एनबी इन्स्योरेन्समा व्यापक अनियमितता



काठमाडौं, साउन ११
एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरुले व्यापक आर्थिक अनियमितता गरेको तथ्य फेला परेको छ। कम्पनीका सञ्चालकहरुले ग्राहकबाट उठाएको रकम (बिमा शुल्क) आफुखुशी प्रयोग गरेको फेला परेको हो।
कम्पनीले नियम विपरित घरभाँडामा लिएर लाग्नेभन्दा वढी अग्रिम भुक्तानी गरेको, सर्वेयरको प्रतिवेदन आउनुपूर्व नै आफ्नै कम्पनीलाई दावी भुक्तानी गरेको, दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) पुरा नगरेको र मापदण्ड विपरितका संस्थाहरुमा रकम जम्मा गरेको खुलेको छ।
चुक्ता पुँजी १० करोड रपैयाँ रहेको कम्पनीका सञ्चालहकरुले घर भाँडा लिँदा नियमविपरित ३ करोड वढी भुक्तानी गरेको छ। कम्पनीले एक वर्षमा २० लाख रुपैयाँभन्दा वढीको घरजग्गालगाय स्थिर सम्पति निर्माण, खरीद र लिजमा लिन लेनदेन कारोबार बिमा समितिको स्वीकृति लिएर गर्नु पर्ने व्यवस्थालाई नाघेर एकै वर्षमा ५ करोड ९० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले एक वर्षको अवधिमा १० पटक गरेर केएसडी कम्पनीलाई घर भाँडाका लागि ५ करोड ९० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो। मासिक २ लाख ३० हजारका दरले प्रत्येक दुई वर्षमा १० प्रतिशतले वढ्ने गरी सम्झौता गरिएको छ। १५ वर्षका लागि गरिएको सम्झौता अनुसार, ५ करोड ७७ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ। तर, कम्पनीले अग्रिम ५ करोड ९० लाख ५० हजार भुक्तानी गरेको हो।
बिमा समितिले गरेको स्थलगत अध्ययन अनुसार, अग्रिम भुक्तानी गरिएको रकमलाई ५ प्रतिशत बैंक व्याज दरले हिसाव गर्दा १५ वर्षमा १२ करोड २७ लाख रुपैयाँ हुन्छ। यसले कम्पनीलाई ६ करोड ५० लाख नोक्सान भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले स्थिर सम्पति खरीद तथा निर्माण कार्यमा आफ्नो  खुद सम्पति (नेटवर्थ) को ३० प्रतिशतभन्दा वढी रकम खर्च गर्न नमिल्ने व्यवस्थालाई समेत उल्लङघन गरेको छ।  कम्पनीको पछिल्लो वास्तविक नेटवर्थ गणना गर्न नमिल्ने अवस्थामा भएकाले २०६६/६७ मा कायम नेटवर्थ ६ करोड ५० लाख रुपैयाँ छ। यसको ३० प्रतिशत १ करोड ९५ लाख रुपैयाँ हुन्छ। तर, कम्पनीले ५ करोड ९० लाख ५० हजार भुक्तानी गरेको छ। …कम्पनीले नियमविपरित ३ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको छ,' प्रतिवेदनमा छ, …यो रकम सञ्चालकबाट ब्याजसहित असुल गर्नु पर्छ।'
कम्पनीले सर्वेयरको अन्तिम मूल्यांकन आउनु पूर्व नै अन्तरिक दावी भुक्तानी गरेकोसमेत खुलेको छ। कम्पनीले पश्चिाञ्चल फाइनान्समा पाकेको २० लाख रुपैयाँ मुद्दति निक्षेपलाई धितोमा राखेर त्यो रकम दावी भुक्तानीमा प्रयोग गरेको हो। २०६८  पुस १९ मा पाकिसकेको २० लाख निक्षेपलाई धितोमा राखेर १८ लाख रुपैयाँ ऋण लिएको थियो।
लिएको ऋण एनबी इन्स्योरेन्सका सञ्चालक जेन श्रेष्ठ प्रबन्ध सञ्चालक रहेको नेशनल हाइड्रो पावर कम्पनीलाई अन्तरिम दावी भुक्तानीका रुपमा दिइएको हो। यो रकम सर्वेयरको मूल्यांकन प्रतिवेदन आउनु पूर्व सञ्चालक समितिबाट निर्णय गराइ भुक्तानी गरिएको हो। बिमा ऐन अनुसार, सर्वेयरको प्रतिवेदन आउनु पूर्व भूक्तानी गर्न मिल्दैन।
सात सदस्यीय सञ्चालक समितिमा तीन जना एउटै परिवारका छन्। कम्पनीको अध्यक्षमा जितवहादुर श्रेष्ठ छन्। उनका भाइ लक्ष्मीवहादुर र छोरा जेन सदस्य छन्।
कम्पनीले दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) जम्मा पार्न सकेको छैन। नियामक निकाय बिमा समितिले १४ करोड ३० लाख रुपैयाँभन्दा वढी रकम दायित्व भुक्तानीका लागि जम्मा गर्न दिएको निर्देशन कम्पनीले पुरा गर्न नसकेको हो।
बिमा कोष १ करोड ७७ लाख, जगेडा तथा कोष ३ करोड ३६ लाख, असमाप्त जोखिम वापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी दावी वापतको ३ करोड ७२ लाख रुपैयाँ कम्पनीले जम्मा पर्न नसकेको हो। समितिले विगत ६ महिनादेखि कम्पनीलाई रकम पुरा गर्न निर्देशन दिइरहेको छ। तर कम्पनीले पटक पटक समय मागेपनि दिएको समयमा  रकम पुरा गर्न सकिरहेको छैन।
सर्वसाधारणको २० प्रतिशत सेयर रहेको कम्पनीले लगानी नीति विपरित मापदण्ड पुरा नगरेका कम्पनीहरुमा पैसा जम्मा गरेको छ। कम्पनीले वल्ड मर्चेन्ट फाइनान्स, नेपाल सहकारी संस्थालगायतका वित्तीय कम्पनीहरुमा निक्षेप राखेको छ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ। ७ लाख तीन हजार १ सय बिमा लेख जारी गरेको कम्पनीले अझै पनि दावी भुक्तानी गर्न बाँकी बिमा लेखको संख्या १ लाख ३० हजार छ।  एनबि इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार जुलाइ १२ मा भएको थियो। कम्पनीको सेयर मूल्य १ सय ४१ रुपैयाँ छ।
कम्पनीको शाखाहरु विराटनगर, पोखरा, वुटवल, नारायणगढ, बनेपा, नेपालगञ्जमा छन्। अन्य सम्पर्क कार्यालयहरु धरान, नकपुर, हेटौंडा, विर्तामोड, धनगढी, वीरगञ्ज र वाह्रविसेमा छन्।







No comments:

Post a Comment

thanks for comment