बैंकको पहिलो त्रैमास सन्तोषजनक, पुरानो ब्याज तिर्न नयाँ ऋण

काठमाडौं, कात्तिक २
असोजको हरहिसाव राम्रो देखाउन बैंकहरुले व्याज प्रयोजनका लागि ओभरड्राफ्टमार्फत थप कर्जा प्रवाह गरेका छन्। घरजग्गाको ब्याज तिर्न बैंकहरुले नयाँ धितो लिएर ओभरड्राफ्ट कर्जा दिएका हुन्।
बैंकहरुले मूख्य ग्राहकलाई मात्र ओभरड्राफ्ट उपलब्ध गराएकाले असोजको हरहिसाव सन्तोषजनक मात्र भएको छ। 'जसोतसो हरहिसाव राम्रै बनाएका छौं,' एक बैंकरले भने, 'असार मसान्तमा जस्तो अहिले हिसाव राम्रो देखाउने दवाव हुँदैन।' उनले दसैं–तिहारका कारण १ करोड तिर्ने  ग्राहकले ५० लाख मात्र तिरेकाले पनि हरहिसाव सन्तोषजनक मात्र भएको बताए।
'घरजग्गा कारोबार वढ्ने आधारहरु देखिएकाले ब्याज उठाउन ओभरड्राफ्टको बाटो प्रयोग गरेका हौं,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'कारोबार वढेसँग पुरानो पैसा फिर्ता आउने र असोजको हरहिसाव पनि राम्रो देखिने हुँदा थप ऋण दिइएको हो।' उनका अनुसार, पुस र आगामी चैतको व्याज तिर्न पुग्ने जति मात्र थप ऋण उपलब्ध गराइएको हो।
पछिल्लो समय राजधानीको घरजग्गा कारोबारमा सुधार हुन थालेको छ। कारोबार बढेर सरकरी राजश्व पनि बढेको छ।
गत पुसमा बैंकहरुले सरकारी राहत प्याकेज आउने घोषण भएपछि घरजग्गा कारोबारमा सुधार आएर ऋण भुक्तानी हुने आसमा व्याज प्रयोजनका लागि थप पैसा दिन थालेका थिए। तर, सरकारले भनेजस्तो राहतका कार्यक्रमहरु नआएपछि बैंकहरुले चैत र असारमा ऋण लगानी बन्द गरेका थिए। अहिले कारोबार बढ्न थालेको तथ्यांकहरु सार्वजनिक भएकाले थप ऋण उपलब्ध गराएका हुन्।
सरकारले विक्री नभएका अपार्टमेन्ट सेवा क्षेत्रमा लगाउने, उच्च कर्मचारीलाई अपार्टमेन्ट सुविधा दिने, १ करोडको घरजग्गा ऋणलाई रियलस्टेटको सीमाबाट हटाउने  र रियलस्टेट कर्जा २५ प्रतिशतमा झार्नु पर्ने सीमा एक वर्ष वढाएर २०७० साल पुर्‍याउने घोषणा गरेको थियो।
यसमध्ये १ करोडको घरजग्गा ऋणलाई रियलस्टेटको सीमाबाट हटाउने  र रियलस्टेट कर्जा २५ प्रतिशतमा झार्नु पर्ने सीमा एक वर्ष वढाएर २०७० साल पुर्‍याउने घोषणा मात्रै कार्यान्वयनमा आएको थियो। सरकारी निर्णयपछि घरजग्गा कारोबारमा सुधार आएर सबै ऋण भुक्तानी हुने व्यवसायी र बैंकरको वुझाइ थियो।
व्याज नउठे बैंकहरुले नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्याउनु पर्ने अवस्था थियो। नोक्सानी व्यवस्थाले बैंकहरुको नाफा उल्लेख्य रुपमा घट्छ। 'नाफा ह्वात्तै घट्ने र नोक्सानी व्यवस्थामा ठूलो रकम थुप्रिँदा बैंकप्रति सर्वसाधारणको विश्वाससमेत घट्न सक्छ,' अर्का एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'पैसा उठ्ने अवस्था देखिन थालेकाले केही …यथार्थ' ऋणीलाई  व्याज तिर्न थप  पैसा दिइएको हो।'
वासलात राम्रो देेखाउन अहिले घुमाउरो बाटोबाट व्याज आएपनि घरजग्गामा भनेजस्तो सुधार नआए थप समस्या पर्ने छ। अहिले वाणिज्य बैंकहरुको घरजग्गामा ७० अर्ब रुपैयाँ कर्जा लगानी छ। यसवाहेक अन्य शिर्षकबाट पनि करिव ३० अर्ब रुपैयाँ घरजग्गामा ऋण गएको राष्ट्र बैंकको अनुमान छ।
'घरजग्गामा मात्रै लगानी गरेका ऋणीलाई ओभरड्राफ्ट दिएको छैन,' एक बैंकरले भने, 'जसको अरु व्यवसाय पनि छ उसलाई मात्र थप ऋण दिएको हो।'
लगानी भएको ऋण तीन महिनासम्म नउठे त्यसको २५ प्रतिशत सम्भावित नोक्सानीमा छुट्याउनु पर्ने हुन्छ। ६ महिना भुक्तानी नभए ५० प्रतिशत र १ वर्ष नभए सय प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने हुन्छ। गत असोजमा ऋणको किस्ता र व्याज नउठेपछि संकटमा परेका बैंक सरकारी प्याकेजप्रति आसावादी हुँदै हरहिसाव राम्रो बनाउन लागेका हुन्।

किन्नेले भाउ घटेको भन्दै सस्तोमा लिन खोज्ने तर, जग्गा धनीले थप घटेर दिन नसक्ने अवस्था आएपछि घरजग्गा कारोबार खस्किएको थियो। अहिले ब्याज दर घटेसँगै घरजग्गा कारोबार वढ्न थालेको हो।

No comments:

Post a Comment

thanks for comment