दसैंमा ३२ अर्बका नयाँ नोट साटिए, पोहोरको भन्दा १२ अर्ब रुपैयाँ वढी

काठमाडौं, कात्तिक १३
राष्ट्र बैंकले दसैंका लागि ३२ अर्ब रुपैयाँ बराबरको नयाँ खुद्रा नोट साटेको छ। गत वर्ष २० अर्ब रुपैयाँ बराबरको साटिएकाले यस पटक २५ अर्ब रुपैयाँसम्म साटिन सक्ने अनुमान राष्ट्र बैंकको थियो। राष्ट्र बैंकले अनुमान गरेभन्दा ७ अर्ब रुपैयाँ बढी नोट साटिएको हो।
'हामीले अनुमान गरेभन्दा वढी नोट साटिएको छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले सोमबार नागरिकसँग भने, '२५ अर्ब अनुमान गरिएकोमा ३२ अर्बका नोट साटिएका  छन्।'
नयाँ नोट राष्ट्र बैंकका आफ्नै बैंकिङ र क्षेत्रीय कार्यालयहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट साटिएका हुन्। राष्ट्र बैंकले सर्वसाधारणले सजिलै नयाँ नोट साट्न पाउन् भनेर बैंक तथा वित्तीय संस्थाहरुको आकार र क्षमताका आधारमा पैसा उपलब्ध गराएको थियो। उसले ठूला बैंकहरुलाई १० करोडसम्म र साना वित्तीय संस्थाहरुलाई ५ लाखसम्म नयाँ नोट उपलब्ध गराएको थियो।
नोट साटिनुअघि चलनचल्तीमा १ खर्ब ८८ अर्ब रुपैयाँका नोट थिए। ३२ अर्ब थपिएपछि २ खर्ब २० अर्ब पुगेको छ। राष्ट्र बैंकसँग अझै ९० अर्ब नयाँ नोट मौज्दात छ।
राष्ट्र बैंकले असोज १४ गतेबाटै नयाँ नोट दिन थालेको थियो। सर्वसाधारणले छिटो र सुलभ रुपमा नयाँ नोट पाउनु भन्ने उद्देश्यले चाँडै सटही थालिए पनि बैंक तथा वित्तीय संस्थाले सहजै नयाँ नोट दिन सकेका थिएनन्।
दसैंमा ५, १०, २०, ५० र १०० रुपैयाँका नोटको माग बढी भएको थियो। सर्वसाधारणले ५० र २० का नोट सजिलै पाउन सकेका थिएनन्। यि नोट तिहार र छठ पर्वलाई पुग्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयमा रहेको नोट कोषमार्फत जिस्लास्तरमा नयाँ नोट वितरण गरेको थियो। सर्वसाधारणले आफ्नो खाता भएका बैंक र राष्ट्र बैंकका कार्यालयबाट  नयाँ नोट लगेका थिए।
बैंक तथा वित्तीय संस्थाबाहेक राष्ट्र बैंकको काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट पनि नोट सटही भएको थियो। थापाथलीमा नोट साट्नका लागि पाँच वटा काउन्टर राखिएको थियो।
विगतमा बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पर्याप्त नभएपछि राष्ट्र बैंकका कार्यालयमा नै साट्न लाममा बस्नुपर्ने बाध्यता देखिएको थियो। 
राष्ट्र बैंकले समयमा नै व्यवस्थापन गर्न नसक्दा तीन वर्षअघि देशभरै नोट अभाव भएको थियो। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरणमा सहयोग नगर्ने र सर्वसाधारणले अन्तिम समयमा माग गर्ने अवस्थाले नोट अभाव  हुने गरेको थियो।
दसैंले बैंकिङ क्षेत्रबाट सर्वसाधारणका हातमा रकम बढाउनेछ। यसले बैंकिङ क्षेत्रबाट निक्षेप बाहिरिने छ। तर, केही महिनामा बैंकमा फिर्ता हुने भएकाले तरलता अभाव नरहने राष्ट्र बैंकको अनुमान छ। 

No comments:

Post a Comment

thanks for comment