ब्याज घटेपछि आवासिय घरजग्गाको ऋण वढ्यो

सुदर्शन साकोटा
काठमाडौं, फागुन १३
वाणिज्य बैंकहरुले व्यक्तिगत आवास र आम्दानी गराउने व्यवसायिक कम्प्लेक्सको ऋण लगानी विस्तार गरेका छन्। प्लटिङ तथा हाउजिङ अपार्टमेन्ट तफको ऋण लगानी भने घटेको छ।
राष्ट्र बैंकले रियलस्टेट कर्जा लगानीमा कडाइ गरेसँगै तीन वर्षयता मन्दी छाएको यो क्षेत्रमा विस्तारै व्यक्तिगत आवासलगायतका कारोबार वढ्न थालेको हो। बैंकहरुका अनुसार, एक वर्षमा एक करोड रुपैयाँभन्दा कमका आवासीय कर्जा २० प्रतिशतले वढेको छ।
बैंकहरुको तरलता (लगानी योग्य पुँजी) वढेपछि ब्याज दर घटाएका कारणले पनि आवासीय कर्जाको माग वढि भएको हो। व्याज दरमा आएको कमीका कारण लामो समय मन्दी छाएको रियलस्टेट कारोबारमा क्रमिक सुधार देखिएको छ।

गभर्नर खतिवडा भन्छन्– बैंकहरुले अचाक्ली गरे भने केन्द्रीय बैंक हेरेर वस्दैन

युवराज खतिवडा
गभर्नर
नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकले नेपाली पुँजी विदेशमा लगानी गर्ने वातावरण बनाउन अध्ययन थालेको छ। सबै खाले पुँजी बाहिरिनलाई सहजीकरण गर्न नलागेको गभर्नर युवराज खतिवडा बताउँछन्। वैधानिक ढंगले,  संस्थागत हिसाबले जाने पुँजीको कुरा राष्ट्र बैंकले गरिरहेको जानकारी उनले दिए। बाहिर गएको पुँजीबाट नाफा कमाउने, सुरुको पुँजी फर्किन सक्ने हिसाबले केही गर्न सकिन्छ भन्नेमा अध्ययन केन्द्रित रहेको उनको दाबी छ। तापनि नेपाल पुँजी कम भएको र विदेशी पुँजी परिचालन गर्नु पर्ने मुलुक भएकाले प्राथमिकता पुँजी भिœयाउने नै हुनुपर्ने उनको तर्क छ। आर्थिक वृद्धि, मौद्रीक नीति, आन्तरिक तथा बाह्य पुँजी परिचालन, बैंकिङ प्रणालीलगायतका विषयमा गभर्नर खतिवडासँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानी :

एकातिर आर्थिक वृद्धि घट्दै गएको छ। अर्कोतिर मूल्य वृद्धि नियन्त्रण बाहिर जाँदैछ। यस्तो विरोधाभाषलाई कसरी तालमेल मिलाउने?

हामीलाई वृद्धि चाहिएको छ। यसका लागि पुँजी पहिलो सर्त हो। पुँजीको कुरा गर्दा हाम्रो मूलुकमा स्वपुँजीको कमी र ऋण बढी लिने प्रचलन छ। आफ्नो बचत गर्न सक्ने स्वदेशी उद्यमीहरु कमै छन्। पुँजीको स्रोत वित्तीय प्रणाली हो। वित्तीय प्रणालीले पुँजी नदिउन्जेलसम्म उत्पादन बढ्दैन। पुँजी बढी (कर्जा) भयो भने यसले मौद्रिक असर गर्छ र मूल्यलाई प्रभावित गर्छ। पुँजी उत्पादक भएन भने पनि मूल्य वृद्धिलाई प्रभावित गर्छ। कर्जा उत्पादक भयो भने यसले छिटै आपुर्तिलाई 'रेस्पोन्स' गर्छ। जसले उत्पादनलाई बढाइ दिन्छ र मूल्यलाई कम गर्दिन्छ।
त्यसैले हामीले मध्यम कालमा वृद्धि र मूल्य वृद्धिलाई तालमेल बनाइ राख्न कृषिलाई अगाडि सारेका हौं। कृषि, कृषि उद्यम र कृषि सम्बद्ध व्यवसाय आपूर्ति वढाउन सहयोगी हुन्छ। पूर्वाधार क्षेत्रमा अहिले गरेको लगानीले
