लिलाममा राखिएको सम्पति विक्दैन, व्यवसायी कालोसुचीमा, कालोसुचीमा चढाउन राष्ट्र बैंकको दवाव

काठमाडौं, कात्तिक २१
ग्राहकले ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले विक्रीका लागि लिलाममा राखेको सम्पति विक्न छाडेको छ। ऋण नतिरेपछि बैंकहरुले पनि उनीहरुलाई धमाधम कालोसुचीमा राख्न थालेका छन्।
ऋण लिने अधिकांस ग्राहकले धितोका रुपमा घरजग्गा तथा अन्य अचल सम्पतिहरु राख्ने गर्छन्। यही सम्पति लिलामीमा राख्दै बैंकहरुले सञ्चालकहरुलाई कालोसुचीमा राख्न कर्जा सुचना केन्द्रलाई सिफारिस गर्न थालेका हुन्।
'कारोबार नभएका बेला लिलामको सम्पति विक्री हुन गाह्रो हुन्छ,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने, 'मूल्य घट्छ अनि किन्छु भनेर ग्राहक बसेका छन्। यसले पनि कारोबार बढ्न सकेको छैन।'
असार मसान्तयता मात्रै बैंक तथा वित्तीय संस्थाहरुले दुई दर्जन हाउजिङ कम्पनीका सञ्चालकहरु कालोसुचीमा सिफारिस गरिसकेका छन्। गत वर्ष १ सय ६३ जना घरजग्गा व्यवसायी तथा हाउजिङ सञ्चालकहरु कालोसुचीमा परेको कर्जा सुचना केन्द्रले जनाएको छ। पछिल्लो समय भुक्तानी दिएको खातामा पर्याप्त पैसा नभएका कारणले पनि हाउजिङका सञ्चालकहरु कालोसुचीमा पर्न थालेका छन्। 
विग्रदो आर्थिक अवस्था, सम्पति खरीद गर्दा स्रोत देखाउनु पर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पति विक्री हुन छाडेको बैंकरहरुको भनाइ छ। सेयर तथा गाडीको लिलाम विक्री भने भइरहेको छ।
'ठूलो परिमाणमा लगानी भएकाले लिलाम सकार्ने क्षमता घटेको छ,' डेभलपमेन्ट बैंकर्स संघका महासचिव तथा वागेश्वरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेलले भने,'हिजोका दिनमा अनुत्पादक क्षेत्रमा वढी लगानी भएको नतिजा हो यो।'
अहिले बैंक तथा वित्तीय संस्थाहरुले ९० प्रतिशत राजधानीको र बाँकी १० प्रतिशत वाहिरका घरजग्गाहरु लिलामीमा राखेका छन्। मोफसलको घरजग्गा लिलाम विक्री भएपनि राजधानीको विक्री हुन  सकेको छैन,' उनले भने, 'राजधानीमा वढी नै लगानी भएको थियो।'
बैंक तथा वित्तीय संस्थाहरुका अनुसार, असारयता मात्रै एक हजार लिलामका सुचना सार्वजनिक भएका छन्। अधिकांस सुचना विकास बैंक र फाइनान्स कम्पनीका छन्। यसवाहेक सहकारीहरुले पनि ऋण तिर्न आउन सार्वजनिक आह्वान गरिरहेका छन्। समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा वढी लिलामीको सुचना प्रकाशित गरेका छन्।
व्यवसायीहरुका अनुसार, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई रियलस्टेट कर्जा कम गर्न दवाव दिइरहेका कारण पनि लिलामीका सुचना वढी आउन थालेको हो।
'राष्ट्र बैंकको दवावका करण बैंकहरुले धमाधम सुचना निकालेका हुन्,' नेपाल जग्गा तथा अवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, 'बैंकहरुले पनि  सत् प्रतिशत नोक्सानी व्यवस्था गरेको ऋण उठाउन लिलाममा पठाइरहेको छ।' उनले दवावमा घरजग्गा लिलामीमा लगिएकाले विक्न छाडेको जानकारी दिए।
