बैंकहरुले न्युनतम व्याज दर तोक्नु पर्ने, सर्वसाधारण ग्राहकले बैंकबाट प्रतिस्पर्धि दरमा ऋण पाउने

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २७
व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार व्याज दर (वेस रेट) कार्यान्वयनमा ल्याएको छ। आधार दर कार्यान्वयनमा आएसँगै बैंकहरुले लगानी गर्ने ऋणको न्युनतम व्याज तोक्नु पर्छ।
आधार दर तोकिएपछि सर्वसाधारण ग्राहकले बैंकबाट प्रतिस्पर्धि दरमा  ऋण पाउने छन्,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीलले सोमबार नागरिकसँग भने।
बैंकहरुले न्युनतम व्याज तोकेपनि त्यसैमा लगानी गर्नु पर्छ भन्ने जरुरी भने छैन। तर ग्राहकले न्युनतम दरभन्दा वढी तिर्दिन भनेर बैंकसँग मोलमोलाइ गर्न सक्छन्। न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धि व्याजमा ऋण पाउने छन्।
बैंकहरु आफ्नो सम्पूर्ण लागत घटाएर त्यसमा नाफा जोडेपछि ग्राहकले तिर्नु पर्ने न्युनतम ब्याज तोक्छन्। निर्देशनमा आधार दर कसरी गणना गर्ने भनेर राष्ट्र बैंकले बैंकहरुलाई शुत्र (फर्मुला) समेत उपलब्ध गराएको छ।
व्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न सहज हुन्छ,' उनले भने।
नेपालका लागि आधार व्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागू गरेको हो। बैंकहरुले आगामी पुसबाट आधार दर सार्वजनिक रुपमा प्रकाशित गर्नु पर्ने छ। अघिल्लो महिनाको वित्तीय विवरण  र तथ्यांकका आधारमा यो दर गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले नयाँ लगानी हुने ऋणलाई मात्र नभइ पुराना ऋणहरु पनि आधार व्याज दरको सीमाभित्र रहेर निर्धारण गर्न निर्देशन दिएको छ। …बैंकहरुले कर्जा नवीकरण, पुनरतालिकीकरण र पुनर्संरचना गर्दा समेत आधार दरलाई आधार मानी व्याज दर निर्धारण गर्नु पर्छ,' ज्ञवालीले भने।
राष्ट्र बैंकले आधार व्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत  सम्पति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको  छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शुन्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्युनतम व्याज निकाल्नु पर्छ।
आधार दरमा निक्षेप लागत वा कोष लागत सबैभन्दा महत्वपूर्ण हुन्छ। संस्था संचालन खर्च वापतको लागत, शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, निक्षेप लागतभन्दा कम प्रतिफल प्राप्त हुने गरी बैधानिक तरलता अनुपात कायम गर्दाको लागत र संस्थाका सेयरधनीहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल आधार दरभित्र पारिएको छ।
राष्ट्र बैंकले आधार व्याज दरभन्दा कममा लगानी गर्न नपाइने मस्यौदालाई परिवर्तन गर्दै यसमा छुट दिएको  छ। बैंकरहरुले आधार दरभन्दा कममा पनि लगानी गर्न पाउनु पर्ने माग गरेका थिए। कम ब्याजदरमा कर्जा प्रवाह गर्दा संस्थाको दीर्घकालीन अस्तित्व र समग्र वित्तीय क्षेत्र स्थायित्वमा प्रतिकूल प्रभाव पर्न सक्छ,' राष्ट्र बैंकका प्रवक्ता ज्ञवालीले भने, आधार दरभन्दा कमा कर्जा प्रवाह गर्नु सामान्यतया उपयुक्त मानिँदैन।'
कमर्ज एन्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले आधार दरभन्दा कममा लगानी गर्न पनि पाइने भएकाले वढी पुँजी लागत (कस्ट अफ फन्ड) भएका नयाँ बैंकहरुलाई यसले सहयोग गर्ने जानकारी दिए। 'पुँजी लागत वढी भएका बैंकहरुको आधार दर उच्च आउने थियो। दरभन्दा कममा लगानी गर्न नपाउँदा उनीहरुलाई बजारमा प्रतिस्पर्धा गर्न समस्या हुन्थ्यो,' उनले भने, 'राष्ट्र बैंकले लचकता अपनाउँदा सबैका लागि स्पेस (ठाउँ) मिलेको छ।'
राष्ट्र बैंकले आधार दर गणनामा असल कर्जामा समेत छट्याइने नोक्सानी व्यवस्था वापतको १ प्रतिशत रकमलाई खर्चका रुपमा गणना गरेको छैन। बैंकहरुले यसलाई समेत खर्चका रुपमा राख्नु पर्ने भन्दै दवाव दिँदै आएका थिए। दसैंअघि नै आउनु पर्ने आधार दर बैंकरहरुको दवावका कारण पछि सरेको थियो। बैंकरहरुले असहमति राखेको वुँदा भने राष्ट्र बैंकले नसमेटी आधार दर कार्यान्वयमा ल्याएको छ।
बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आधार व्याज दर सकारात्मक भएको भन्दै यसबाट बैंक तथा ग्राहकलाई फाइदा पुग्ने बताए। …केही सुझावहरु नसमेटिए पनि समग्रमा आधार दर बजार सुहाउँदो आएको छ,' उनले भने, 'वढी आधार दर भएका बैंकहरुलाई यो घटाउन दवाव पुगेर बजार अझ प्रतिस्पर्धि हुने छ।'
राष्ट्र बैंक स्रोतका अनुसार, सरकारी तीन बैंक वाहेक २९ वटा निजी क्षेत्रका बैंकहरुको औषत आधार दर १० प्रतिशतको आधारमा आउँछ। नयाँ बैंकहरुको केही महँगो भएपनि पुराना र ठूला बैंकहरुको अझ कम छ।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिविलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनु पर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर वढी हुने छ।
सस्तो व्याज भएका कारण ग्राहक पुराना बैंकमा गएपनि उनीहरुको माग अनुसार कर्जा दिने क्षमता भने पुरानोमा घट्दै गएको छ। पुँजी पर्याप्तता अनुपात ११ प्रतिशतको हाराहारीमा भएकाले अधिकांस पुराना बैंकले व्याज सस्तो भएकै भरमा ठूलो लगानी गर्ने अवस्था छैन। पुरानाको क्षमता नभएकाले पुँजी पर्याप्तता धेरै भएका नयाँ बैंकहरुलाई लगानीको अवसर मिल्ने छ। उनीहरुलाई आफ्नो लागत घटाउन दवाव पुग्ने छ।

No comments:

Post a Comment

thanks for comment