युवराज खतिवडा
गभर्नर
नेपाल राष्ट्र बैंक
भोलि नै मूल्य कम  गर्दैन। बरु यसले मूल्य बढाउँछ।
उत्पादन बढाउनका लागि धेरै समय नलगाउने नभएकाले  हामीले कृषिको कुरा गरेका हौं। उत्पादन (वृद्धि) र मूल्यका बीच तालमेल गर्ने गरी मौद्रिक र क्रेडिट नीतिमा हामी अलि बढी सचेत छौं। बेलाबेलामा कुरा पनि आउँछ राष्ट्र बैंक अलिकति निर्देशित भयो भनेर। बजारलाई कहिले काँही हामीले संकेत पनि गर्नु पर्छ। घरजग्गा व्यवसाय पनि बजार केन्द्रित नै हो। घरजग्गाको मूल्य वृद्धि न्यायोचित र स्वभाविक थिएन। बजारले आवेगमा पनि निर्णय गर्न सक्छ। बजार ठिकसँग चल्दासम्म चलाउन हुँदैन। बजारले बाटो विराउन थाल्यो भने संकेत गर्नु पर्छ। त्यो क्रममा हाम्रो क्रेडिट पोलिसीलाई हामीले फाइनट्युन गरेर लैजानु पर्छ। जसबाट वृद्धि र मूल्यबीच तालमेल मिलाउन सकिन्छ।

आन्तरिक स्रोतबाट विकास गर्नु पर्छ भनेर दह्रो रुपमा आएको छ। अनौपचारिक क्षेत्रले पनि ठूलो हिस्सा ओगटेको छ। के आन्तरिक स्रोतबाट विकास अगाडि बढाउन सकिन्छ?
पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई आफ्नै पुँजीले पुग्न सक्छ। यो वृद्धि पनि श्रम क्षेत्रबाट मात्र हुन्छ। कृषि, साना उद्यम व्यवसायबाट सकिन्छ। पूर्वाधार क्षेत्रको कुरा गर्ने हो भने हाम्रो अहिलेको बचतले ६ सय मेगावाट विजुली उत्पादन गर्न सकिन्छ। ठूलो पूर्वाधार क्षेत्रमा जाने, एक खर्बको प्रोजेक्टको कुरा गर्ने हो भने यति त हाम्रो बचत मात्र छ। हामीले सक्ने भनेको एउटा मध्यम खालको जलविद्युत मात्र हो। तर, के विकास भनेको यति मात्र हो? पक्कै होइन।  त्यसैले यो कुरामा हामीले भ्रम पाल्नै हुँदैन। दीर्घकालमा विकासलाई डोर्‍याउने पूर्वाधार क्षेत्र नै हो। हामीले दीगो विकास गर्ने भो भने पूर्वाधारमा लगानी गर्नु पर्छ। यसका लागि हाम्रो पुँजी पर्याप्त छैन। अंकमा हिसाब गर्नलाई कमीकमजोरी रहँदा भावनात्मक कुराहरु आउँछ। दोहोरो आर्थिक वृद्धिको कुरा गर्ने हो भने विदेशी पुँजी प्रविधि नभइ हुदैन।
त्यसो भए आन्तरिक पुँजीबाट सकिन्छ भन्ने कुरा किन आइरहेको छ?
मलाई लाग्छ आर्थिक हिसाबहरु, सूचकहरु हामीले बुझाउन नसकेर होला। अझ बढी तथ्य तथ्यांकहरु बुझाउन सक्नु पर्छ। एक मेगावाट बिजुली निकाल्न कति पैसा लाग्दो रैछ भन्ने कुरा बुझाउनु पर्छ। जतिसक्दो श्रम नै प्रयोग गर्छु भनेर भन्दा पनि टर्बाइन त आफै वनाउन सकिन्न नि। प्रविधि त चाहिन्छ। निर्माण सामाग्री किन्नै पर्छ।
राजनीतिबाट अलग राखेर आर्थिक विकास गर्न सकिन्छ भन्ने पनि छन्। अर्कोतिर राजनीतिसँग आर्थिक जोडिने भएकाले अर्थव्यवस्था अलग रहन सक्दैन भन्ने पनि छन्। यी तर्कमा कुन सत्यको नजिक छन्?
