विदेश जान जति पटक पनि डलर साट्न पाइने



काठमाडौं, साउन १०
विदेश जान चाहनेले हरेक पटक २ हजार ५ सय अमेरिकी डलरसम्म साट्न पाउने भएका छन्। यसबाट विदेश पढ्न, घुम्न जाने नेपालीलाई सुविधा पुग्छ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत वर्षमा दुई पटकका दरले ६ हजार डलर मात्र साट्न पाउने व्यवस्थालाई परिवर्तन गरेको हो। वैदेशिक रोजगार व्यवसाय, पर्यटन व्यवसायी तथा वारम्वार विदेश जानु पर्ने व्यवसायीलाई वर्षभरी ६ हजार डलर मात्र साट्न पाउने व्यवस्थाले समस्या थियो।
पढ्नका लागि  वर्षमा ६ हजार डलरभन्दा वढी खर्च हुने विद्यार्थीलाई पुरानो नीतिले समस्यामा पारेको थियो।
गभर्नर खतिवडाले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै विदेशमा व्यवसाय प्रवर्द्धन, व्यापार मेला र गोष्ठीमा जानेलाई राहदानी वापत हरेक पटक पाँच हजार डलर सटही सुविधा दिने जानकारी दिए। यसका लागि विदेश जानेले गोष्ठी तथा व्यापार मेलाको प्रमाण पेस गर्नु पर्ने हुन्छ।
राष्ट्र बैंकले विदेशी मुद्रामा खाता भएकाले खातामा रहेको मौज्दातबाट हरेक वर्ष पाँच हजार डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। विदेशी मुद्रामा उपहार वा दान प्राप्त गरेमा त्यसको स्रोत र विवरण खुलाई विदेशी मुद्रामा खाता खोल्न सकिने व्यवस्थासमेत गरिएको छ।
राष्ट्र बैंकले विदेशीले नेपालमा रहँदा खोलेको विदेशी मुद्राको खाताबाट भुक्तानी दिन बैंक खाता सञ्चालनलाई निरन्तरता दिन पाउने व्यवस्था गरेको छ। यसअघि विदेशी नागरिकले भिषा अवधि सकिएसम्म मात्र यस्तो खाता सञ्चालन गर्न पाइन्थ्यो।
तयारी पोशाक, गलैंचा, पश्मिना, हस्तकलालगायतका वस्तु निर्यात गर्ने व्यवसायीलाई प्रिसिपमेन्ट र पोस्ट सिपमेन्ट पाएकै दिन राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउने भएको छ। भारतवाहेकका मुलुकबाट ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्नेलाई ३० हजार डलर भुक्तानी दिने व्यवस्था गरेको छ। यसअघि २५ हजार डलर भुक्तानी दिने व्यवस्था थियो।
राष्ट्र बैंकले नेपाली संस्थालाई विदेशमा लगानी गर्ने व्यवस्था गर्ने भएको छ। …स्वादेशी र विदेशी मुद्राको मिसम्याच नहोस् भनेर त्यसको व्यवस्थापनका लागि लगानीको सुविधा दिने तयारी गरिएको हो,' मौद्रिक नीति सार्वजनिक गरेपछि गभर्नर खतिवडाले भने।
गभर्नरले विदेशमा लगानी गर्न संकुचित हुन नहुने बताए। …हामीले पुँजी खातालाई हस्तक्षेप गरेर खुकुलो पार्न खोजेको हो,' उनले भने, …पुँजी खातालाई उदार पार्ने संकेत हो यो।'
राष्ट्र बैंकले आफ्नो व्यवसाय सञ्चालन तथा बिस्तार गर्न नातेदार, गैरआवासीय नेपालीलगायतसँग २ लाख डलरसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ। यसका लागि राष्ट्र बैंकसँग भने पूर्वस्वीकृति लिनु पर्ने हुन्छ। ऋणको ब्याज भने डलरमा भुक्तानी गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विदेशमा रहेका इष्टमित्र र ग्राहकबाट प्राप्त हुने विदेशी मुद्राको सटही सुविधा उपब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नेपाली नागरिकले आफ्नो परिचय–पत्र सहित विदेशी मुद्राको स्रोत खुलाई एकपटकमा एक हजार डलर मात्र साट्न पाउने छन्।

No comments:

Post a Comment

thanks for comment