बैंकले बचतको ब्याज घटाए : न्युनतम २ प्रतिशतमा झर्‍यो


सुदर्शन सापकोटा
काठमाडौं, साउन २
वाणिज्य बैंकहरुले बचतमा दिने ब्याज न्युनतम २ प्रतिशतसम्म झारिसकेका छन्। नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी बैंकहरुले ब्याज न्युनतम २ प्रतिशतमा झारेका हुन्।
बैंकहरुले बचत खाताको ब्याज अहिलेसम्म पाँच प्रतिशत विन्दुले घटाइसकेका छन्। मुद्दति निक्षेपको ब्याज पनि ४ प्रतिशत विन्दुको हाराहारीमा घटिसकेको छ।
बचतको ब्याज घट्दा बैंकमा पैसा राखेर आम्दानी गर्नेहरुलाई घाटा हुन्छ। ऋण लगानी नहुने तर निक्षेप मात्र वढ्दा बैंकहरुलाई ब्याज खर्च महँगो पर्न थालेपछि बैंकहरुले धमाधम ब्याज घटाउन थालेका हुन्। महँगो दरको निक्षेप वढाउँदै लगेमा बैंकहरुलाई आर्थिक रुपमा धान्न गाह्रो पर्छ।
सरकारी स्वामत्विका बैंकसहित निजी क्षेत्रका बैंकहरुले ब्याज घटाएका हुन्। सबैभन्दा वढी ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले घटाएको हो। बैंकले बचत खाताको ब्याज न्युनतम २ प्रतिशत र अधिकतम ३ प्रतिशतमा झारेको हो। एक वर्षे मुद्दति निक्षेपमा पनि बैंकले ३.५ प्रतिशत मात्र ब्याज दिने घोषणा गरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको न्युनतम ब्याज २.२५ प्रतिशत तोकेको छ। बैंकले विशेष बचत खातामा ४ प्रतिशतसम्म दिने घोषणा गरेको छ। एक वर्षे मुद्दतिको ब्याज साढे पाँच प्रतिशत तोकेको छ।
नेपाल बैंकले पनि न्युतम ३ र अधिकतम ५ प्रतिशत बचतको ब्याज दर कायम गरेको छ। एक वर्षे मुद्दतिको ब्याज साढे ६ प्रतिशत दिने घोषणा गरेको छ।
वाणिज्य बैंकहरुसँग पैसा धेरै हुन थालेपछि ग्राहकलाई दिने (निक्षेपको) ब्याज घटाएका हुन्। पैसा कम हुँदा १२ प्रतिशतसम्म दिएका बैंकले अहिले एक वर्षे मुद्दति खाताको ब्याज घटाएर साढे सात प्रतिशतसम्म झारेका हुन्। पुराना र ठूला बैंकले त ६ प्रतिशतमा नै झारिसकेका छन्।
११ प्रतिशतसम्म पुगेकेा बचतको ब्याज वढीमा ६ प्रतिशत मात्र छ। जुनसुकै बेला पैसा झिक्न मिल्ने यो खाता सर्वसाधारणले वढी खोल्छन्। बैंकहरुलाई पनि बचत खाताको भर वढी हुन्छ। थोरै ब्याज दिए पुग्ने यस्तो खाता बैंकसँग धेरै हुन्छन्।
भारतीय संयुक्त लगानीको एभरेस्ट बैंकले बचतको ब्याज ३ देखि ५ प्रतिशत कायम गरेको छ। एक वर्षे मुद्दतिमा बैंकले सात प्रतिशत ब्याज दिन्छ। नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकले पनि बचतको ब्याज ३ देखि ५ प्रतिशतमा झारेको छ। इन्भेस्टमेन्ट बैंकले एक वर्षे मुद्दतिमा साढे पाँच प्रतिशत ब्याज दिने जनाएको छ। तर हिमालयनले भने मुद्दतिको व्याज सात प्रतिशत राखेको छ।
एनआइसी बैंकको बचतको ब्याज दर ३.५ देखि ५.५ प्रतिशत र एक वर्षे मुद्दतिको ब्याज ७.५ प्रतिशत तोकेको छ। बैंक अफ काठमाण्डूले पनि बचतमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज दिने छ। बैंकले एक वर्षे मुद्दतिको ब्याज ७ प्रतिशत तोकेको छ। नेपाल एसबिआइले बचतको न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ। बैंकले एक वर्षे मुद्दतिमा ६ प्रतिशत ब्याज दिने छ।
यद्यपी केही नयाँ बैंकले भने अहिले पनि औषतभन्दा वढी ब्याज दिइरहेका छन्। नयाँ बैंकले बचतमा सात र मुद्दतिमा ९ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन्।
गत वर्ष बैंकहरुमा निक्षेप संकलन नहुँदा चरम तरलता (लगानी योग्य पुँजी) अभाव भएको थियो। निक्षेप आकर्षित गर्नका लागि उनीहरुले ब्याज वढाएका थिए। अहिले निक्षेप बढेको अनुपातमा ऋण लगानी नभएकाले बैंकहरुले ग्राहकलाई दिने ब्याज घटाएका हुन्।
डलरको मूल्य वढेर विदेशमा वस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था एक सय अर्ब रुपैयाँभन्दा वढीले बचतमा रहेको र बचत खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्थामा खुकुलो नीति लिएपछि बैंकहरुमा निक्षेप वृद्धि हुन थालेको हो।

No comments:

Post a Comment

thanks for comment