ऋणपत्र खरीदमा अघोशित 'कार्टेलिङ'



सुदर्शन सापकोटा
काठमाडौं, असार ९
बैंकहरुले सरकारी ऋण पत्रको ब्याज बढाउनका लागि दवाव दिन अघोषित 'कार्टेलिङ' गरेका छन्। महँगोमा लिएको निक्षेप सस्तोमा लगानी गर्दा लागत वढेर नाफा प्रभावित हुन थालेपछि बैंकहरुले 'कार्टेलि' गरेका हुन्।
बैंकहरुले सरकारी ऋणपत्रको ब्याज १० महिनायता एक प्रतिशत कायम भएपछि यसलाई बढाउन आपसी मिलोमतोमा चार प्रतिशतभन्दा माथि वोलकवोल गरेका छन्। बैंकहरुले चलेको दरभन्दा निकै माथि वोलकवोल गरेपछि राष्ट्र बैंकले छुट्याएजति ऋणपत्र विक्री गरेन।
राष्ट्र बैंकले विक्रीका लागि छुट्याएको १० अर्बको ऋणपत्रमध्ये २ अर्ब मात्र विक्री गरेको छ। आगामी मंगलबार निस्कासन हुने टे्रजरी विलका लागि पनि बैंकहरुले चार प्रतिशतभन्दा माथि मात्र वोलकवोल गर्ने तयारी गरिरहेका छन्।
'बैंहरुले महँगो ब्याज तिरेर पैसा उठाउने अनि सरकारले चै धेरै सँधै सस्तोमा पैसा लगिरहेकाले आपसी सहमतिमा ४ प्रतिशतभन्दा माथि वोलकवोल गरिएको हो,' एक बैंकका टे्रजरी प्रमुखले भने, 'दवावका लागि आउँदो साता पनि ४ प्रतिशत नै वोलकवोल गर्छों।'
उनका अनुसार, बैंकहरुले अहिले एक वर्षे निक्षेप ८ प्रतिशतमा उठाइरहेका छन्। सरकारले भने १ प्रतिशतमा लगिरहेको छ। सैद्धान्तिक रुपमा यसको दर ४ देखि ५ प्रतिशतको हाराहारीमा हुनु पर्छ।
चालु वर्षको पहिलो दिनदेखि नै निरन्तर निक्षेप वढ्न थालेको तथा कर्जा–निक्षेप अनुपात (सिडी) ८५ बाट ८० मा झार्नु पर्ने व्यवस्थाले बैंकहरुसँ लगानी गर्ने पैसा वढ्यो। सवै बैंकसँग लगानी गर्ने पैसा थुप्रिएर ऋणपत्रका लागि प्रतिस्पर्धा हुन थालेपछि यसको ब्याज दर तल आएको हो। बैंकहरुसँग सरकारी ऋणपत्रमा लगानी गर्ने पैसा ७० अर्ब रुपैयाँ छ। तर राष्ट्र बैंकले वर्षभरीका लागि ४० अर्ब रुपैयाँको मात्र टे्रजरी विल छट्याएकाले प्रतिस्पर्धा झनै वढेको हो।
'सिडी रेसियो ८० प्रतिशत कायम गरेर बच्ने २० प्रतिशतलाई सरकारी ऋण पत्रमा सस्तामो लगानी गरिरहनु परेको छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भने, 'सस्तोमा लगानी गर्दा बैंकहरुको लागत वढ्छ। लागत कम गर्दा ग्राहकलाई दिने निक्षेप र ऋणको व्याजमा असर पर्छ।'
चालु वर्षको ११ महिनाको अवधिमा बैंकहरुमा १ सय ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। अहिले कुल निक्षेप ७ सय २१ अर्ब रुपैयाँ पुगेको छ। ऋण माग र वातावरण नभएको भन्दै बैंकहरुले दीर्घकालिन प्रवृत्तिको क्षेत्र  लगानी गर्न सकिरहेका छैनन्। निक्षेप वढ्ने र लगानी नवढ्ने हुँदा बैंकहरुको लागत उच्च भएकाले ब्याज पनि धमाधम घटिरहेको छ। 
बैंकहरुसँग लगानी गर्ने पैसा वढी भएकाले अपासमा लिने सापटीको दरसमेत १ प्रतिशतभन्दमा माथि उक्लन सकेको छैन। बैंकहरुले एक वर्षदेखि १ प्रतिशतको हाराहारीमा सापटी कारोबार गरिरहेका छन्। केही समयअघि १ प्रतिशतभन्दा कममा व्याज झरेको थियो।
राष्ट्र बैंकका अधिकारीहरु भने सरकार बचतमा रहेका बेला महँगोमा ऋण उठाउने भन्ने सवालै नउठ्ने बताउँछन्। राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले बैंकहरुले आफैले टे्रजरीको दर तोकेर वोलकवोल गरेकाले त्यसमा कुनै हस्तक्षेप गर्न नमिल्ने बताए।
'राष्ट्र बैंकले टे्रजरीको दर घटाउने/बढाउने गर्ने होइन। बैंकहरु आफैले वोलकवोल गर्ने हो,' उनले भने, …बजारलाई स्वतन्त्र छाडिएकाले राष्ट्र बैंकलाई ब्याज बढाउ भन्न मिल्दैन।' उनले बैंकहरुलाई लगानीका लागि पर्याप्त मौद्रिक औजार भएको दावीसमेत गरे।
'बैंकहरुलाई लगानी गर्न टे्रजरी विलसँगै राष्ट्रिय विकास पत्रलगायतका औजारहरु ल्याइरहेका छौं,' उनले भने, 'मौद्रिक औजार कम भएको अनुभव भएमा त्यसलाई आवश्यक समयमा वढाउन सकिन्छ।'

No comments:

Post a Comment

thanks for comment