राजनीतिले अर्थतन्त्रलाई प्रभाव पार्छ। संस्थागत संरचनाहरु तयार भइसकेको मुलुकमा राजनीतिक अस्थिरताले अर्थव्यवस्थालाई खासै प्रभाव पार्दैन। हामी कहाँ राजनीति अस्थिर हुँदा संसद नचल्ने। संसद नचल्दा आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम नबन्ने। कार्यान्वयन नहुने हुन्छ। यसले गर्दा लगानीको विश्वास बन्दैन। औद्योगिक वातावरणमा यसको सोझो असर देखिन्छ।
 कृषि अनौपचारिक आर्थिक क्रियाकलाप हो। राजनीतिक अस्थिरता भयो भन्दैमा खेत बाँझो हत्तपत्त हुँदैन। सेवा क्षेत्रका पनि कतिपय कुराहरु प्रभावित हुँदैन। तर, उद्योग  प्रभावित हुन्छ। उद्योग भनेको उत्पादन मात्र होइन, निर्माण, पानी बिजुली लगायत सबै हो। मेलम्ची खानेपानी नै यसको उदाहरण हो। अथवा हाम्रा जलविद्युत् आयोजनाहरु नै सोझै राजनीतिको प्रभावमा परेका छन्। यसो हुँदा बृहत औद्योगिक क्षेत्र मात्र प्रभावित हुँदा पनि करिब १७ देखि २० प्रतिशत योगदान दिने क्षेत्र छाँयामा पर्छ। सेवाका कतिपय क्षेत्रहरु जस्तो यातायात क्षेत्र। राज्यको, गैरसरकारी संस्थाहरुको, सामुदायिक संस्थानका गतिविधिहरु राजनीतिबाट प्रभावित हुन्छ। कुनै न कुनै रुपमा उनीहरु पनि राजनीतिकै वरपर घुमिरहेका हुन्छन्। त्यसैले हाम्रो जस्तो मूलुकमा राजनीतिबाट अलग रहेर अर्थतन्त्र चल्न सक्दैन।
युवराज खतिवडा
गभर्नर
नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकले नेपाली पुँजी विदेशमा लगानी गर्ने वातावरण बनाउन अध्ययन थालेको कुरा आइरहेको छ। यसको माग पनि बढेको छ। के हुँदै छ?
हामीले सबै खालको पुँजीलाई सहजीकरण गर्न लागेको होइन। एकदमै वैधानिक ढंगले,  संस्थागत हिसाबले जाने पुँजीको कुरा गरेको हो। बाहिर गएको पुँजीबाट मुलुकमा त्यसको नाफा, सुरुको पुँजी फर्किन सक्ने हिसाबले केही गर्न सकिन्छ कि भन्ने सन्दर्भमा अध्ययनहरु गरिरहेका छौं।
अहिले कतिपय विदेशी संस्थाहरुले यहाँ लगानी गरेबापत प्राप्त वार्षिक अर्बौ प्रतिफल लगिरहेका छन्। हाम्रा पनि कम्पनीले विदेशमा काम गरेर लाभांश ल्याउने अवस्था बन्यो भने त राम्रै हो नि।
नेपालमा लगानीको खाँचो छ, यही लगानी गरे हुन्छ नि भन्ने पनि छ, त्यस्तो हुँदैन। कसैको विशेषज्ञता विद्युत, सडक वा मदिरामा हुन सक्छ। यही लगानी गरेर बजार नहुन सक्छ। निर्यात महँगो पर्न सक्छ। त्यस्तो संस्था जसले आफ्नो विशेषज्ञताका हिसाबले विदेशमा लगानी गर्न सक्छ र सुरु पुँजी र प्रतिफल सबै ल्याउने वातावरण बन्छ भने त्यस्तो स्थितिमा हामीले पनि नीतिगत हिसाबले सोच्दै जानु पर्छ। अप्राकृतिक र अवैध हिसाबले पुँजी लैजानलाई सहज बनाउन हुँदैन। अहिले नेपाल पुँजी कम भएको र विदेशी पुँजी परिचालन गर्नु पर्ने मुलुक भएकाले हाम्रो प्राथमिकता भनेको पुँजी ल्याउने नै हो।
भर्खरै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सकियो। बैंकर तथा व्यवसायीले घरजग्गा बारेमा केही अपेक्षा गरेका थिए। केही सम्बोधन भएन नि?
