वित्तीय अपराधमा एनबी समुहका श्रेष्ठलाई पक्राउ आदेश, एक सातादेखि लक्ष्मीवहादुर फरार

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २५
वित्तीय अपराध गरेको आरोपमा प्रहरीले एनबी समुहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठलाई पक्राउ आदेश जारी गरेको छ। प्रहरीले पक्राउन गर्ने थाहा पाएपछि उनी एक सातादेखि …फरार' छन्।
नक्कली (डमी) ऋणी खडा गरेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सर्वसाधारणको विचल्ली पारेको भन्दै उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ आदेश जारी गरेको हो।
तत्कालिन श्रीलंका मर्चेन्ट एन्ड बैंकिङ कम्पनीबाट नक्कली ऋणी तयार पारी लिएको ऋण भुक्तान नभएपछि राष्ट्र बैंकले अनुसन्धान गरेको थियो। अनुसन्धानमा गैरकानुनी रुपमा ऋण दिइको देखिएपछि बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही अगाडि वढाउन राष्ट्र बैंकले प्रहरीलाई जिम्मा दिएको थियो।
प्रहरीले थप अनुसन्धान गर्दा लक्ष्मीवहादुरले ठूलै बैंकिङ घोटाला गरेर आफ्ना साधारण कर्मचारीका नामबाट ऋण झिकेर व्यक्तिगत प्रयोजनमा लगाएको फेला पारेको छ।
'श्रीलंका मर्चेन्टसँगै अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारका नामबाट ऋण लिएर उनीहरुलाई विचल्ली पारेको अनुसन्धानमा देखियो,' महानगरिय प्रहरी प्रभाग हनुमान ढोकाका एक प्रहरी अधिकृतले भने, 'त्यही भएर अनुसन्धानका लागि उनलाई पक्राउ आदेश जारि गरिएको छ। तर उनी   वेपत्ता भएका छन्।'
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसुर ऐन अन्तर्गत तत्कालिन श्रीलंका मर्चेन्ट एन्ड बैंकिङका अध्यक्षसहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ। प्रहरीले तत्कालिन कार्यकारी अध्यक्ष रुवी जोशी, श्रीरामप्रसाद लामिछाने र गौरिशंकर चौधरीलाई पक्राउ गरेको हो । उनीहरुले प्रहरीलाई लक्ष्मीवहादुरले आफूहरुलाई फसाएको भन्दै वयान दिएका छन्।
नेपाल बंगलादेश बैंकसँग मर्ज हुनअघि नियमविपरित ऋण लगानी गरेका कारण  राष्ट्र बैंकले बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
एनबी बैंकले यो ऋण भुक्तानका लागि ऋणीहरुका नाममा ३५ दिने सार्वजनिक सुचना आह्वान गरिसकेको छ। बैंकले नबिन श्रेष्ठ, रामेश्वरप्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, गीता श्रेष्ठ, मणी पाण्डे, थिरराज दाहाल, जस श्रेष्ठ, विजयकुमार श्रेष्ठ, सुरेन्द्रवहादुर केसी खड्का, शैलेन्द्रकुमार श्रेष्ठ र राइजिङ हाउजिङ एन्ड कमर्सियल कम्प्लेक्स प्रालिका सञ्चालक देववहादुर श्रेष्ठलाई ऋण तिर्न सार्वजनिक आह्वान गरेको छ। उनीहरु सबैले एनबी समुह र उसको अन्तर्गतका कम्पनीको नाममा हरेका संस्थाको सेयर र सम्पति धितोमा राखेर ऋण लिएका छन्।
