राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई सरकारी सहयोग

सरकारी सहयोगपछि राष्ट्रिय वाणिज्य र नेपाल बैंकको पुँजीकोष धनात्मक हुने छ

सरकारी सहयोगपछि पुँजी पर्याप्तता अनुपात १० प्रतिशतले धनात्मक बनाउन बैंकलाई थप २ वर्ष लाग्ने छ :  कृष्ण शर्मा

असोजमा हकप्रद निस्कासन गरेर मंसिरसम्म वाँडफाँड गरिसक्छौं :  महेश्वरलाल श्रेष्ठ


नागरिक संवाददाता
काठमाडौं, असार ३१
सरकारले आफ्नो स्वामित्वका दुई बैंकको वित्तीय स्वास्थ्य सुधारका लागि ५ अर्ब ७९ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद्को वैठकले राष्ट्रिय वाणिज्य बैंकको ऋणात्मक नेटवर्थ धनात्मक बनाउन चार अर्ब ३२ करोड ५३ लाख १० हजार र नेपाल बैंकको सेयर खरीद गर्न एक अर्ब ३७ करोड रुपैयाँ दिने निर्णय गरेको हो।
सरकारी सहयोगपछि राष्ट्रिय वाणिज्य बैंकको नेटवर्थ धनात्मक हुने छ। सरकारी चार अर्बका साथै बैंकले ७८ करोडको अपरिवर्तीय वन्ड र पौने तीन अर्वको विश्व बैंकको वन्डलाई पुँजीमा समायोजन गर्ने छ। यसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अहिले चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ। जगेडा कोष ९ अर्ब १४ करोड रुपैयाँले ऋणात्मक छ। पुँजी कोष अहिले पनि २०.८७ प्रतिशतले ऋणात्मक नै छ। खराव ऋण १०.५८ प्रतिशत  रहेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले सरकारी सहयोगपछि पुँजी पर्याप्तता अनुपात १० प्रतिशतले धनात्मक बनाउन बैंकलाई थप २ वर्ष लाग्ने जानकारी दिए।
राष्ट्रिय वाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिन राष्ट्र बैंकले निर्देशन दिइसकेको छ। दुवै बैंक आगामी आर्थिक वर्षको अन्तिमसम्म गाभिने छन्। एनआइडिसीको पनि वित्तीय अवस्था राम्रो छैन।
नेपाल बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। पुँजी ४ अर्ब पुर्‍याउने भएपछि सरकारले आफ्नो भागको सेयर खरिद गर्न थप पैसा लगानी गरेको हो। बैंकले पुँजी वृद्धि गर्न प्रति सेयर बराबर ९.५ प्रतिशतका दरले कहप्रद निस्कासन गर्ने तयारी गरेको छ। 
बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ। अन्य वाणिज्य बैंकको ४.९२ प्रतिशत र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर हिस्सा छ। गत वर्षको वित्तीय विवरण अनुसार बैंकलाई करिव ९ अर्ब ७४ करोड पुँजी कोष आवश्यक छ। यसैका लागि सरकारले आफ्नो तर्फको पैसा हाल्ने भएको हो।
…आफ्नो भागको सेयर खरीद गर्न सरकारले पैसा हालेको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले नागरिकसँग भने, …अब हकप्रद सेयर निकाल्ने प्रकृया तिव्र गतिमा अगाडि वढ्छ।' उनले हकप्रद निस्कासनका लागि साउनभित्र नेपाल स्टक एक्सचेन्जमा सेयर सुचीकृत गराउने जानकारी दिए।
…केही समय सेयर कारोबार भएपछि असोजमा हकप्रद निस्कासन गछौं,' उनले भने, …आगामी मंसिरसम्म सेयर  वाँडफाँड सक्ने योजना छ।' बैंकको सेयर ८ वर्षदेखि सुचीकरण खारेजीमा छ। बैंकमा सर्वसाधारणको ४९.९४ प्रतिशत सेयर हिस्सा छ।
पुँजी कोष बढाउन बैंकले निस्त्रि्कय अवस्थाका सम्पतिमध्ये करिव २ अर्बको विक्री गर्ने तयारी पनि गरेको छ। ७५ वर्ष पुरानो बैंकले पुँजी वृद्धिछ गरेर आर्थिक आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांस दिने लक्ष्य राखेको छ। वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुनुअघि बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँले ऋणात्मक थियो।
दुवै बैंकको आर्थिक अवस्था विग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम ल्याइएको थियो। त्यही कार्यक्रम अनुसार दुवै बैंकमा सुधार आउन थालेको हो। विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले पनि बैंकको ऋणात्मक नेटवर्थमा भने सुधार ल्याउन सकेको थिएन।
बैंकहरुले प्रस्तुत गरेको सुधार योजनालाई स्वीकृत गर्दै राष्ट्र बैंकले दुवै बैंकको पुँजी योजना सरकारलाई सिफारिस गरेको थियो। केन्द्रीय बैंकको सिफारिस अनुसार सरकारले दुवै बैंकलाई सहयोग गरेको हो।

No comments:

Post a Comment

thanks for comment