मिलोमतोमा 'प्राइम' सम्पति आफै सकार्छन् बैंकर

काठमाडौं, कात्तिक २२
घरजग्गाको ऋण तिर्न नसकेको मौका छोप्दै बैंक तथा वित्तिय संस्थाका उच्च पदाधिकारीहरुले लिलामी चढाएर करोडौंको सम्पति आधाभन्दा कम मूल्यमा आफ्नो परिवारिक सदस्यका नामबाट सकार्न थालेका छन्।
ग्राहकले ऋण लिँदा धितो राखेको 'प्राइम' ठाउँको जग्गालाई ऋण तीर्न तीन महिना ढिला हुने वित्तिकै लिलामीमा चढाएर आफ्नै नातागोता र 'कर्पोरेट' स्वार्थ भएकाहरुमार्फत सकार्न थालेका हुन्।
'बैंकमा राम्रो ठाउँमा रहेको जग्गालाई लिलामीमा चढाएर कौडीको मूल्यमा लिने समूहनै छ,' नेपाल आवास तथा जग्गा विकास समितिका महासचिव मीनमान श्रेष्ठले बुधवार नागरिकसँग भने,'पछिल्लो समय यस्ता समूहहरु मौलन थालेका कारण घरजग्गा व्यवसायी थप संकटमा परेका छन्।'
घरजग्गा व्यवसायीका अनुसार, राम्रो ठाउँको जग्गा कौडीको मूल्यमा किन्ने समूहले बैंकका उच्च अधिकारीलाई लिलामीमा चढाउन प्रलोभन दिन्छन्।  बैंकरहरु आफ्नो नाफा राम्रो देखाउन अलिकति समस्यामा आएको ऋणलाई तुरुन्त लिलामीमा राखेर प्राइम ठाउँको घरजग्गा यस्ता गिरोहहरुलाई सुम्पन्छन्।
'घरजग्गाको कारोबार राम्रो भएको बेला बैकका कार्यकारी प्रमुखहरु आफै ऋण चाहिन्छ भनेर सोध्न आउँथे। उनीहरुको भित्री ईच्छा राम्रो जग्गा कसरी आफ्नो पार्ने भन्ने हुन्थ्यो,' घरजग्गा कारोवारी संस्था श्रीयन्त्र–ई प्रालिका सञ्चालक राम पाण्डेले भने, 'तर अहिले उनीहरु त्यही जग्गा लिलामीमा चढाउने हतारमा देखिन्छन्।'
बैंकमा धितोमा रहेको जग्गा सस्तो पर्ने भएकोले केही बैक तथा वित्तिय संस्थाका अधिकारीहरु लिलामीमा चढाएर सकार्ने धन्दामा लागेका छन्। बैंकहरुले ऋण दिनुअघि ग्राहकको धितो (घरजग्गा) मूल्यांकन गर्छ। मूल्यांकन गरेको मूल्यको ५० प्रतिशतसम्म ऋण दिन्छ। उदाहरणका लागि एक करोड मूल्य पर्ने जग्गा धितो राखेर ५० लाख रुपैयाँसम्म ऋण दिइन्छ। बैंकहरुले आफैले एक करोड मूल्यांकन गरेको जग्गा ५० लाखमा लिलामीमा चढाउँछन्। यसबाट बैंकको पैसा पनि उठ्छ र प्राइम ठाउँको घरजग्गा आफ्नै 'सर्कल' का मानिसले आधा मूल्यमा पाउँछन्।
पछिल्लो समय बैंकहरुले लिलामीमा चढाएका घरजग्गा विक्न छाडेका छन्। तर प्राइम ठाउँको घरजग्गा भने  तुरुन्त लिलाम विक्री हुने गरेको छ। 'सामान्य स्तरको सस्तो घरजग्गा पनि लिलाममा नबिक्ने तर तुलनात्मक रुपमा महँगो भएपनि प्राइम सम्पति विक्ने कसरी हुन्छ?' पाण्डेले भने।
घरजग्गामा बैंक तथा वित्तीय संस्थाको १ सय अर्ब लगानी छ। घरजग्गा कारोबार नहुँदा व्यवसायीले व्याज घटेपनि ऋण तिर्न सकिरहेका छैनन्। व्यवसायीले ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको हरहिसाव विग्रिन थालेको छ। नाफा घट्न नदिन बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुले मिलेमतोमा आफू आफू राम्रा र आकर्षक सम्पति सकार्न थालेका हुन्।
