छ,' उनले भने, 'तलव तथा ज्यालामा भएको वृद्धिले पनि मूल्यवृद्धि सुधार हुन नसकेको हो।' उनले मुद्रा विस्तारका कारणबाट हुने मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्र बैंक कटिवद्ध रहेको बताए।
'अहिले मानिसको खाने टे्रन परिवर्तन भएको छ,' उनले भने, 'तर माग वढेका ठाउँमा आपुर्ति हुन नसक्दा पनि मूल्य वृद्धि वढेको छ।' असोजमसान्तसम्म मूल्य वृद्धि नौं प्रतिशतको हाराहारीमा छ। राष्ट्र बैंकले यसलाई ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको थियो। उनले मूल्यवृद्धि नियन्त्रण गर्न कृषि सहकारीहरूलाई प्रवर्द्धन गर्नु पर्ने बताए।
गभर्नर खतिवडाले पर्यटकको आयमा भएको वृद्धि सेवा क्षेत्रको सुधार, तथा कृषि क्षेत्रको अहिलेको अवस्थाका कारण आर्थिक वृद्धि दर ५ प्रतिशत कायम हुने बताएका छन्। गत वर्ष आर्थिक वृद्धि द र ३.५ प्रतिशत थियो।

जलविद्युत परियोजनालाई साढे नौं प्रतिशतमा कर्जा
गभर्नर खतिवडाले जलविद्युत परियोजनाका लागि सस्तो दरको कर्जा उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्। महँगो व्याजका कारण जलविद्युत र पूर्वाधार क्षेत्रको विकास नभएकाले सस्तो व्याजमा कर्जा दिने तयारी भइरहकेा उनले बताए।
'जलविद्युतमा बैंक दरमा आधा प्रतिशत विन्दुले घटाएर ऋण दिने छौं,' उनले भने। अहिले बैंक दर ७ प्रतिशत छ। राष्ट्र बैंकले जलविद्युतलाई बैंक तथा वित्तीय संस्थाको माध्यमबाट कर्जा उपलब्ध गराउँछ।
बैक तथा वित्तीय संस्थाले साढे ६ प्रतिशतमा कर्जा लिएर जलविद्युत परियोजनाहरूलाई वढीमा साढे नौं प्रतिशत व्याज लिएर कर्जा उपलब्ध गराउँछन्। यस्तो कर्जा २५ मेगावाटभन्दा कमका परियोजनालाई उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ।

No comments:

Post a Comment

thanks for comment