बैंकको निक्षेप सय अर्ब वढीले उच्च


काठमाडौं, असार १०
अघिल्लो वर्ष तरलता अभाव झेलेका बैंकहरुले चालु वर्षको ११ महिनाभित्र १ सय ५ अर्बभन्दा वढी निक्षेप संकलन गरेका छन्। बैंकहरुको अहिलेसम्म कुल निक्षेप ८ सय २४ अर्ब रुपैयाँ संकलन गरेका छन्।
समयमा वजेट आएको तथा निक्षेपमा स्रोत देखाउने व्यवस्था खुकुलो भएको, देशको समग्र शोधनान्तर बचत उच्च रहेको र रेमिट्यान्स वढिरहेकाले निक्षेप वढेको हो।
बैंकरहरु निक्षेप सम्पति सुद्धीकरणको त्रास हटेकाले वढेको बताउँछन्। १० लाख रुपैयाँभन्दा माथिको निक्षेपको स्रोत देखाउनु पर्ने व्यवस्थामा लचकता अपनाइएकाले बैंकमा पैसा वढेको हो।
सरकारले बजेटमार्फत बैंकमा खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्था घुमाउरो पाराले हटाइएको छ। कुनै व्यक्ति, कम्पनी र संस्थाले बैंक तथा वित्तीय संस्थामा १० लाखभन्दा वढी निक्षेप राखेमा यस्तो रकम आतंकबाद, लागु पदार्थ कारोबार, मानव वेचविखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भन्ने स्वघोषणा गरे स्रोत नखोजिने व्यवस्था गरिएको छ।
बैंकरका अनुसार, वजेट आउनुअघि १० लाखभन्दा माथिको निक्षेपमा स्रोत देखाउन नसके सम्पति सुद्धीकरण निवारण ऐन अन्तर्गत समातिने डरका कारण पैसा बैंकिङ प्रणालीमा आएको थिएन। अहिले सम्पति सुद्धीकरणको डर हराएको छ।
निक्षेपमा वृद्धि भएसँगै बैंकहरुले आपसमा लिने सापटी (अन्तर बैंक) दर ९ महिनादेखि १ प्रतिशतको हाराहारीमा सिमित छ। ३२ वाणिज्य बैंकमध्ये नियमित जस्तो ५ वटा बैंकले मात्र सापटी माग गरिरहेका छन्।
तरलता अभाव हुँदा महँगो ब्याज तिरेर संस्थागत निक्षेपकर्ताबाट पैसा लिएका बैंकले अहिले उनीहरुलाई सर्वसाधारणलाई दिनेभन्दा कम ब्याज दिने थालेका छन्।
गत वर्ष बैंकहरुमा निक्षेप संकलन नहुँदा चरम तरलता (लगानी योग्य पुँजी) अभाव भएको थियो। निक्षेप आकर्षित गर्नका लागि उनीहरुले ब्याज वढाएका थिए। अहिले निक्षेप बढेको अनुपातमा ऋण लगानी नभएकाले बैंकहरुले ग्राहकलाई दिने ब्याज घटाएका हुन्।


No comments:

Post a Comment

thanks for comment