निक्षेपको ब्याज बढीमा सात प्रतिशत, पुराना बैंकले २/३ भन्दा दिँदैनन्


काठमाडौं, कात्तिक १५
केही समयअघि १२ प्रतिशतसम्म ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले तरलता वढी हुन थालेपछि घटाएर अधिकतम सात प्रतिशतमा झारेका छन्। पुराना र ठूला बैंकले ४ प्रतिशतभन्दा वढी दिन छाडेका छन्।
'तरलता वढी भएर निक्षेपको ब्याज निकै घटिसकेको छ,' कमर्ज एन्ड ट्रष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, …समयमा बजेट आएमा ब्याज दर थप प्रभावित हुने छ।'
बचत खाताको ब्याज भने अझ घटेको छ। अधिकांस बैंकहरुले बचतको ब्याज न्यूनतम २ प्रतिशतमा झारेका हुन्। बैंकहरुले बचत खाताको ब्याज अहिलेसम्म पाँच प्रतिशत बिन्दुले घटाइसकेका छन्। मुद्दति निक्षेपको ब्याज पनि ५ प्रतिशत बिन्दुको हाराहारीमा घटिसकेको हो।
बचतको ब्याज घट्दा बैंकमा पैसा राखेर आम्दानी गर्नेहरुलाई घाटा हुन्छ। ऋण लगानी नहुने तर निक्षेपमात्र बढ्दा बैंकहरुलाई ब्याज खर्च महँगो पर्न थालेपछि बैंकहरुले धमाधम ब्याज घटाउन थालेका हुन्। महँगो दरको निक्षेप बढाउँदै लगेमा बैंकहरुलाई आर्थिक रुपमा धान्न गाह्रो पर्छ।
सरकारी स्वामत्विका बैंकसहित निजी क्षेत्रका बैंकहरुले ब्याज घटाएका हुन्। सबैभन्दा वढी ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले घटाएको हो। बैंकले बचत खाताको ब्याज न्यूनतम २ प्रतिशत र अधिकतम ३ प्रतिशतमा झारेको छ। एक वर्षे मुद्दति निक्षेपमा पनि बैंकले ३.५ प्रतिशतमात्र ब्याज दिने घोषणा गरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको न्यूनतम ब्याज २.२५ प्रतिशत तोकेको छ। बैंकले विशेष बचत खातामा ४ प्रतिशतसम्म दिने घोषणा गरेको छ। एक वर्षे मुद्दतिको ब्याज साढे पाँच प्रतिशत तोकेको छ।
नेपाल बैंकले पनि न्यूनतम ३ र अधिकतम ५ प्रतिशत बचतको ब्याज दर कायम गरेको छ। एक वर्षे मुद्दतिको ब्याज साढे ६ प्रतिशत दिने घोषणा गरेको छ।
अहिले बैंकहरुसँग ६० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता पर्याप्त हुने तर लगानी नहुने हुँदा बैंकले व्याज घटाएका हुन्। निक्षेपको ब्याज घटेका कारण बैंकहरुको पुँजी लागत समेत कम हुन थालेको छ।
११ प्रतिशतसम्म पुगेको बचतको ब्याज बढीमा ६ प्रतिशत मात्र छ। जुनसुकै बेला पैसा झिक्न मिल्ने यो खाता सर्वसाधारणले बढी खोल्छन्। बैंकहरुलाई पनि बचत खाताको भर बढी हुन्छ। थोरै ब्याज दिए पुग्ने यस्तो खाता बैंकसँग धेरै हुन्छन्।
भारतीय संयुक्त लगानीको एभरेस्ट बैंकले बचतको ब्याज ३ देखि ५ प्रतिशत कायम गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकले पनि बचतको ब्याज ३ देखि ५ प्रतिशतमा झारेको छ। इन्भेस्टमेन्ट बैंकले एक वर्षे मुद्दतिमा साढे पाँच प्रतिशत ब्याज दिने जनाएको छ। तर हिमालयनले भने मुद्दतिको ब्याज सात प्रतिशत राखेको छ।
एनआइसी बैंकको बचतको ब्याज दर ३.५ देखि ५.५ प्रतिशत र एक वर्षे मुद्दतिको ब्याज ७.५ प्रतिशत तोकेको छ। बैंक अफ काठमाण्डूले पनि बचतमा न्यूनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने छ। बैंकले एक वर्षे मुद्दतिको ब्याज ७ प्रतिशत तोकेको छ। नेपाल एसबिआईले बचतको न्यूनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ। बैंकले एक वर्षे मुद्दतिमा ६ प्रतिशत ब्याज दिने छ।
अघिल्लो वर्ष बैंकहरुमा निक्षेप संकलन नहुँदा चरम तरलता (लगानी योग्य पुँजी) अभाव भएको थियो। निक्षेप आकर्षित गर्न उनीहरुले ब्याज बढाएका थिए। अहिले निक्षेप बढेको अनुपातमा ऋण लगानी नभएकाले बैंकहरुले ग्राहकलाई दिने ब्याज घटाएका हुन्।
डलरको मूल्य बढेर विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था एक सय अर्ब रुपैयाँभन्दा वढीले बचतमा रहेको र बचत खाता खोल्दा स्रोत देखाउनुपर्ने व्यवस्थामा खुकुलो नीति लिएपछि बैंकहरुमा निक्षेप वृद्धि हुन थालेको हो। 

No comments:

Post a Comment

thanks for comment