ओटिसीमा पहिलो पटक कारोबार ९ वर्षपछि नेपाल बैंकको सेयर किनबेच भयो

सुदर्शन सापकोटा
काठमाडौं, असोज २५
नेपाल स्टक एक्सेचेन्ज (नेप्से) मा पहिलो पटक ओभर द काउन्टर (ओटिसी) कारोबार भएको छ। चार वर्षअघि नै ओटिसी कारोबार गर्न पाइने व्यवस्था भएपनि पहिलो पटक बिहीबार नेपाल बैंकको कारोबार भएको हो। नेपाल बैंकको भने ९ वर्षपछि पहिलो पटक सेयरको किनबेच भएको हो।
'पहिलो पटक ओटिसी बजारमा कारोबार भएको छ,' नेप्सेका प्रवक्ता शम्भु पन्तले बिहीबार नागरिकसँग भने, 'नेपाल बैंकका कर्मचारीहरुको सेयर ओटिसीमार्फत कारोबार भएको हो।'
नेप्सेले सुचीकरणबाट हटाएको, विभिन्न कारणले सुचीकरण हुन नसकेको र सुचीकरण प्रकृयामा नआएका पब्लिक लिमिटेड (सार्वजनिक) कम्पनीको सेयर कारोवार गराउनका लागि ओटिसी बजार सुरु गरेको थियो। तर अहिलेसम्म पनि कारोबार हुन सकेको थिएन।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज गरिएको थियो। नेप्सेले विभिन्न चरणमा ४२ कम्पनीको सेयर सुचीकरण खारेज गरेपनि कसैको पनि ओटिसीमा किनबेच भएको थिएन। ओटिसीमा ऋणपत्रको पनि किनबेच गर्न सकिन्छ।
सरकारी स्वामित्वको नेपाल बैंकले २ हजार ६ सय ६४ कर्मचारीका लागि छुट्याइएको ७१ हजार ९ सय २८ कित्ता सेयरको कारोबार भएको हो। प्रति कित्ता एक सय रुपैयाँका दरले कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेले सुचीकरण खारेज गरेको कम्पनीबाट सेयरधनीलाई ६५ करोड ८७ लाख रुपैया“ घाटा लागेको छ। ओटिसी बजारमा कारोवार गर्दा लगानीकर्ताको सेयर नगदमा परिणत हुनसक्छ। तर यसको बारेमा सर्वसाधारणलाई जानकारी नहु“दा उनीहरुको करिव ६६ करोड रुपैया“ कागजमै खुम्चिएको छ।
ओटिसीमा कारोवार गर्नका लागि सेयर दलालको सहयोग पनि लिनु पर्दैन। सोझै नेप्सेमा गएर ओटिसीको कारोवर गर्न सकिन्छ। यसमा २५ हजारसम्मको कारोवार गर्दा २ प्रतिशत, ५० हजारसम्म डेढ प्रतिशत र योभन्दा माथि १ प्रतिशत सेवा सुल्क लाग्छ।
'कर्मचारीको सेयर ओटिसीबाट कारोबार भएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले नागरिकसँग भने, 'अब वाँकी सेयर किनबेचका लागि नेप्सेमा सुचीकरण गर्ने छौं।' उनले असोज मसान्तभित्र सेयर सुचीकरणका लागि आवेदन दिइने जानकारी दिए। नेपाल बैंकले कर्मचारीका लागि ५ प्रतिशत हकप्रद सेयर उपलब्ध गराएको हो।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सुचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि  मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको हो। बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ। यसबाहेक नेपाल बैंकमा वाणिज्य बैंकहरुको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।
'मंसिरमा हकप्रद सेयर बाँडफाँड गर्ने गरी यसै महिना सेयर सूचीकरण गर्ने योजना छ,' श्रेष्ठले भने। धितोपत्र ऐन अनुसार हकप्रद निस्कासन गर्न कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको हुनुपर्छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ।
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन।  वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने । ७५ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ। अघिल्लो वर्षको नाफा ३८ करोड ४० लाख रुपैयाँ थियो। गत वर्ष बैंकको निक्षेप तथा कर्जा र कमिसन आम्दानी उल्लेख्य बढेको छ।
बैंकको निक्षेप ५४ अर्ब पुगेको  छ। ऋण सापटी ३० अर्ब २५ करोड पुगेको छ। निष्त्रि्कय कर्जा अनुपात ५ प्रतिशतको हाराहारीमा छ।
राष्ट्रिय वाणिज्य र नेपाल बैंकको आर्थिक अवस्था बिग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम ल्याइएको थियो। प्राविधिक रुपमा टाँट पल्टिएको बैंक कार्यक्रम आएपछि सुधार हुन थालेको हो। विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले पनि बैंकको ऋणात्मक नेटवर्थमा भने सुधार ल्याउन सकेको थिएन।






No comments:

Post a Comment

thanks for comment