चेक क्लियरेन्स : विद्युतीय प्रणालीमा जान सबै बैंक वित्तीय संस्थालाई निर्देशन


• तीन दिनसम्म लाग्दै आएकोमा एकै दिनमा भुक्तानी हुने
• ग्राहकले कुनै शुल्क तिर्नु नपर्ने
सुदर्शन  सापकोटा
काठमाडौं, मंसिर ९
सबै बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यममार्फत चेकहरुको राफसाफ (क्लियरेन्स) गर्नु पर्ने भएको छ। सबै संस्था विद्युतीय प्रणालीमा गएपछि ग्राहकले एकै दिनमा चेक राफसाफ भइ भुक्तानी पाउने छन्।
अहिले राष्ट्र बैंकले 'मानव शंसाधन' प्रयोग गरी चेक राफसाफ गरिरहेको छ। विद्युतीय प्रणालीबाट एक बैंकको चेक अर्को बैंकमा साटेर एकै दिनमा भुक्तानी हुने लिन सकिन्छ। व्यक्ति खटिएर एउटा चेक राफसाफ गर्न राष्ट्र बैंकले तीन दिन लगाउने गरेको छ। सुदूर क्षेत्रका शाखाबाट आएको चेक राफसाफ हुन एक महिनासम्म पनि लाग्ने गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय प्रणालीबाट चेकको राफसाफ गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को सदस्यता लिन निर्देशन दिएको छ।
'पुस १ गतेदेखि हामी म्यानुअल चेक राफसाफ गर्दैनौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले शनिवार नागरिकसँग भने, 'अब चेकहरुको राफसाफ विद्युतीय प्रणालीबाट गर्नु पर्ने छ।' अहिले विद्युतीय प्रणालीबाट राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले चेकको राफसाफ गरिरहेको छ।
एनसिएचएलमा नेपाल राष्ट्र बैंकसहित ७० बैंक तथा वित्तीय संस्थाहरु सदस्य भइसकेका छन्। यसमा ३२ वाणिज्य बैंक, १९ विकास बैंक र १८ फाइनान्स कम्पनी छन्। अहिले एनसिएचएलले सदस्य बैंक तथा वित्तीय संस्थाहरुको मात्र चेक राफसाफ गरिरहेको छ। पुस १ गतेबाट सबैले विद्युतीयबाट गराउनु पर्ने हुन्छ।
'विद्युतीयबाट चेक राफसाफ गर्न अब अन्य बैंक तथा वित्तीय संस्थाहरुले एनसिएचएलको सदस्यता लिनु पर्छ,' ज्ञवालीले भने। अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ७० को हाराहारीमा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्।
सफ्टवेयर महँगो भएको भन्दै विकास बैंक र फाइनान्स कम्पनीहरुले चेक क्लियरेन्सका लागि एनसिएचएलको सदस्यता लिएका थिएनन्। कतिपय वाणिज्य बैंकहरुले समेत सुरुमा यसको विरोध गरेका थिए। एनसिएचलको सफ्टवेयर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो।
'सबै बैंक तथा वित्तीय संस्थाको चेक राफसाफका लागि हामीले क्षमतासमेत वढाइ सकेका छौं,' एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले नागरिकसँग भने, 'सबै सदस्य भएपछि चेक राफसाफबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकले लाभ पुग्ने छ।'
चेक क्लियरेन्सका लागि बैंक तथा वित्तीय संस्थाहरुले सफ्टवेयर जडान गर्नु पर्ने हुन्छ। वाणिज्य बैंकहरुका लागि सफ्टवेयर शुल्क १४ लाख ५७ हजार रुपैयाँ राखिएको छ। राष्ट्रियस्तरको विकास बैंकले ८ लाख १८ हजार, १० जिल्ले विकास बैंकले २ लाख ५४ हजार तथा एक र तीन जिल्लेले १ लाख ३३ हजार शुल्क तिर्नु पर्ने हुन्छ। फाइनान्स कम्पनीहरुले भने सात लाख रुपैयाँ वुझाउनु पर्छ।
एनसिएचएलको सदस्य बन्न वाणिज्य बैंकले २ लाख ५० हजार, राष्ट्रियस्तरको विकास बैंकले २ लाख र अन्य विकास बैंक तथा फाइनान्स कम्पनीले ७५ हजार वुझाउनु पर्छ। यो वार्षिक रुपमा नवीकरण गर्नु पर्ने हुन्छ।
राष्ट्र बैंकले सुरुमा सबै बैंक तथा वित्तीय संस्थालाई एनसिएचएलको सदस्य बन्न अनिवार्य गर्ने तयारी गरेको थियो। एनसिचएलको बारेमा अख्तियारमा मुद्दा परेसँगै राष्ट्र बैंक पछाडि हटेको थियो। अख्तियारले अनियमितता नभएको भन्दै …क्लिन चिट' दिएपछि कारोबार सुरु भएको हो।
एनसिएचएलबाट स्वदेशी तथा विदेशी मुद्राको चेक राफसाफ हुन्छ। कम्पनीले कात्तिक मसान्तसम्म ११ लाख चेक राफसाफ गरिसकेको छ। यो दैनिक औषत ८ हजार १०८ हो।
एनसिएचएलमा चेक राफसाफ गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै पनि सेवा शुल्क लिन पाउने छैनन्। चेक राफसाफ सेवा सातै दिन र चौविसै घन्टा उपलब्ध हुने छ।

No comments:

Post a Comment

thanks for comment