खासगरी घर तथा जग्गा धितो राखेर कर्जा प्रवाह भएको सम्पति विक्री नभएको हो। पछिल्लो समयमा घरजग्गाको कारोबार घटेकाले लिलामको सम्पति विक्री हुन छाडेको बैंकरको भनाइ छ।
'घरजग्गा ऋणको बारेमा राष्ट्र बैंकले नियमित अनुगमन गरिरहेको छ,' एक बैंकरले भने,'पैसा नउठेको थाहा पाउने वित्तिकै उसले ३५ दिने सुचना निकाल्न लगाइ हाल्छ।' उनका अनुसार, ३५ दिनमा ऋण भुक्तानी नभए कालोसुचीमा राख्न राष्ट्र बैंकबाट सोझै दवाव आउँछ।
बैंकको  सिफारिसमा कालोसुचीमा राख्ने निकाय कर्जा सुचना केन्द्रले पनि पछिल्लो समय राष्ट्र बैंकको दवाव वढी नै खेप्नु परेको छ। …नामै  किटेर त्यो बैंकले नाम पठाउँदैछ तुरुन्तै कालोसुचीमा राख्नु भनेर राष्ट्र बैंकका कर्मचारीहरुले फोन गर्छन्,' केन्द्रका एक कर्मचारीले भने, …त्यही भएर एक मिनेट पनि ढिला नगरी कालोसुचीमा राख्छौं।' उनले पछिल्लो समय चेक वाउन्स भएका व्यवसायीको मुद्दा धेरै आउन थालेको जानकारी दिए।
केही महिनाअिघ बैंक व्याज महँगो भएर व्यवसायीलाई किस्ता तिर्न समस्या भएको थियो। बैंक व्याज सस्तो हुन थालेपछि ग्राहकहरुमा अझै घरजग्गाको मूल्य घट्छ र किन्नु भन्ने मनोविज्ञानमा छन्। यसले गर्दा व्यवसायीले बनाएका घर तथा विकास गरेको जग्गाको कारोबार हुन सकेको छैन।
'छिटपुटवाहेक कारोवार नभएकाले लिलामको सम्पति खरीद–विक्री नभएको हो,' वित्तीय संस्था संघका अध्यक्ष राजेन्द्रमान शाक्यले मंगलबार नागरिकसँग भने, 'सम्पति खरीदका लागि कि आफैसँग पैसा हुनु पर्‍यो कि बैंकले लगाइ दिनु पर्‍यो।' उनले आर्थिक क्रियाकलाप नभएका कारण पनि घरजग्गाको कारोबार हुन नसकेको बताए।
पैसा नउठेको सम्पति दुई पटकसम्म लिलामीमा राख्दा पनि उचित मूल्य नपाएको र माग पनि घटेकाले विक्री हुन नसकेको बैंकरहरुको अनुभव छ। बैंकले कर्जा भुक्तानी गर्न दवाव दिइरहेको अवस्थामा घरजग्गाको मूल्य थप घट्न सक्ने अपेक्षाले पनि सम्पति विक्री हुन नसकेको एक बैंकरले जानकारी दिए।
व्यवसायीका अनुसार, केही समयअघि लिलामको सम्पति खरीदका लागि बैंकहरुले कर्जा उपलब्ध गराउँथे। अहिले बैंकले यस्तो सम्पति किन्न पैसा दिन छाडेका छन्। अहिले बैंकिङ सम्पति  खरीद गर्दा स्रोत देखाउनु पर्ने व्यवस्था थप कडा भएपछि पनि खरिदको चासो घटेको छ।
लिलामको सम्पति खरीद गर्दा औपचारिक रुपमै वाहिर देखिन्छ। अनपेक्षित रुपमा सम्पति खरीद गर्दा पैसा कहाँ र कसरी आयो भनेर देखाउनु पर्ने हुन्छ। 'अहिलेको अवस्थामा पैसा हुनेहरुले जोखिम नलिएको हो,' ती व्यवसायीले भने, 'सवैतिर सुस्तता छाएका बेला लिलामीको  सम्पतिमा पनि त्यसको प्रभाव परेको हो।'
लिलाममा विक्री नभएको सम्पति सम्वन्धित बैंक तथा वित्तीय संस्था आफैले सकार्नु पर्छ। सकारेको सम्पति कम्पनीको वासलातमा गैरबैंकिङ सम्पतिका रुपमा देखिन्छ। बैंक तथा वित्तीय संस्थाले सम्पति आफ्नो नाममा आएपछि आवश्यक ठानेमा विक्री गर्दछ। यस्तो सम्पति आफैले सकारेर वा पुनः विक्रीमा राखेर गैरबैंकिङ सम्पतिबाट हटाउनु पर्छ।

No comments:

Post a Comment

thanks for comment