तीन महिनामा निक्षेप तीन अर्ब बढ्यो

काठमाडौं, असोज २९
दसैं नजिकिएपछि विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) को वृद्धि दर वढेपछि निक्षेप ३ अर्बले बढेको छ। नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप वढ्न सकेको थिएन। गत साता निक्षेप एक अर्बले घटेको थियो।
असार मसान्तमा ८ सय ६२ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर ८ सय ६५ अर्ब पुगेको हो। 'रेमिट्यान्समा सुधार आएकाले निक्षेप वढेको हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'डलरको मूल्य फेरी बढ्न थालेकाले पनि डलर खातामा रहेको निक्षेपको पनि मूल्यांकनसमेत बढेको हुनसक्छ।'
सरकारी बजेट खर्च नभएको र रेमिटेन्स आउन पनि कम भएका कारण चालु वर्षभरी निक्षेप वढ्न सकेको थिएन। निक्षेप वढ्न नसकेपछि बैंकहरुको अन्तर बैंक कारोबारसमेत वढेको थियो। लामो समयदेखि अन्तर बैंक कारोबार सुस्ताइरहेका बेला गत साता साढे ६ गुणा वढीले कारोबार हुन थालेको थियो।
नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुले ऋण लगानी २० अर्ब रुपैयाँ गरेका छन्। असार मसान्तमा ऋण लगानी ६ सय १८ अर्ब रुपैयाँ भएकोमा बढेर ६ सय ३८ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरुको तरलताको प्रमुख स्रोत सरकारी खर्च र रेमिटेन्स हो। बजेट नआएको र रेमिटेन्स वृद्धि दर कम हुनुले तरलता अभाव फेरि बल्भि्कने संकेत देखा परेको थियो। 'दसैंतिहारका कारण रेमिट्यान्स बढेर निक्षेपमा सुधार देखिएको हो,' एक बैंकरले भने, 'दसैंतिहारपछि रेमिट्यान्सको वृद्धि दर घट्छ। बजेट पनि नआएकाले तरलता अभावमा दवाव पर्ने छ।'
अर्थ मन्त्रालयका अनुसार राजस्व मात्र उठेको तर खर्च नभएका कारण सरकार अहिले २५ अर्ब रुपैयाँ बचतमा छ।
तरलता सहज भएकै कारण बैंकहरुले निक्षेप र ऋणको ब्याज घटाउन प्रतिस्पर्धा गरिरहेका छन्। पूर्ण बजेट आउन ढिलाइ भए बैंकहरुको तरलता घट्न थाल्ने छ। 'ऋण लगानी विस्तारै बढ्न थालेको छ। तर त्यो अनुपातमा निक्षेप वढेको छैन,' ती बैंकरले भने, 'चाड सकिएपछि लगानी अझ वढ्न थाल्छ। त्यस बेला तरलता अभाव हुनेछ।'
अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकहरुको निक्षेप वृद्धि दर ३.७४ प्रतिशतबाट घटेर ०.८७ प्रतिशतमा झरेको थियो। त्यस बेला दसैंमा नोट अभावबाट सुरु भएको अभावलाई समयमा बजेट नआएपछि निरन्तरता दियो।
घरजग्गा ऋणमा सीमा कारण आर्थिक गतिविधि रोकिएपछि बैंकहरु तरलता अभावमा परे। अहिले पनि बजेटसँगै घरजग्गाको कारोबार सुधार आउन सकेको छैन। अर्थतन्त्रमा अन्य गतिविधिहरु पनि भइरहेका छैनन्।
तरलता अभाव हुन थालेपछि बैंकहरुले बजारबाट निक्षेप उठाउन महँगो ब्याज तिर्नुपर्छ। यसले बैंकको लागत बढ्छ र उनीहरु ग्राहकलाई दिने ऋणको ब्याज पनि बढाउँछन्। ऋणको ब्याज बढी भएपछि बैंकबाट पैसा लिएर लगानी गर्ने कम हुन्छन्। जसले आर्थिक गतिविधि अझ सुस्त गराउँछ।
अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकको ब्याज माथि पुगेको थियो। अहिले सुधार हुँदा पनि ब्याज स्वभाविक अंकमा झरिसकेको छैन। बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म र ऋणमा १७ प्रतिशतसम्म ब्याज तोकेका थिए। अहिले सुधार भएर निक्षेपको ब्याज सात प्रतिशतभन्दा कम र ऋणको १३ प्रतिशतको हाराहारीमा आएको छ।

No comments:

Post a Comment

thanks for comment