महतोको कृषि र स्वास्थ्यमा 'मेगा प्रोजेक्ट' आउँदै

– जडिवुटी र अस्पतालका लागि जग्गा खरिद भइसक्यो
– अस्पतालमा तीन सय करोड लगानी, तीन चरणमा अगाडि वढ्ने जडिवुटीमा पहिलो लगानी २० करोडको
– १५० रोपनी जग्गामा तीन सय सैयाको अस्पताल
– अमेरिकी आर्किटेकबाट डिजाइन
– जडिवुटी उत्पादन तथा प्रशोधन उद्योगबाट प्रत्यक्ष/अप्रत्यक्ष ५० हजारलाई रोजगारी


काठमाडौं, मंसिर ७
मुलुकमा राजनीतिक अस्थिरताका बाबजुद गैरआवासिय नेपालीको लगानीमा दुई ठूला परियोजना सुरु हुने भएको छ। गैरआवासिय नेपाली उपेन्द्र महतोले राजधानीमा सुविधा सम्पन्न अस्पताल र  जडीबुटी खेती तथा प्रशोधन उद्योग खोल्ने भएका छन्।
अस्पताल निर्माणको काम तीन महिनाभित्र सुरु हुने छ। जडिवुटी खेती तथा प्रशोधन उद्योगको काम भने अगाडि वढिसकेको छ। सञ्चार, जलविद्युत र वित्तीय क्षेत्रमा लगानी गरिसकेका महतोले अस्पताल र जडीवुटी खेती 'मेगा प्रोजेक्ट' भएको बताए।
'रोजगारी वढीभन्दा वढी श्रृजना गर्न कृषिमा लगानी गर्न लागेका हौं,' गैरआवसिय नेपाली संघका संस्थापक अध्यक्ष महतोले नागरिकसँग भने, 'अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध हुने गरी अस्पताल निर्माण गर्न लागिएको हो।'
महतोले मध्यपूर्वी देशहरुको स्तरमा निर्माण गर्न लागिएको अस्पतालका लागि १ सय ५० रोपनी जग्गा खरिद गरिसकेका छन्। महतोले भैंसेपाटीमा किनिएको जग्गामा अस्पताल निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि तीन महिनाभित्र काम  थालिने जानकारी दिए।
सुरुमा तीन सय सैयाको अस्पताल निर्माण गरिने छ। यसका लागि तीन सय करोडको लगानी छुट्याइएको छ। उपचारका लगि अन्य देशमा जाने नेपाली तथा विदेशीहरुलाई लक्षित गरी अस्पताल निर्माण गर्न लागिएको महतोले जानकारी दिए।
अस्पतालमा सबै खालका स्वास्थ्य सुविधाहरु उपलब्ध हुने छन्। दोस्रो चरणमा 'सुपर स्पेसलिस्ट' सेवा उपलब्ध गराइने छ। 'अस्पतालको पूर्वाधारदेखि सबै स्वास्थ्य उपकरणहरु  उच्च गुणास्तरको हुने छ,' उनले भने, 'यहाँ आएका विरामीले पूर्वाधार र स्वास्थ्य उपकरण नभएका कारण फर्कनु पर्ने अवस्था   आउँदैन।' उनले व्यवसायिक हिसावले अस्पताल निर्माण गर्न लागिएको जानकारी दिए।
अस्पतालको पूर्वाधारका लागि अमेरिकी आर्किटेकबाट डिजाइनको काम सम्पन्न भइसकेको छ। नेपालमा केज कन्सर्नका विष्णु पन्थीले यसको 'मोडिफिकेसन' को काम गरिरहेका छन्। 'अहिले उपचारका लागि अन्य देश तथा भारत जाने चलन छ,' उनले भने, 'ती विरामीहरुले यहीँ उपचार गर्न सक्छन्।'
जडिवुटी उत्पदान तथा प्रशोधन उद्योग धनुषामा खुल्ने छ। अस्पताल भने राजधानीको भैंसेपाटीमा निर्माण गर्ने तयारी भइरहेको छ। जडिवुटीका लागि महतोले जग्गाको व्यवस्था मिलाइसकेका छन्। यसमा तीन चरणमा लगानी गरिने छ।
