अन्यौंलताका बीच नेप्से ५ सय नाघ्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ५
राजनीतिक अन्यौंलताका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर ५०१.५१ अंक पुगेको छ। दसैंयता निरन्तर (दुई दिनवाहेक) वढिरहेको परिसुचक मंगलबार ८.७१ अंकले उक्लिएपछि नेप्से परिसुचकले पाँच सय छोएको हो।
यो तीस  महिना यताकै उच्च अंक हो।
सोमबार छठको सार्वजनिक विदा हुनु पूर्व (आइतबार) भएको कारोबारमा परिसुचक ११.९६ अंकले बढेको थियो।
सरकारले बजेट ल्याउने निष्चिततासँगै बैंक तथा वित्तीय संस्थाहरुले असोजमा नाफासहितको त्रैमासिक विवरण सार्वजनिक गरेपछि नेप्से परिसुचक बढेको विश्लेषकहरु बताउँछन्।
नेप्सेमा मंगलबार ९२ कम्पनीको कारोबार भएकोमा ६० कम्पनीको सेयर मूल्य वढेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहयो भने वाँकी २२ वटाको घटेको छ। परिसुचकसँगै कारोबार रकमसमेत वढेको छ। ९२ कम्पनीको सेयर किनबेचबाट १४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजेट आउँछ भन्नेमा लगानीकर्ताको विश्वास छ। यसवाहेक म्युचुअल फन्डको युनिट आउन सुरु भएसँगै सकारात्मक आर्थिक समाचारहरुले पनि बजारलाई वढाउन सघाएको छ,'  नेपाल सेयर व्रोकर एसोसियसनका अध्यक्ष अन्जनराज पौडेले मंगलबार नागरिकसँग भने, 'निक्षेपको ब्याज दर घटेर लगानीकर्ता राम्रो प्रतिफलको आशमा पुनः सेयर बजारमा फर्किनसमेत थालेका छन्।'
वावुराम भट्टराई अर्थमन्त्री हुँदा घट्न थालेको नेप्से परिसुचक एक वर्षअघि तीन सयको हाराहारीमा आएको थियो। भट्टराई प्रधानमन्त्री भएपछि उनले परिसुचक साढे तीन सय पुर्‍याउने घोषणा गरेका थिए। 
सरकारले परिसुचक वढाउन राष्ट्र बैंकमार्फत सेयर खरिद कर्जा सहज बनाएको थियो। बैंकिङ क्षेत्रमा तरलता वढेर ऋणको ब्याज पनि घट्न थाल्यो। टेलिकम, बिमा कम्पनीजस्ता संस्थागत लगानीकर्ताको पैसा बजारमा ल्याउने खालका निर्णयहरु भए। यसपछि राजनीतिक अन्यौंलका बीचमा पनि परिसुचक उकालो लाग्न थालेको हो।
'संस्थागत लगानीकर्ताको पैसा केही समयका लागि बजारमा नै रहने चरित्रको हुन्छ,' पौडेलले भने, 'डेरिभेटिभ बजारका नकारात्मक समाचार सार्वजनिक भएसँगै लगानीकर्ता पुनः सेयर बजारमा फर्किन थालेका छन्।'
अन्य उपसुचकवाहेक सबै समुहका सेयरहरु वढेका छन्। सबैभन्दा वढी जलविद्युत समुह २४.७९ अंकले उकालो लागेको छ। होटल १७.०३ र बैंकिङ १३.५२ अंकले वढेको छ। बिमा समुह ६.३२ अंकले वृद्धि छ। वाँकी विकास बैंक र फाइनान्स समुहको वृद्धि १ अंकभन्दा कम छ।
'बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिक विवरणले बजारलाई सकारात्मक दिशातर्फ लगिरहेको छ,' नबिल इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण अधिकारीले भने, 'सामुहिक लगानी कोषको युनिट निस्कासन भएकाले परिसुचक वढ्न थालेको हो।'
पौडेलका अनुसार, कतिपय कम्पनीहरुको वार्षिक साधारणसभाका कारणले बुक क्लोज भएर मूल्य समायोजन भएर आउँदा पनि लगानीकर्ताले राम्रै मूल्य पाए। 'समग्रमा अहिले लगानीकर्ताको विश्वास वढेको छ,' उनले भने, 'लगानीकर्ताको विश्वासका कारण बजार अझ वढ्ने संकेत बलियो भएको छ।'
नेप्सेमा मंगलबार १ हजार ७९६ वटा कारोबारबाट ४ लाख १६ हजार ९७४ कित्ता सेयर किनबेच भएको छ। मंगलबारको कारोबारबाट कुल बजार पुँजीकरण ४ अर्ब ७४ अर्ब ८८ करोड नाघेको छ।
सबैभन्दा वढी कित्ता सेयर किनबेच नेपाल बंगलादेश (एनबी) बैंक, किष्ट बैंक, जनता बैंक नेपाल, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) र नेपाल इन्भेष्टमेन्ट बैंकको भएको  छ। वढी किनबेच भएको एनबीको दिनभर ६५ हजार ६९५ कित्ता सेयर कारोबार भयो। बढी कारोबार भने नेपाल इन्भेष्टमेन्ट बैंकको ११९ पटक र जनताको ११७ पटक  भएको छ। यसपछि बैंक अफ काठमाण्डू (बिओके), मल्टीप्रपोज फाइनान्स र प्राइम कमर्सियल बैंकको भएको छ।
मंगलबारको कारोबारबाट सबैभन्दा वढी नबिल बैंकका संस्थापक सेयरधनीहरुले कमाएका छन्। नबिलको संस्थापक सेयर प्रति कित्ता ७९ रुपैयाँ बढेर १ हजार ६१ रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकका लगानीकर्ताले ५२ रुपैयाँ, नबिलका साधारण सेयरधनीले प्रति कित्ता ४७ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंककाले ४३ र हिमालयन बैंककाले ४० रुपैयाँ कमाएका छन्।
धेरै गुमाउनेमा मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, कास्की फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ता छन्।






No comments:

Post a Comment

thanks for comment