एनआइसी–बैंक अफ एसिया गाभिन सम्झौता



सुदर्शन सापकोटा
काठमाडौं, असार १४
नेपाल इन्डस्ट्रियल एण्ड कमर्सियल (एनआइसी) बैंक र बैंक अफ एसिया नेपाल एक–आपसमा गाभिने भएका छन्। दुवै बैंकले पुससम्म गाभिएर एक हुने लक्ष्यसहित बिहीबार औपचारिक सम्झौता गरेका छन्।
दुई ठूला वाणिज्य बैंक औपचारिक रुपमा गाभिए यो अहिलेसम्मकै ठूलो मर्जर हुने छ। अहिलेसम्म ठूलो मर्जर प्रकृयामा वाणिज्य बैंक र फाइनान्स कम्पनी मात्र गएका छन्।
मर्जर प्रकृयामा जानका लागि दुवै बैंकले बिहीबारै आफ्नो सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्र पठाइसकेका छन्। नेप्सेले कारोबार रोक्का गरेपछि दुवै बैंक मर्जरका लागि राष्ट्र बैंक जाने छन्।
…नयाँ सेवा, सोच र रणनीति लिएर अगाडि वढ्छौं,' सम्झौतापछि एनआइसीका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भने, …सेवाको विस्तारसँगै दह्रो बैंकका रुपमा स्थापित हुने लक्ष्यसहित मर्जरमा गएका हौं।'
गाभिएपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ। गाभिएपछि बैंकको नाम के रहने भन्ने बारेमा टुङ्गो लागिनसकेको मर्जर समितिका संयोजक राजेन्द्र अर्यालले बताए। स्रोतका अनुसार, गाभिएपछि बैंकको नाम एनआइसी (एसिया) हुने छ।
दुवै संस्थामा सेयर स्वामित्व भएका प्रवर्द्ध भएको भन्दै राष्ट्र बैंकले यि दुई बैंकलाई गाभिनका लागि दवाव दिँदै आएको थियो। राष्ट्र बैंकको दवावपछि दुवै संस्थाले विदेशी रणनीतिक साझेदारको खोजीसमेत गरेका थिए। अन्ततः राष्ट्र बैंकको चाहना अनुरुप दुई संस्था मर्जरमा जान लागेका हुन्।
मर्जरपछि बैंकको सञ्चालक समितिको नेतृत्व एनआइसीका अध्यक्ष जगदिशप्रसाद अग्रवालले नै गर्ने छन्। प्रमुख कार्यकारी अधिकृत पनि एनआइसीका जोशी नै हुने छन्। मर्जरपछिको सञ्चालक समितिको वाँकी संरचना छलफलपछि मिलाइने अर्यालले जानकारी दिए।
दुवै बैंकका ६५ शाखा छन्। यसमध्ये १० वटा शाखा एकै स्थानमा छन्। बैंकले एकै ठाउँमा भएका शाखालाई स्थानान्तरण गर्ने लक्ष्य लिएको छ। बैंक अफ एसियाको पकड पूर्वी नेपालमा वढी छ। मध्य नेपालमा भने एनआइसी अगाडि छ। पश्चिमतिर दुवै बैंकको समान उपस्थिति रहेको छ।
…शाखाहरु एकै स्थानमा कमै भएकाले बन्द नगरी स्थानान्तरण गर्ने छौं,' बैंक अफ एसियाका कामु प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने, …यसले कर्मचारी मिलान गर्न पनि सजिलो हुन्छ।' उनले बैंकका कर्मचारी नहटाउने बताए।
एनआइसीमा ४ सय ५० कर्मचारी छन् भने बैंक अफ एसियामा ३ सय ५० जना छन्। शाखाहरुको स्थानान्तरण गरिने भएकाले कर्मचारी मिलाउन समस्या नहुने उनले दावी गरे।
राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिएपछि दुवै बैंकले आफ्नो सम्पूर्ण सम्पति तथा दायित्वको लेखाजोखा (डिडिए) गराउनेे छ। डिडिएका लागि नेपाली कम्पनी छानिने रिसालले जानकारी दिए। डिडिए प्रतिवेदनपछि कुन बैंक कति सेयर मूल्यमा गाभिने टुङ्गो लाग्ने छ।
…मर्जरपछि खर्च व्यवस्थापन तथा बजार हिस्सा, प्रतिस्पर्धात्मक क्षमता वढ्ने छ,' जोशीले भने, …ठूला परियोजनाहरुमा लगानी गर्न र ग्राहकलाई नयाँ सेवा उपलब्ध गराउन सक्षम भइन्छ।' उनले मर्जरपछि बैंकको शाखा र एटिएम सञ्जालसँगै नेपालको अग्रणी बैंकमध्येको एक हुने जानकारी दिए।
नेपाल स्टक एक्सचेन्जका अनुसार, एनआइसीको प्रति सेयर मूल्य ४ सय ६८ रुपैयाँ र बैंक अफ एसियाको २ सय २८ रुपैयाँ छ। गत वर्षको नाफाबाट एनआइसीले २० प्रतिशत र बैंक अफ एसियाले ७.३७ प्रतिशत नगद लाभांस वितरण गरेको थियो। सेयर कारोबार रोक्कापछि सर्वसाधारण सेयरधनीले नामसारी गर्न सक्दैनन्।