'कृषि पहिलेजस्तो परम्परागत छैन। यसबाट राम्रो आम्दानी हुन थालिसकेको छ,' उनले भने, 'स्थानीयलाई स्वरोजगारसमेत हुने गरी खेति सुरु हुने छ।' उनका अनुसार, तीन वर्षको अवधिमा तीन चरणमा लगानी गरेर उद्योग सञ्चालन गरिने छ। उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी एक लाखलाई रोजगारी दिन सकिन्छ। 'रोजगारी ठूलो मात्राम श्रृजना हुने गरी नै यसलाई हामीले 'मेगा प्रोजेक्ट' का रुपमा विकास गर्न लागेका हां,' महतोले भने, 'प्रशोधन र उद्योग सञ्चालनका लागि जग्गा तयार छ।'
पछिल्लो समय नेपालकै अन्य औद्योगिक घरानाहरुले पनि कृषि तथा जडिवुटी खेतीतर्फ लगानी गर्न थालेका छन्। अग्रणी औद्योगिक घराना चौधरी समुले १० करोडका लागनीमा जडिवुटी खेती सुरु गरेको छ। ज्योति समुहले पनि १० करोडका लगानीमा व्यवसायिक तरकारी खेती सुरु  गरिसकेको छ।
महतोका अनुसार, पहिलो चरणमा २० करोड रुपैयाँ लगानी हुने छ। स्थानीय किसानलाई जडिवुटी उत्पादन गर्ने तालिम दिइने छ। त्यसपछि आवश्यक पर्ने विऊविजन उपलब्ध गराइने छ। 'किसानले आफ्नै घरआगनमा व्यवसायिक रुपमा जडिवुटी उत्पादन गर्ने छन्,' उनले भने, 'उत्पादित जडिवुटीलाई प्रशोधन गरी बजारीकरण भने उद्योगबाट गरिने छ।'
महतोले उत्पादित जडिवुटीलाई किसानले चाहेमो सोझै बजारमा विक्री गर्न छुट दिने बताए। बजारमा विक्री नभएको जडिवुटी उद्योगले किनेर आवश्यक प्रशोधन गरी बजारीकरण गर्ने छ।'हामी सस्तोमा किन्न खोज्ने र उनीहरु महँगोमा बेच्न खोज्दा विरोधावास हुन्छ,' उनले भने, 'त्यही भएर पहिले उनीहरुलाई खुला रुपमा आफैलाई बजारमा विक्री गर्न दिइने योजना बनाइएको हो।'
उनले लगानीका लागि अन्य क्षेत्र खोजिए पनि जडिवुटीबाट वढीभन्दा वढीलाई रोजगारी उपलब्ध हुने भएकले कृषिलाई छानिएको जानकारी दिए। …जडिवुटी धेरै मानिसको दैनिक जीवनमा प्रत्यक्ष जोडिन्छ,' उनले भने, 'त्यही भएर यसमा लगानी ठूलो रुपमा गर्न खोजिएको हो।' उनले जनकपुर वाहेकका स्थानमा पनि संभाव्यता हेरी खेती विस्तार गर्दै लैजाने योजना भएको सुनाए।
महतोले कुन स्थानमा के–के जडिवुटी उत्पादन हुन्छ भनेर अध्ययन गरिरहेको जानकारी दिए। उनले तालिम केन्द्र निर्माणसँगै वृहत्त रुपम विउ वितरणको योजना रहेको बताए।
गैरआवसिय नेपलीहरुको कृषि र स्वास्थ्य क्षेत्रमा गर्न लागेको यो अहिलेसम्मकै ठूलो लगानी हो। उनीहरुले जलविद्युत र वित्तीय क्षेत्रमा भने लगानी गरिसकेका छन्। महतोले अन्य सामाजिक संस्थाहरुमा पनि लगानी गरेका छन्।



No comments:

Post a Comment

thanks for comment