सुरुङ मार्गको वातावरणीय मूल्यांकन सुरु


काठमाडौं, साउन ३
नेपाल पुर्वाधार विकास कम्पनीले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु गरेको छ। कम्पनीले आगामी १५ दिनभित्र इआइए सकेर निर्माणको काम अगाडि वढाउने छ।
…धमाधम इआइए सकेर चाँडै निर्माणको काम थाल्ने योजनामा छौं,' कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बुधबार नागरिकसँग भने, …इआइए प्रतिवेदन १५ दिनमा आउँछ। त्यसको एक महिनापछि अन्य प्रक्रियाहरु सकेर काम सुरु हुन्छ।'
सरकारी निकाय नेपाल लगानी वोर्डले दुई महिनाअघि सुरुङ मार्ग निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको थियो। ५० किलोमिटर दुरीको यो परियोजना निजी क्षेत्रले बनाउन लागेको अहिलेसम्मकै ठूलो हो।
कम्पनीले काठमाडौं, ललितपुर र हेटौंडामा पर्ने सुरुङ मार्ग वरपरको इआइए गर्न लागेको हो। सुरुङ मार्ग निर्माण गर्दा वातावरणीय क्षेत्रमा पर्ने प्रभावका बारेमा कम्पनीले स्थानीय वासिन्दा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकीसँग वुधबारबाट सुझाव संकलनको काम सुरु गरेको छ। कम्पनीले १५ दिनसम्म सुझाव संकलन गर्ने छ।  मागसुरुङ मार्ग निर्माण गर्दा वातावरणमा पर्ने क्षतिका वारेमा सुझाव संकलन गर्न सुरु गरेको हो।
सडक निर्माण, स्वामित्व र हस्तान्तरण (बुट) अन्तर्गत बनाउन लागिएको छ। निर्माण चार वर्षमा सकिएपछि अर्को पाँच वर्षमा सम्पूर्ण लागत उठिसक्ने कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौंको किर्तिपुर नगरपालिका, चाल्ना खेल, सतिदेवी, दक्षिणकाली, छैमले, शेषनारायण, तल्कु र डुढेचौर गाविस तथा ललितपुर उपमहानगरपालिका, भैंसेपाटी, खोकना, बुङमति, छम्पी, डुकुछाप, देवीचौर र घुसेल गाविसको इआइए सुरु गरेको हो। मकवानपुरका गाविसहरु फाखेल, मार्खु, सिस्नेरी, कुलेखानी, भिमफेदी, निवुवाटार, भैंसे, मकवानपुर गढी, बासामाडी र हेटौंडा नगरपालिकाको पनि वातावरणीय प्रभाव मूल्यांकनका बारेमा पनि सुझाव संकलन गरिरहेको छ।
सरकारले चार वर्षमा निर्माण सक्ने गरी दुई महिनाअघि सुरुङ मार्गको जिम्मा निजी क्षेत्रलाई दिएको हो। सुरुङमार्ग निर्माण भएपछि काठकाडौंबाट हेटौंडा एक घण्टा गाडी यात्रामा पुग्न सकिन्छ। अहिले काठमाडौंबाट त्रिभूवन राजमार्गबाट हेटौंडा पुग्न १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २६ किलोमिटर लाग्छ। ५० किलोमिटर लामो सडकमा तीन किलोमिटर मात्र सुरुङ मार्ग पर्छ।
सुरुङ खन्न कम्पनीले विदेशी प्राविधिकको सहयोग लिने छ। अन्य सबै काम भने नेपाली जनशक्तिबाट गरिने जोशीले जानकारी दिए।
सुरुङ मार्ग पार गर्न वढीमा २ मिनेट लाग्ने छ। अहिले सिस्नेरी–भिमफेदीको दुरी पार गर्न १६ किलोमिटर हिड्नु पर्छ। पुरै परियोजना निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमध्ये सुरुङ मार्ग निर्माण गर्न मात्र ९ अर्ब रुपैयाँ खर्च हुने छ।
सुरुङ मार्गका लागि आवश्यक पर्ने आर्थिक स्रोतमध्ये केही स्थानीय वासिन्दाबाट सेयरका रुपमा संकलन गरिने छ। कम्पनीले प्रत्येक घरधुरीबाट १० हजार रुपैयाँ बराबरको सेयर लगानी गराउने तयारी गरेको छ। उद्योगी व्यवसायीले भने १ लाखसम्म सेयर लगानी गर्न सक्ने छन्।
कम्पनीले चार वटा वेग्ला वेग्लै समुहबाट पुँजी संकलन गरेर कम्पनीले आयोजना सम्पन्न गर्ने छ। सात करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले चार वटा वेग्लावेग्दै समुहबाट २५ प्रतिशतका दरले पुँजी संकलन गरेर आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।
चार लेनको सडक निर्माण गर्न कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी, निर्माण व्यवसायी महासंघका सदस्यहरु, गैरआवसीय नेपालीहरु र सर्वसाधारणसँग पुँजी संकलन गर्ने छ।  कम्पनीले १० अर्ब रुपैयाँ यसरी संकलन गरेपछि बाँकी पुँजी बैंक तथा वित्तीय संस्थाहरुसँग सहवित्तीयकरणबाट  ऋण लिने छ।

No comments:

Post a Comment

thanks for comment