वक्स
मर्जरको भित्री कथा
नेपाल राष्ट्र बैंकले एनआइसी र बैंक अफ एसिया नेपाललाई ६ महिनाअघि गाभिनका लागि दवाव दिएको थियो। सञ्चालकहरुलाई वोलाएर राष्ट्र बैंकले एकाघर परिवारले प्रवर्द्धन गर्ने भएपछि दुई वटा बैंक किन चाहियो भन्दै दवाव दिएको थियो।
राष्ट्र बैंकको निरन्तरको दवावपछि दुवै बैंकले आपसमा मर्ज नहुनका लागि विदेशी साझेदारसमेत खोजेका थिए। एक महिनाअघिसम्म पनि दुवै बैंकले भारतका तीन–चार कम्पनीसँग रणनीतिक साझेदारका रुपमा छलफल वढाएका थिए। साझेदरका लागि पहल गरेकाबाट ठोक कुरा नआएपछि अन्ततः दुवै बैंक मर्जरमा जाने निर्णयमा पुगेका हुन्।
केन्द्रिय बैंकको दवावले आपसमा गाभिने वाहेकको विकल्प नभएपछि दुई साताअघि दुवै बैंकको सञ्चालक समितिले मर्जमा जाने निर्णय गरेको हो। मर्जरमा जान पक्का भएपछि एनआइसीका सञ्चालक राजेन्द्र अर्याललाई संयोजक चयन गरिएको हो। उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक बनेका हुन्।
मर्जर समितिमा एनआइसीबाट लोकमान्य गोल्छा र शशिन जोशी तथा बैंक अफ एसियाका तर्फबाट हिमवहादुर रावल, शतिसकुमार मोर र लक्ष्मण रिसाल छन्।

विवरण                       एनआइसी                            बैंक अफ एसिया
चुक्ता पुँजी                 १ अर्ब ३१ करोड                                २ अर्ब
जगेडा कोष               ९५ करोड                                         २७ करोड
निक्षेप                १९ अर्ब ९४ करोड                                १३ अर्ब ९७ करोड
ऋण लगानी          १५ अर्ब ८५ करोड                               ११ अर्ब ९५ करोड
खुद नाफा               २६ करोड ३५ लाख                           ११ करोड ७३ लाख
कर्जा–निक्षेप अनुपात ७५.८३ प्रतिशत                                  ७६.३३ प्रतिशत
खराव ऋण              १.१६ प्रतिशत                                         २.४२ प्रतिशत
पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत                              १५.३१ प्रतिशत
प्रति सेयर आम्दानी २६.७९ रुपैयाँ                                         ७.८२ रुपैयाँ
प्रति सेयर नेटवर्थ १७२.४६ रुपैयाँ                                         ११३.५९ रुपैयाँ
मूल्य आम्दानी अनुपात १५.६८                                                   २३.३९

No comments:

Post a Comment

thanks for comment