बैंकमा नयाँ नोट छैन

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १
मैतिदेवीका हरिशरण केसी तीन वटा बैंकमा नयाँ नोट साट्न गए, तर कतै पाएनन्। बरु उल्टो बैंकका कर्मचारीबाट सुझाव पाए– 'राष्ट्र बैंकमा जानु भयो भने पाउनु होला।'
बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीका आफन्त र मूख्य ग्राहकलाई राष्ट्र बैंकले छुट्याएको नोट वितरण गरिसकेकाले सर्वसाधारणले नपाएका हुन्। राष्ट्र बैंकले पनि सर्वसाधारणको माग अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिएको छैन।
'राष्ट्र बैंकले हामीलाई मागेजति नयाँ नोट नदिएकाले सर्वसाधारणलाई रित्तो पठाउनु परेको हो,' एक बैंकरले बुधबार नागरिकसँग भने। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकार अनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आकार हेरेर एकचोटी मात्र नयाँ नोट उपलब्ध गराएको छ। ग्राहकको माग अनुसार जति पनि नोट उपलब्ध हुने बताइरहेको राष्ट्र बैंकले थप नोट बैंक तथा वित्तीय संस्थाहरुलाई दिएन। यसले गर्दा नयाँ नोट साट्न बैंक छिरेको सर्वसाधारण  निहाउरो मुख लाएर वाहिर निस्कनु परेको छ।
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाए भने वाँकी संस्थाले योभन्दा कम छन्। उनीहरुले पाएको नोट सर्वसाधारणसम्म नपुग्दै आफन्त र ग्राहकलाई साटेर सकिएको हो।
'अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना नातागोता र मुख्य ग्राहकलाई मात्र हामीले उपलब्ध गराएको नोट वितरण गरे,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले भने, 'सर्वसाधारणले बैंकबाट नोट नपाउने देखिएकाले बैंकहरुलाई थप उपलब्ध नगराएको हो।'
उनले राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिरहेको जानकारी दिए। राष्ट्र बैंकले थपाथलीमा ५ वटा काउन्टरबाट नोट वितरण गरिरहेको छ।
सर्वसाधारणलाई सर्वसुलभ तरिकाबाट नोट उपलब्ध गराइने बताएपनि राष्ट्र बैंकले आफैले सार्वजनिक रुपमा गरेका प्रतिवद्धताहरु पुरा नगर्दा ग्राहकले नयाँ नोट पाएका छैनन्। 'राष्ट्र बैंकले नयाँ नोट दिएको भए हामीलाई साट्नलाई के समस्या हुन्थ्यो र?' एक बैंकरले भने, 'राष्ट्र आफैले जानीजानी नयाँ नोटको अभाव सिर्जना गराइरहेको छ।'
ग्राहकबाट ५, १०, २० र ५० का नोटहरुको माग वढी छ। यसमध्ये पनि २० र ५० का नोटको माग वढी छ। 'खै सजिलै नोट पाइन्छ भन्ने सुनेको त हो,' मैतिदेवीका केसीले भने, 'मै तीन ठाउँ पुगिसकेँ पाएको होइन।'
राष्ट्र बैंकले दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट बजारमा लैजान छुट्याएको जनाएको थियो। नयाँ नोट वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। वितरणपछि चलनचल्तीमा २ सय अर्ब रुपैयाँ बराबरका नोट पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। राष्ट्र बैंकले यो वाहेक १ सय अर्ब बराबरका नोट मौज्दातमा रहेको जनाएको छ।
राष्ट्र बैंकले पर्सि शुक्रबारसम्म नयाँ नोट वितरण गर्ने जनाएको छ।  राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गरिरहेको छ।
तीन वर्षअघि राष्ट्र बैंकले कम नोट निस्कासन गरेका कारणले सर्वसाधारणले अभाव झेल्नु परेको थियो। यसपाली भने बैंकहरुले ग्राहक र सर्वसाधारणमा फरक व्यवहार गरेको र राष्ट्र बैंकले आफूले प्रतिवद्धता गरेजस्तो आवश्यकता अनुसार थप नोट बैंकहरुलाई नदिएकाले सर्वसाधारणले दुःख पाउनु परेको हो।
पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि राष्ट्र बैंकले सर्वसाधारणसँग अनुरोध गरेको छ। सुकिलो नोट प्रयोग गर्ने प्रवृत्ति विकास गरी राष्ट्रको खर्च बचाउन ज्ञवालीले आग्रह गरे।  'जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ,' उनले भने, 'यसले देशको खर्च बढाउँछ।'
पर्वमा पानीले नोट नभिजाउने, रङ नलगाउने र नपट्याई जतन गर्न उनले अनुरोध गरे। नोट नपट्याएमात्र ८ महिना आयु बढ्ने अनुमान छ।
नोटको बन्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ।  'चाडबाडपछि बैंकमा नोट फर्कंदा सफा भए देशलाई नै फाइदा हुनेछ,' ज्ञवालीले भने। हजार र पाँच सयको एक नोट छपाइमा दुई रुपैयाँभन्दा बढी खर्च हुन्छ। 
दसैंले बैंकिङ क्षेत्रबाट सर्वसाधारणका हातमा रकम बढाउनेछ। यसले बैंकिङ क्षेत्रबाट निक्षेप बाहिरिने छ। तर, केही महिनामा बैंकमा फिर्ता हुने भएकाले तरलता अभाव नरहने राष्ट्र बैंकको अनुमान छ।



No comments:

Post a Comment

thanks for comment