विदेशमा नेपाली निर्माण कम्पनी

काठमाडौ, कात्तिक २५
विश्वभरीका  कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै नेपालका निर्माण कम्पनीहरुले पनि विदेशमा पूर्वाधार निर्माणका काम गर्न थालेका छन्। अन्तर्राष्ट्रिय स्तरका कम्पनीसँग टेन्डरमा प्रतिस्पर्धामा नेपाली कम्पनी छनौटमा परेर पूर्वाधार क्षेत्रमा काम गर्न सफल भएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले पाँच वटा निर्माण कम्पनीले विदेशको पूर्वाधार निर्माणको काम गरिरहेका छन्। यसवाहेक अन्य कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय टेन्डरमा प्रतिस्पर्धा गरिरहेका छन्।
स्वच्छन्द निर्माण सेवा, कालिका कन्स्ट्रक्सन, चुँदी कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, सूर्य एन्ड सन्स कन्स्ट्रक्सन र महादेव खिम्ति निर्माण कम्पनीले विदेशका पूर्वाधार क्षेत्रको काम गरिरहेका छन्।
स्वच्छन्द निर्माण कम्पनीले विहारको ग्रामिण सडक निर्माणको ठेक्का पाएको छ। यो कम्पनीले ४० करोड भारुको ठेक्का पाएको हो।
'हामीले सडकको ७० प्रतिशत काम सकाइसकेका छौ। अब तीस प्रतिशत मात्रै बनाउन बाँकी छ,' कम्पनीका प्रवन्ध निर्देशक एंव महासंघका अध्यक्ष जयराम लामिछानले शनिबार नागरिकसँग भने, 'हामीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट यो ठेक्का पाएका हौ।' सडकको ग्राभेलिङ, पुल पुलेसा र कालोपत्रेको काम गरिरहेको छ।
उनका अनुसार, सडक निर्माणमा माथिल्लो स्तरका जनशक्ति नेपालकै छन्। तल्लो तहका कामदार भने भारतीयनै हुन्। यो कम्पनीले दुवईमा मेट्रो रेलको 'सब कन्टयाक्टर'को रुपमा समेत काम गरिसकेको छ। जापानी कम्पनीले बनाएको मेट्रो रेलमा स्वच्छन्दले 'सब कन्ट्याक्टर'को काम पाएको हो।
कालिका कन्स्ट्रक्सन र  चुँदी कन्स्ट्रक्सनले भुटानको सडक र पुल बनाइरहेका छन्। कालिकाले भुटानको २५ किलोमिटरको सडक निर्माण गरिरहेको छ।
'हामीले पचास करोडको सडक निर्माणको ठेक्का पाएका छौ। एक वर्षअघि सडक निर्माणको ठेक्का पाएका हौ,' कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले भने, …ट्रयाक खोल्नेदेखि कालोपत्रे गर्ने सबै काम ठेक्कामा छ।' यो कम्पनीले भुटानमै पुल निर्माणको ठेक्का पाएको छ। यो कम्पनीले भुटान वाहेक अमेरिकामा समेत पूर्वाधारको पुर्ननिर्माणको काम गरिरहेका छ।
'हामीले कालिकाकै सिस्टर कम्पनी खडा गरेर सडकको मर्मतको काम गरिरहेका छौ,' उनले भने,'विदेशमा राम्रो काम गर्न सफल भएका छौ।' सूर्य एन्ड सन्स कन्स्ट्रक्सन र महादेव खिम्ती निर्माण सेवाले कोसीको बाढीले विगारेको क्षेत्रमा पूर्वाधार निर्माणको काम गरिरहेका छन्।
'यी दुई कम्पनीले कोशीले विगारेका क्षेत्रको पूर्वाधार निर्माणको काम गरिरहेका छन्,' अध्यक्ष लामिछानेले भने। विदेशमा पूर्वाधार निर्माणको काम गर्दा नेपाली कम्पनीलाई ठूलो समस्या भोग्नुपरेको छैन। तर नेपालको कानुनले विदेशमा लगानी गर्न नपाउने भएकोले पुँजी अभाव भने भोग्नुपरेको छ।
'विदेशमा हामीले पूर्वाधार निर्माणमा धेरै गर्न सक्छौ। तर नेपालको कानुनले विदेशमा पैसा लैजान नपाउने भएकोले पुँजीको अभाव छ,' उनले भने, 'सरकारले केही सहुलियत दिए विदेशी मुद्रा आर्जन गर्नसक्ने राम्रो क्षेत्र हुनसक्छ।' उनका अनुसार विदेशमा पूर्वाधार निर्माणको काम गर्न ठूलो उपकरणहरु किन्नुपर्छ। तर त्यसका लागि ठूलो पुँजी आवश्यक पर्छ।
'विकसित मुलुकले आफ्ना निर्माण कम्पनीलाई विदेशमा काम गर्न जाँदा ठूलो उपकरण किन्न रकम दिने गर्छ। निश्चित समयमा त्यो रकम फिर्ता गर्न पाउने सुविधा हुन्छ,' लामिछानेले भने, 'तर हामीकहाँ आफ्नै प्रयासले पाएको ठेक्काको काम गर्न पनि रकम लैजान नपाएर अभाव भोग्नुपर्छ।' स्वदेशी निर्माण कम्पनीलाई सहुलियत दिएमा खाडी मुलुकमा नेपाली कम्पनी स्थापित हुने र त्यहाँ रहेका नेपालीले समेत राम्रो तलब सुविधा पाउने उनको दावी छ।
'खाडी मुलुकमा गएका ३६ लाख नेपालीमध्ये २७ लाख निर्माणमा छन्। तर त्यहाँका निर्माण कम्पनीमा भारतीय र पाकिस्तानको बर्चस्व छ,' उनले भने, …यसले गर्दा नेपालीलेहरु राम्रो तलब सुविधा पाउन सकेका छैनन्। यदी हामीलाई सहजता प्रदान गर्ने हो भने नेपाली कम्पनीले खाडी मुलुकमा काम गर्न थाल्ने र नेपालीको तलब सुविधा पनि बढ्छ।' कार्यकारी निर्देशक पाण्डे पनि सरकारले नेपाली कम्पनीलाई विदेशमा काम गर्ने वातावरण बनाइदिए विदेशी मुद्रा ल्याउने बलियो माध्यम बन्नसक्ने दावी गर्छन्।
'विदेशको पूर्वाधार क्षेत्रमा काम गर्नसक्ने क्षमता हामीसँग छ। हामीले विदेशमा सफल रुपमा काम समेत गरिसकेका छौ,' उनले भने।

No comments:

Post a Comment

thanks for comment