बैंकहरुले तीन महिना ऋणको किस्ता तिर्न ढिलाइ हुने वित्तिकै लिलामीको सुचना निकाल्न थालेका छन्। पहिले ऋणीले कुनैपनि किसिमबाट पैसा तिर्न नसक्ने भएपछि मात्र  ३५ दिने सुचना निकालिन्थ्यो। …तीन महिनाको १५/२० लाख रुपैयाँ ब्याज तिर्न ढिलाइ हुने वित्तिकै किन लिलाममा निकालिन्छ,' श्रेष्ठले भने, 'सस्तोमा राम्रो घरजग्गा लिन पाइने भएपछि हतार हतार लिलाममा राखिने गरेको पाइएको छ।'
पाण्डेका अनुसार, एउटा बैंकले ३५ दिने निकाल्ने वित्तिकै अन्य बैंक तथा वित्तीय संस्थाले पनि एकैचोटी त्यो ग्राहकलाई खेद्ने गरेका छन्। 'एक वर्ष अघिसम्म ऋण तिर्न ढिलाइ भए बैंकरले हामीलाई समस्या हुन्छ। तत्काललाई व्याज तिर्न अरु केही धितो राखेर थप ऋण लैजाउ भन्थे,' उनले भने, 'अहिले ३० दिन ढिलो हुने वित्तिकै सल्लाह नै नगरी पत्रिकामा सुचना निकालिन्छ।' 
व्यवसायीका अनुसार, कालोसुचीमा राख्ने धम्कीका कारण बैंकले कौडीको मूलयमा लिलामी राखेपनि  चुप लागेर वस्नु परेको छ। 'भलो चाहने बैंकहरुले भने ग्राहक आफैलाई विक्री गर्न लगाउँछन्,' पाण्डेले भने, 'यसो गर्दा बैंकको ऋण पनि उठ्छ र ग्रहकलाई पनि आर्थिक रुपमा खासै घाटा हुँदैन।'
बैंकरहरु भने नियम अनुसार नै लिलामीको सुचना निकालीको बताउँछन्। …केही बैंक तथ वित्तीय संस्थाहरुबाट प्राइम ठाउँको सम्पति हडप्न लिलामी चाँडो निकालिएका छन्,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'तर लिलाम सकारेको ३५ दिनसम्म पनि त्यो सम्पति उकास्ने अधिकार ऋणीमा हुने भएकाले सबै बैंकले यस्तो काम गर्दैनन्।'
उनका अनुसार, कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्चालक एउटै व्यक्ति भएको संस्था तथा एकै घर परिवारका सञ्चालकहरु धेरै भएको संस्थाबाट यस्तो काम हुने गरेको छ। विगतमा घरजग्गामा वढी लगानी भएको भनेर चिनिएका बैंकहरु र विकास बैंक तथा वित्तीय संस्थाका प्रवर्द्धकहरुबाट मिलेमतोमा प्राइम सम्पति सकार्ने काम भएको व्यवसायीहरु बताउँछन्।
'बैंक तथा वित्तिय संस्थाले ग्राहकलाई संकटबाट निकास पाउने गरी सल्लाह र सुझाव दिनुपर्नेमा अहिले व्यवसायीलाई कालोसूचीमा पारेर जग्गा सकार्नेमा ध्यान दिन थालेको गुनासोहरु बढ्न थालेको छ,' ती बैंकरले भने। केही समयअघि फाइनान्स कम्पनी संघको वैठकमा पनि बैंकका पधादीकारीहरु मिलेर प्राइम घरजग्गा सकार्न थालेको बारेमा छलफल भएको एक सदस्यल जानकारी दिए।

No comments:

Post a Comment

thanks for comment