हङकङको कम्पनीले भिवोरको ४९ प्रतिशत सेयर किन्ने

काठमाडौं, मङ्सिर २३
भिवोर विकास बैंकले ४९ प्रतिशत सेयर दिने गरी हङकङको एक कम्पनीसँग साझेदारी गर्ने भएको छ।  विभिन्न देशका बैंक तथा उद्योगमा लगानी गरेको इन्भेस्टमेन्ट च्यानल लिमिटेडसँग भिवोरले साझेदारी गर्न लागेको हो। 'साझेदारका रुपमा इन्भेष्टमेन्ट च्यानल आउन लागेको हो,' भिवोरका प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले नागरिकसँग भने, 'पूर्ण सम्झौताका लागि कम्पनीका तर्फबाट आगामी डिसेम्बर १७ सम्म एउटा समुह आउँदैछ।' लगानीका लागि प्रारम्भिक सम्झौता भने भइसकेको छ।
तरलता अभावले केही समयअघि समस्यामा परेको भिवोर बैंकले आफ्नो कर्जा किनिदिनका लागि केही बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेका बेला नयाँ कम्पनीसँगको साझेदारीले उसलाई फाइदा गर्छ। पूर्ण सम्झौता भएर पैसा आए बैंकले आफ्नो कर्जा विक्री गर्नु पर्दैन।
पहिलो चरणमा कम्पनीले भिवोरमा बैंक ग्यारेन्टी गरेर प्रवेश गर्नेछ। एक अर्ब ३१ करोड (१ करोड ६० लाख डलर) रुपैयाँ बराबरको बैंक ग्यारेन्टी (भिवोरले पैसा नतिरे पनि आफू तिरिदिने) गरेर नेपालकै दुई बैंकसँग पैसा उपलब्ध गराइ दिने छ। हङकङ र नेपालको केन्द्रीय बैंकसँग सेयर लगानी गर्न स्वीकृति लिएपछि कम्पनीले बैंक ग्यारेन्टीका रुपमा उपलब्ध गराएको पैसा तिरिदिएर त्यो बराबरको सेयर लगानी गर्ने छ। ४९ प्रतिशत पुग्न वाँकी रहेको रकम कम्पनीले बैंकमा थप्ने छ।

कम्पनीका अनुसार, लगानी, वित्तीय तथा व्यापारिक कार्यक्रमका लागि सहजीकरणको काम गर्छ। अहिले कम्पनीलेल एएए र एए कम्पनीमा वर्गिकृत संस्थामा लगानी गर्दै आएको छ। खासगरी अहिले कम्पनीको लगानी युरोपेली बैंकहरु, व्यापारिक समुहमा छ। कम्पनीले स्वीस, स्पेन, जर्मनी, इङल्यान्ड, हङकङ र सिंगापुरमा लगानी गरिरहेको छ।
बैंक ग्यारेन्टीका लागि कम्पनीले हिमालयन र नबिल बैंकसँग कुराकानी गरेको छ। स्रोतका अनुसार, यसका लागि दुवै बैंक तयार छन्। तर कम्पनीका अधिकारीहरुले नेपाल आएर औपचारिक सम्झौता गर्ने मिति सारिरहेकाले दुवै बैंकले यसलाई सार्वजनिक गरेका छैनन्। 'अन्तर्राष्ट्रिय रुपमा नै कहलिएको कम्पनीले ग्यारेन्टी गर्छु भनेर आएकाले समस्या छैन,' स्रोतले भन्यो, 'तर उनीहरु आउँछु भने पनि मिति सारिरहेकाले प्रस्ताव गम्भिर होइन की भन्ने शंका उब्जेको छ।'
भिवोरको चुक्ता पुँजी ६८ करोड रुपैयाँ छ। भाजुरत्न फाइनान्स कम्पनी गाभिएपछि चुक्ता पुँजी करिव ७४ करोड रुपैयाँ पुग्ने छ। इन्भेस्टमेन्ट च्यानलले भिवोरको कुल चुक्ता पुँजीको ४९ प्रतिशत रकम थप्ने छ। यसपछि भिवोरको पुँजी १ अर्ब १० करोडभन्दा माथि पुग्ने छ।
गत जेठमा चरम तरलता अभाव भएपछि बैंकले राष्ट्र बैंकसँग सहयोग मागेको थियो। राष्ट्र बैंकले भिवोरलाई संकटबाट हटाउन ५० करोड रुपैयाँ ऋण दिएको थियो। यसबाहेक बैंकले अन्य बैंकसँग पनि सापटी चलाएको थियो।
आफैले जग्गा खरीद गरेर अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरेको बैंकले कर्जा तिर्नका लागि पनि साझेदारी खोजेको हो। कम्पनीले उपलब्ध गराउने रकमबाट बैंकले पुराना ऋण तिरेर आर्थिक अवस्था सुधार्ने छ।

No comments:

Post a Comment

thanks for comment