नोक्सानी व्यवस्था घटेपछि बैंकको नाफामा सुधार

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ३
घरजग्गाको ऋण नउठेर अघिल्लो असोजमा नाफा घटेको बैंकहरुको यसपाली भने सुधार भएको छ। बैंकहरुले ऋणको किस्ता नउठेपछि नोक्सानी व्यवस्थामा राख्नु पर्ने रकम खासै नवढेका कारण नाफामा वृद्धि भएको हो।
चालु वर्षको असोज मसान्तसम्म (पहिलो त्रैमास) मा निक्षेप र कर्जाबीचको  व्याज दर अन्तर वढी भएका कारण पनि बैंकहरुको नाफा वढेको छ। अघिल्लो असोजमा नाफा २३ प्रतिशतले घटेको थियो। बैंकहरुले डलरमा आएको उतारचढावबाट पनि केही लाभ उठाएका छन्।
'पहिलो त्रैमासको नतिजा राम्रै देखिएको छ। पोहोरको तुलनामा यसपाली नोक्सानी व्यवस्था कम भएकाले नाफा वृद्धि भएको देखिन्छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले आइतवार नागरिकसँग भने।
पुराना र ठूला बैंकहरुले राम्रो नाफा कमाएका छन्। बीचमा खुलेका बैंकहरुको नोक्सानी व्यवस्था घटेका कारण नाफा वढेको छ। नयाँ बैंकहरुले एक वर्षको अवधिमा लगानी वढाएका कारण नाफा बढाउन सफल भएका छन्।
सञ्चालनमा रहेका ३२ वटा वाणिज्य बैंकमध्ये २ दर्जनले मात्र असोज मसान्तसम्मको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक भएका विवरण अनुसार पुरानो र ठूलोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा सामान्य घटेको छ। बैंकको नाफा २९ हजार रुपैयाँले घटेर ३३ करोड १८ लाख रुपैयाँ भएको छ।
'नाफा सन्तोषजनक देखिएको छ। रियलस्टेटको गतिविधि वढेर नोक्सानी व्यवस्थाको रकम कम भएर पनि वृद्धि भएको हो,' एनएनबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने,'दैनिक कारोबारबाट भन्दा पनि व्याज दरबीचको अन्तर (स्प्रेड) ले नाफामा केही सुधार देखिएको हो।' उनले बैंकहरुको छुट तथा कमिसनमा आधारित आम्दानी वढ्न नसकेको जानकारी दिए। 
गत वर्ष यतिबेला मूख्यगरी घरजग्गामा दिएको कर्जा नउठेको तथा महँगो व्याज तिरेर सर्वसाधारणबाट बचत संकलन गरेपनि त्यही अनुरुप लगानी गर्न नसक्दा बैंकको नाफा घटेको थियो। त्यसबेला सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकमध्ये २२ वटा बैंकको नाफा घटेको थियो।
'असोजमा नाफामा वृद्धि देखिए पनि वर्षभरी नै नाफा यसरी वृद्धि हुन्न भन्ने होइन। अगाडिको दिन अझ गाह्रो र चुनौतीपूर्ण छ,' जोशीले भने, …अहिले तरलताको अवस्था सहज देखिएपनि बजेटलगायतका कारण धेरै दिन तरलता टिक्ला जस्तो छैन।' उनले ऋणको व्याज घटेको असर असोजको हरहिसाव (वासलात) मा देखिइनसकेको भन्दै आगामी त्रैमासमा ब्याज दर आय घटेर नाफामा प्रभाव पर्ने जानकारी दिए।
नेपाल एसबिआइ बैंक, सिटिजन्स् बैंक इन्टरनेसनल, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डू (बिओके), नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतको नाफामा वृद्धि भएको छ। केही बैंकको नाफा भने घटेको छ।
नेपाल एसबिआइ बैंकले चालु वर्षको असोजमा नाफा ६८.९१ प्रतिशतले वढाएर १६ करोड २१  लाख पुर्‍याएको छ। सानिमा बैंकले असोजमा नाफा ७८.७१ प्रतिशतले बढाएको छ। बैंकको नाफा ५ करोड ४२ लाख रुपैयाँ पुगेको हो।
सिभिल बैंकको नाफा २६० प्रतिशतले वढेर २ करोड २६ लाख रुपैयाँ पुगेको छ। एनएमबी बैंकले गत वर्षभरी कमाएको नाफाभन्दा दोब्बर चालु वर्षको तीन महिनामा नै कमाएको छ। बैंकले गत वर्षभरी ५ करोड २२ लाख नाफा कमाएकोमा चालु वर्षको असोजसम्म ९ करोड रुपैयाँ कमाएको छ।
एभरेष्ट बैंकले चालु वर्षको असोज मसान्तमा ३२ करोड ७६ लाख नाफा कमाएको छ। बैंकले एक वर्षमा ३३.९३ प्रतिशतले नाफा वृद्धि गरेको हो। प्राइम कमर्सियल बैंकले नाफा ५६.७८ प्रतिशतले वढाएको छ। बैंकको नाफा बढेर ८ करोड ९८ लाख रुपैयाँ पुगेको हो।

No comments:

Post a Comment

thanks for comment