नबिल बैंकको ऋण नतिरेका कारण लक्ष्मीवहादुरसहित एनबी समुहका सबै सञ्चालक कर्जा सुचना केन्द्रको कालोसुचीमा परिसकेका छन्। उनीहरुले माछापुच्छे्र बैंक, एनसिसी बैंक, नेपाल बंगलादेश बैंकको समेत ऋण लिएर तिरेका छैनन्। उनीहरुले चिकित्सकहरुको एक समुहलाई समेत फसाएर कालोसुचीमा पारेका थिए।
'श्रीलंकाको अनुसन्धान गर्दा लक्ष्मीवहादुरसँग जोडिएका अन्य आठ वटा अपराधहरु फेला परेको छ,' ती प्रहरी अधिकृतले भने, …पक्राउ परेका र अन्य वाह्यि अनुसन्धाले पनि लक्ष्मीवहादुरलाई पोलेका छन्।'
श्रीलंकाका सञ्चालकहरुले राष्ट्र बैंकबाट २०६७ पुस १८ गते एनबी बैंकसँग गाभिन अन्तिम स्विकृति दिएपछि ऋण दिएका थिए। उनीहरुले कर्जाको प्रयोजन स्पष्ट नखुलाइ लगानी गरेका हुन्। अन्य बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा भाखा नाघेको कर्जा बक्यौंता हुँदा हुँदै व्यक्तिगत जमानीमा धितो नलिइ माग गरेको भन्दा वढी कर्जा लगानी गरेका थिए। यो ऋण एनबी समुह अन्तर्गतमा रहेका कम्पनीका कर्मचारीको नाममा गएको छ।
'साधारण तलव खाने कर्मचारीका नाममा करोडौं ऋण गएको छ। धितो सम्पति र ग्यारेन्टीहरु एनबी समुहको छ,' अनुसन्धान गरिरहेका प्रहरी अधिकृतले भने, …साधारण रहनसहन (प्रोफाइल) भएकाहरुलाई डुबाएर समुहले मोज गरेको देखिन्छ।' उनले समुहका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए।
श्रीलंकामा प्रहरीको अनुसन्धानबाट कम्पनीलाई ३५ करोड ३१ लाख रुपैयाँ सञ्चालकहरुले नोक्सानी पुर्‍याएको भेटिएको छ। बंगलादेश बैंक र श्रीलंका मर्चेन्ट एउटै समुह प्रवर्द्धक रहेकाले मर्जर गरिएको थियो। दुवै संस्थाको एनबी समुह प्रवर्द्धक हो।
श्रीलंका मर्चेन्टले मर्जर प्रकृयामा गएपछि एकै समुहका आठ वटा …पाटी' लाई ऋण लगानी गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो। यो ऋणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ।
यसवाहेक शैलेन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, पूर्णवहादुर श्रेष्ठ र राइजिङ हाउजिङ कम्प्लेक्सलगायतले ऋण लगेका थिए। उनीहरु सबैलाई …साख' को आधारमा भन्दै विना धितो ऋण दिइएको थियो। स्रोतका अनुसार दिएको ऋण कम्पनीको प्रवर्द्धक समुहमा पुगेको छ।
मर्जरमा जाने प्रकृया सुरु भएपछि बैंक तथा वित्तीइ संस्थासम्वन्धि ऐन २०६३ अनुसार आफ्नो सेयर आफै खरिद  गर्न तथा  जमानतमा राखी ऋण दिन हुँदैन। एकिकृत निर्देशन २०६७ अनुसार, सेयरधनी तथा कर्मचारीलाई गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज छ।
यस विपरित हुने गरी संस्थापक एनबी समुहसँग संवद्ध कम्पनीको संस्थापक सेयर धितोमा कर्जा प्रयोजन नखुलाइ ऋण लगानी गरिएको छ। राष्ट्र बैंकले ऋण असुलीका लागि बैंकलाई निर्देशन दिइसकेको छ। बैंकले ऋण असुली गर्न नसके अन्य कानुनी कारवाही अनुसार अगाडि वढ्ने स्रोतले जानकारी दियो। …मर्ज हुनुअघि श्रीलंकासँग भएको जम्मै पैसा लगानी गरिएको थियो,' स्रोतले भन्यो, …एक रुपैयाँ पनि वाँकी नभएपछि कम्पनी एनबी बैंकसँग मर्ज भएको थियो।'
