मर्जरपछि दुई संस्थाको कारोबार आजबाट


माछापुच्छे्रसँग स्टेन्डर्ड फाइनान्स गाभिएको छ भने ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युसन र लर्ड वुद्ध फाइनान्स गाभिएका हुन्।

सुदर्शन सापकोटा
काठमाडौं, असार २४
माछापुच्छे्रसँग स्टेन्डर्ड फाइनान्स गाभिएर माछापुच्छे्र बैंक तथा ग्लोबलसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युसन र लर्ड वुद्ध फाइनान्स गाभिएर ग्लोबल आइएमइ बैंकका नामबाट सोमबारदेखि कारोबार गर्ने भएका छन्। औपचारिक रुपमा गाभिएपछि चालु वर्षको वासताल संयुक्त रुपमा आउने छ।
स्टेन्डर्ड फाइनान्स माछापुच्छे्र बैंकसँग एक सय रुपैयाँको सेयर ८५ रुपैयाँ मूल्यांकन गरी गाभिएको हो। मर्जरपछि नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।  मर्जरअघि स्टेन्डर्ड फाइनान्सको पुँजी १ अर्ब रुपैयाँ थियो। ८५ करोड मूल्यांकन गरेर बच्ने १५ करोड रुपैयाँलाई जगेडा पुँजीमा राखिएको छ।
आइएमइको एक कित्ता सेयर मुल्य एक सय रुपैयाँलाई यथावत राखी ग्लोबको १ सय ५ रुपैयाँ मूल्यांकन गरिएको छ। लर्ड वुद्ध फाइनान्सको भने एक कित्ता सेयरलाई ७० रुपैयाँ मूल्यांकन गरिएको छ। नयाँ मूल्यांकन अनुसार बैंकको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।
एभ्को समुहलाई दिएको ऋण नउठेपछि माछापुच्छ्रे बैंक आर्थिक रुपमा समस्यामा थियो।  वाणिज्य बैंक बन्न १ अर्ब पुँजी पुर्‍याएको स्टेन्डर्ड फाइनान्सलाई राष्ट्र बैंकको नीतिले रोकेपछि निरास भएको थियो। माछापुच्छे्रलाई ठूलो पुँजी आधार भएको संस्था चाहिरहेको बेला  वाणिज्य बैंक बन्ने धुनमा रहेको स्टेन्डर्ड फाइनान्सलाई मर्जर उपयुक्त विकल्पका रुपमा देखा परेको थियो।
मर्जरपछि नयाँ बंैंकमा नौ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ। अध्यक्षमा माछापुच्छे्र्का तर्फबाट सूर्यवहादुर केसीलाई निरन्तरता दिइएको छ। सदस्यहरुमा माछापुच्छे्रबाट प्रकास केसी, गोपीकृष्ण न्यौपाने, नरेशवहादुर मल्ल र प्राणेश्वर पोखरेल छन्। पोखरेल सर्वसाधारण सेयरधनीबाट चुनिएका हुन्।
स्टेन्डर्ड फाइनान्सका तर्फबाट ज्ञानप्रसाद कर्मचार्य, वीरेन्द्रप्रसाद महतो र राममान श्रेष्ठ सदस्यमा चुनिएका छन्। श्रेष्ठले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गरेका छन्। दुवै संस्थाको आपसी सहमतिबाट किशोरकुमार शाहलाई विशेषज्ञ सञ्चालकका रुपमा चयन गरिएको छ।
बैंकको प्रमुख कार्यकारीमा माछापुच्छे्रका भाइकाजी श्रेष्ठले निरन्तरता पाउने छन्। स्टेन्डर्डका प्रमुख कार्यकारी उमेशसिंह भण्डारीलाई नायव महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। महाप्रबन्धक माछापुच्छे्रलाई नै निरन्तरता दिइएको छ।
…मर्जर प्रकृया सकिएको छ। अब रणनीतिक  हिसावले अगाडि वढ्छौं,' माछापुच्छे्रका अध्यक्ष केसीले आइतबार पत्रकार सम्मेलनमा भने, …आगामी ५ वर्षमा …टप टेन' भित्र पर्ने छौं।' उनले अहिलेको अवश्यकता र ठूलो बैंकका रुपमा कारोबार गर्न मर्जरमा गएको बताए।
मर्जरपछि माछापुच्छे्र बैंकको  शाखा संख्या ५४ पुगेको छ। दुवै संस्थाको निक्षेप २० अर्ब ७४ करोड र ऋण लगानी १६ अर्ब ३५ करोड रुपैयाँ हुन्छ। निक्षेपकर्ता संख्या पनि ३ लाख ३१ हजार पुगेको छ।
माछापुच्छे्र बैंक र स्टेन्डर्ड फाइनान्समा गरी ६ सय कर्मचारी छन्। बैंकले एकै स्थानमा दोहोरिएका शाखाहरुलाई स्थानान्तरण गरेर कर्मचारी मिलान गरेको छ। बैंकका विभिन्न पाँच ठाउँमा शाखा दोहोरिएका छन्।
एकाघर परिवारको भन्दै ग्लोबल बैंक र आइएमइलाई राष्ट्र बैंकले गाभिन दवाव दिँदै आएको थियो। लर्डवुद्धका संस्थापक सेयरधनीमध्ये दुई जना ग्लोबल बैंकको सञ्चालक समितिमा भएकाले मर्जरमा यो फाइनान्स पनि मिसिएको हो।
मर्जपछि नयाँ बैंकको निक्षेप २६ अर्बभन्दा वढी पुग्ने छ। ऋण लगानी २० अर्बको हाराहारीमा छ। तीन वटै संस्थाको गरेर शाखा संख्या ६२ पुग्ने छ। शाखा संख्या ६२ पुग्ने छ। यसमध्ये ५ वटा शाखा एकै स्थानमा दोहोरिने छन्। दोहोरिएका शाखालाई बैंकले स्थानान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए। मर्जरपछि बैंकको ग्राहक संख्या २ लाख ५२ हजार नाघ्ने छ।
तीन वटै बैंक तथा वित्तीय संस्थाको गरेर कर्मचारी संख्या  ६ सय ५० पुग्ने छ। कर्मचारीहरुलाई स्थानान्तरण गरिने छ। बैंकको सञ्चालक समितिमा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्रप्रसाद ढकाल नै रहने छन्। सञ्चालक समितिमा लर्ड वुद्धका अहिले कुनै पनि सञ्चालकले निरन्तरता पाउँदैनन्।
सर्वसाधारण सेयरधनीबाट ग्लोबलमा रहेका दुई र आइएमइमा रहेका दुईलाई घटाएर एकेकमा झारिएको छ। सर्वसाधारणबाट ग्लोबलका पुस्पमान श्रेष्ठ र आइएमइका  अर्जुन पौडेलले सञ्चालकका रुपमा निरन्तरता पाउने छन्।
नयाँ बैंकमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले निरन्तरता पाएका छन्। आइएमइका प्रमुख कार्यकारी योगेश्वर ढकाल महाप्रबन्धक हुने छन्। लर्ड वुद्धका प्रमुख कार्यकारीलाई शाखा प्रमुखको जिम्मेवारी दिइने छ।





No comments:

Post a Comment

thanks for comment