बैंकले नयाँ ऋणको ब्याज घटाए, पुरानाको उस्तै



सुदर्शन सापकोटा
काठमाडौं, असार १०
बैंकहरुले नयाँ ऋणीलाई कम ब्याजमा पैसा दिन थालेपनि पुरानाको भने घटाएका छैनन्। घरजग्गाको ऋण उठ्न नसकिरहेका बेला लगानी भइसकेको ऋणको ब्याज झार्दा नाफा अझ घट्ने भएकाले बैंकले नयाँ र पुराना ग्राहकबीच भेदभाव गरेका हुन्।
बैंकहरुले नयाँ ऋणको ब्याज ११ देखि १३ मा झारिसकेका छन्। तर पुराना ऋणलीले भने अझै १५ प्रतिशतको हाराहारीमा तिरिरहनु परेको छ। तरलता (लगानीयोग्य पुँजी) अभावको वहानामा पुराना ऋणीको ब्याज ह्वात्तै बढाएका बैंकले अहिले तरलता सहज हुँदा भने पुरानाको घटाउन उदासिनता देखाएको छ।
बैंकहरुले तरलता अभाव हुँदा ब्याज बढाउनका लागि राष्ट्र बैंकको तथ्यांकसहित ग्राहकलाई खवर गरेका थिए। …ब्याज बढाउनका लागि भूमिका वाँधेर राष्ट्र बैंकको तथ्यांक पठाउने बैंकले अहिले तरलता सहज हुँदा यसलाई आखाँ चिम्लिएका छन्,' घर बनाउनका लागि एक बैंकबाट ऋण लिएका मिनभवनका रमण शर्माले भने।
उनले घर बनाउनका लागि पाँच वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएका थिए। उनले ९ प्रतिशत लिएको ऋणको ब्याज बैंकले तीन पटक वढाएर १५ प्रतिशत पुर्‍याएको जानकारी दिए।' अहिले बैंकहरुसँग पैसा धेरै भएर लगानी आकर्षित गर्न ब्याज घटाइरहेको भनिरहेका छन्,' शर्माले भने, 'तर, पुराना ऋणको भने एक पैसा ब्याज पनि घटेको छैन।'
बैंकरहरुका अनुसार, नयाँ निक्षेप सस्तोमा आएकाले नयाँ ऋणको ब्याज घटाएको बताउँछन्। पुराना ऋणीलाई महँगोमा उठाएको पैसा दिएकाले ब्याज घटाउन कठिनाइ भइरहेको उनीहरुको दावी छ।

'नयाँ लगानी भएकाले नयाँ दरमा दिइएको हो। त्यसबेला निक्षेप उच्च ब्याज तिरेर लिइएकाले पुरानो ऋणको ब्याज नयाँको जसरी घटाउन समस्या छ,' एक बैंकरले भने, 'तर क्रमिक रुपमा पुरानाको ब्याज पनि घट्छ।' उनका अनुसार, पहिले मुद्दति निक्षेप खाता खोल्नेले पुरानै (उच्च) ब्याज पाइरहेकाले पुराना ऋणीले पनि त्यही ब्याज भुक्तानी गर्नु पर्छ। निस्चित अवधि तोकिएको मुद्दति खाताको ब्याज कवोलेको समय नसकुन्जेल घटाउन मिल्दैन।
'बैंकमा आएर वढि ब्याज भयो भन्दै किचकिच गरेका पुराना ऋणको घटाइरहेका छौं,' अर्का एक बैंकरले भने, 'अहिले नै सवै ऋणको ब्याज घटाइ दिँदा बैंकको नाफामा नकारात्मक असर पर्छ।' उनले महँगोमा उठाएको निक्षेप नवीकरण गर्ने बेला भएपछि भने पुराना ऋणीको पनि ब्याज घट्ने जानकारी दिए।
बैंकहरुले पैसा धेरै हुन थालेपछि ग्राहकलाई दिने (निक्षेपको) ब्याज १२ प्रतिशतबाट घटाएर ४ देखि १० प्रतिशतसम्म झारिसकेका छन्। निक्षेपको ब्याज घट्दा ग्राहकको आम्दानीमा घट्छ।
गत वर्ष बैंकहरुमा निक्षेप संकलन नहुँदा चरम तरलता (लगानी योग्य पुँजी) अभाव भएको थियो। निक्षेप आकर्षित गर्नका लागि उनीहरुले ब्याज वढाएका थिए। निक्षेपको ब्याज बढ्दा ऋणको ब्याज पनि वढेको थियो। अहिले निक्षेपको ब्याज घटेको अनुपातमा ऋणको ब्याज भने घट्न सकेको छैन।
चालु वर्ष (साउनदेखि जेठसम्म) १ सय ५ अर्ब रुपैयाँले निक्षेप वढेको छ। अहिलेे बैंकहरुको कुल निक्षेप ८ सय २२ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी भने ७५ अर्बभन्दा वढीले वृद्धि भएको छ। कुल ऋण लगानी ६ सय अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।
डलरको मूल्य वढेर विदेशमा वस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था ७० अर्ब रुपैयाँले बचतमा रहेको र बचत खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्थामा खुकुलो नीति लिएपछि बैंकहरुमा निक्षेप वृद्धि हुन थालेको हो।






No comments:

Post a Comment

thanks for comment