नबिल बैंकको २४ करोड ऋण नतिरेपछि एनबी समुहका लक्ष्मीवहादुरसहित जितवहादुर श्रेष्ठ, लक्ष्मीवहादुर श्रेष्ठ, जेन श्रेष्ठ, अनारदेवी श्रेष्ठ र पुर्णवहादुर श्रेष्ठलाई कालोसुचीमा परिसकेका छन्। उनीहरुले राजधानीको सानेपामा सञ्चालित रिक्रियसन सेन्टर, सुन्धाराको साङग्रिला इन्भेष्टमेन्ट प्रालि र सिद्धिगणेस इन्भेष्टमेन्ट प्रालिका नामबाट ऋण लिएका थिए।
रिक्रियसन लक्ष्मीवहादुर श्रेष्ठको नाममा छ। साङग्रिला इन्भेष्टमेन्ट पूर्णवहादुर श्रेष्ठ र सिद्धिगणेस इभेष्टमेन्ट जितवहादुर श्रेष्ठकी श्रीमती अनारदेवीको नाममा छ। उनका छोरा जेन श्रेष्ठको नाममा व्यक्तिगत (पर्सनल लोन) ऋण छ।
रिक्रियसन सेन्टरका नाममा १२ रोपनाी सात आना जग्गा  र घर छ। जीतवहादुरले ठैबमा रहेको २ रोपनी १४ आना जग्गा र पूर्णवहादुरको नाममा रहेको काठमाडौं–११ को तीन आना जग्गा तथा घर बैंकमा धितो छ। 'अब धितो विक्री गर्न थाल्छौं,' बैंक स्रोतले भन्यो, 'त्यसले ऋण भुक्तानी नभए अन्य सम्पति पनि लिलाम गर्न थाल्छौं।'
जितवहादुर कालोसुचीमा परेसँगै एनबी बैंकको सञ्चालकबाट हटिसकेका छन्। लक्ष्मीवहादुर केही समय अघिसम्म नेपाल वंगलादेश (एनबी) बैंकमा सञ्चालक थिए। राष्ट्र बैंकले कर्जा दुरुपयोग गरेको भन्दै कारवाही गर्ने पक्का भएपछि हताहतारमा उनले बैंक छाडेका थिए। उनले पाँच लाख जरिवाना भने तिर्नु परेको थियो। प्रहरीले अनुसन्धान तिव्र पार्दै पक्राउ सुचीमा राखेपछि उनी फरार भएक हुन्।
एनबी समुहका सदस्यहरु एनबी इन्स्योरेन्सको सञ्चालक समितिमा पनि छन्। इन्स्योरेन्स कम्पनीमा जितवहादुर अध्यक्ष छन्। उनका भाइ लक्ष्मीवहादुर र छोरा जेन श्रेष्ठ सञ्चालक छन्। बिमा रकम दुरुपयोग गरेको भन्दै केही महिनाअघि बिमा समितिले एनबी इन्स्यारेसन्सलाई कारोबारमा नै रोक लगाएको थियो।
एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। उनीहरुले हात हालेको सबै क्षेत्रमा आर्थिक वेथितिहरु भेटिने गरेको छ। एनबी समुहकै वद्मासिका कारण केही वर्षअघि एनबी बैंक समस्यामा परेको थियो। चलिरहेको हरिसिद्धि इटा टायल उद्योग एनबी समुहको हातमा गएपछि बन्द भएको थियो। एनबी समुहको सेयर रहेको नेसनल हाइड्रो पावर कम्पनीको अवस्थामा पनि नाजुक छ।
'एनबी समुहले हात हाल्ने वित्तिकै कम्पनी विग्रियो भनेर वुझे हुन्छ,' यो समुहसँग नजिक भएर काम गरेका एक जानकारले भने, …उसको हातमा रहेको कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। आर्थिक अनियमितता धेरै हुने गरेको छ।'

No comments:

Post a Comment

thanks for comment