बैंकको बिक्दैन, बजारमा अभाव छैन


अहिले सुन तस्करी भइरहेको छ –सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य
चोरी निकासीबाट सस्तोमा सुन आइरहेकाले बैंकको सुन विक्री नभएको हो – बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भन्डारी

सुदर्शन सापकोटा
काठमाडौं, असार ५
आपुर्ति गर्ने जिम्मा पाएका बैंकहरुले ल्याएको सुन विक्री हुन सकेको छैन। तर, बजारमा सुन किन्न पाइन भन्ने एक जना पनि ग्राहक भेटिदैनन्।
व्यवसायीहरुले बैंकबाट दैनिक ३ किलो सुन मात्र उठाइरहेका छन्। तर उनीहरुले दैनिक १५ किलो विक्री गरिरहेका छन्।
आखिर उपभोत्ताको माग पुरा गर्ने बाँकी १२ किलो सुन कहाँबाट आइरहेको छ?
सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य भन्छन्, 'अहिले सुन तस्करी भइरहेको छ।'
नेपाली बजारको माग अनुसार बैंकहरुले दैनिक २० किलो सुन आयात गरेर व्यवसायीलाई विक्री गर्न पाउँछन्। सुन विक्री गर्दै आएका १५ वटा वाणिज्यमध्ये अधिकांसले एक महिना लगाएर सुन विक्री गरेका छन्। अझै केही बैंकसँग पहिले नै मगाएको सुनको …स्टक' छ।

…व्यवसायीले बैंकमार्फत सुन खरीद गरेर ग्राहकलाई विक्री गर्नु पर्नेमा गरिरहेका छैनन्,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले नागरिकसँग भने, …त्यही भएर एक महिनायता बैंकको सुन विक्री हुन छाडेको छ।' उनले बजारमा चोरी निकासीबाट सस्तोमा सुन आइरहेकाले भन्सार शुल्क तिरेको बैंकको सुन विक्री नभएको जानकारी दिए।
अहिले स्ट्यान्डर्ड चार्टर्ड, एनआइसी, नबिल, सिद्धार्थ बैंकसँग करिव २ सय किलो सुन थुप्रिएर बसेको छ। माग उच्च भएका बेला १५ वाणिज्य बैंकले सुन कारोबार गर्थिए। अहिले सुन कारोबार गर्ने बैंकको संख्या चारमा झरिसकेको छ।
…सुन विक्री हुन छाडेपछि बैंकहरुले नाफा नराखी मूल्य तोकेका छन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भने, …पहिले बैंकहरुले खरिद मूल्यको आधा प्रतिशतसम्म नाफा राख्थिए।'
बैंकर र व्यवसायीका अनुसार, अहिले तिब्बतबाट अवैध सुन आइरहेको छ। भारत र नेपालमा भन्सार दर वढेर सुन महँगिएपछि तिब्बतबाट सस्तो दरमा सुन आएको हो। नेपाल र भारतमा भन्दा चीनमा सुन सस्तो छ। स्रोतका अनुसार, नेपालको भन्दा तिब्बतबाट आउने सुन प्रति १० ग्राम २ हजार रुपैयाँसम्म सस्तोमा पाइन्छ। यद्यपी नेपालमा भन्दा भारतमा सुन प्रति दश ग्राम ४ सय रुपैयाँ महँगो छ।
…सस्तोमा पाइने भएकाले तस्करीको सुन विक्री वितरण भइरहेको छ,' शाक्यले भने, …तस्करी रोक्ने जिम्मा सरकारको हो। सरकार चुप लागेर वसेपछि अवैध कारोबार स्वभाविक रुपमा हुन्छ।'
एक सुन व्यवसायीका अनुसार, अहिले बजारमा दैनिक २५ किलोको हाराहारीमा अवैध सुन आइरहेको छ। यसमध्ये एक तिहाइ मात्र  नेपाली बजारबाट विक्री भइरहेको छ। वाँकी सुन भारत जाने गरेको उनले दावी गरे। 
राष्ट्र बैंकले सुन कारोबार गर्ने तीन व्यवसायिक संगठनको सिफारिसमा मात्र बैंकबाट सुन खरिद गर्न पाउने व्यवस्था गरेपछि तस्करीको विऊ रोपिएको व्यवसायी बताउँछन्। …राष्ट्र बैंकले सुन किन्ने प्रकृया झन्झटिलो पारेपछि तस्करीका लागि वातावरण तयार भएको हो,' शाक्यले भने।
६ महिनाअघि बैंकहरुले दैनिक २० किलो सुन दिँदा व्यवसायीले ३५ किलो दिनु पर्ने भन्दै राष्ट्र बैंकमा गुनासो गरेका थिए। त्यस बेला भन्सार दर नवढेकाले अवैध सुन आउने बाटो बन्द थियो। गत बैशाख २१ गते सरकारले प्रति १० ग्राम १५ सय रुपैयाँ रहेको भन्सार दर एकै चोटी ८ सयले वढाएर २३ सय पुर्‍याएपछि तस्करी हुन थालेको हो।

No comments:

Post a Comment

thanks for comment