यो आर्थिक वर्षमा हामीले जे कुरा सम्बोधन गर्न सक्दैनौं त्यसलाई हामीले उल्लेख गर्नु हुँदैन। सम्पति व्यवस्थापन कम्पनी अथवा बैंकहरुको सम्पति राफसाफ गर्ने संयन्त्रको कुरा उठिरहेको छ, यसका बारेमा केही साता कुरा नगरे पनि हुन्छ। यो मूलकुको एजेन्डै छैन। अहिले हामीले अर्थतन्त्र टिकाइ राख्ने कुरा मात्र गर्नु पर्छ। घरजग्गाको विषमा हामीले खुकुलो बनाउने यसलाई चलायमान बनाउने कुरा हामीले गरिसकेका छौं। अबको अवस्था भनेको जसले वास्तविक रुपमा लगानी गरेको छ उ सुरक्षित छ। जसले विनाधितो बिना सुरक्षण लगानी गरेको छ उसले समस्या भोगिरहेको छ। त्यस्तोले समस्या भोग्नु पनि पर्छ। बद्मासी हुने कुरालाई सहजीकरण गर्दै लगियो भने केही पनि बाँकी रहँदैन। त्यसैले अलिकति हामीले …होमवर्क' पनि दिएको हो। तपाईहरुले आफूले निम्त्याएको समस्या आफै समाधान गर्नुस् भनेको हो। किन भनिएको हो भने, वित्तीय प्रणालीलाई अब यसबाट जोखिम छैन ।
त्यसो भए सम्पति व्यवस्थापन कम्पनीको कुरा सरकारी स्तरबाट किन उठाइएको?
सम्पति व्यवस्थापन कम्पनीको औचित्य सकिएको होइन। केही कम्पनीहरुले कारोबार गर्न सकेनन् सम्पति लिलाम हुने भयो। उनीहरुको हवाइजहाज, डोजर, घरजस्ता कुरा लिएकर बैंकले के गर्ने? समस्या त छ नि। त्यस्तो सम्पति कसैले व्यवस्थापन गरिदिएर बैंकहरुलाई यसबाट मूक्ती दिलाउने भन्ने हिसाबले कम्पनीको कुरा उठेको हो।
बैंकहरु रिपो माग्न थालिसकेका छन्। के अब तरलता अभाव फेरि सुरु भएको हो?
बजारमा तरलताको चक्र हुन्छ। तरलता बढी हुँदा पनि समस्या हुन्छ अलि कम हुँदा पनि समस्या हुन्छ। असारबाट फागुनसम्म आइपुग्दा बढीबाट कम भएकै हो। तर त्यो कुनै अभावको तहमा पुगेको होइन। अहिले ४३ अर्बजति सरकारी कोषमा बसेको छ। आधारभूत कुरा यति हो। यो पैसा खर्च हुन थालेपछि केही समस्या छैन। मूल्य वृद्धिका कारणले पनि मुद्रा विस्तारलाई अलिकति नियन्त्रण गर्नु पर्छ। यो हाम्रो अडान पनि हो। निक्षेपका ब्याजहरु पनि सुधार हुन आवश्यक छ।
बैंकहरुको स्प्रेड अत्यन्तै बढी भो भन्ने कुरा आएको छ? राष्ट्र बैंकले यसलाई कसरी लिएको छ?
हामी स्प्रेडलाई हेरिरहेका छौं। राष्ट्र बैंक निर्देशनमुखि भयो भन्ने कुरा धेरै भएकाले हामीले कम निर्देशन दिइरहेका छौं। हामीले धार्मिक प्रवचन त यसमा धेरै गरिसक्यौं। कति प्रतिशतसम्म स्प्रेड भयो भने बैंकहरु रहन सक्छन् नाफामा जान सक्छन् भन्ने हाम्रो पनि चासो छ। बैंकलाई नाफा पनि दिनु पर्छ। तर एउटा सीमाभित्र रहेर। अहिले निक्षेपको ब्याज दर तल हुँदा सीमावर्ती क्षेत्रमा पुँजी बाहिरिन थालेको कुरा पनि आइरहेको छ। यसमा सुधार हुनु पर्छ। ऋणको ब्याज नघटाए पनि निक्षेपको ब्याज बढाएर यसलाई सुधार गर्न सकिन्छ। निक्षेपको ब्याज दर घटाउने स्थिति नरहँदा लगानीका दरहरु खासखास परियोजना हेरेर घटाउँदा पनि हुन्छ।
हामीले निर्देशन जारी नगरिसकेको हिसाबले बैंकहरुले खेलेको कुरा मैले बुझेको छ। यसमा केही समय हेछौं। सुधि्रने मौका दिन्छौं। उनीहरुले  अचाक्ली गरे भने केन्द्रीय बैंकले सोच्नु पनि पर्छ।
विपन्न वर्गको ऋण दोहोरिएको कुरा आइरहेको छ।  त्यसमाथि राष्ट्र बैंकले यसलाई बढाएर ४ प्रतिशत पुर्‍याएको छ। यसबाट थप समस्या हुन्न?
लघुवित्त संस्थाहरुले पाउनेलाई नै थप ऋण दिइरहेका छन्। नपाउने कहाँ उहाँहरु जानु भएको छैन। ३५ लाख ग्राहक पुर्‍याउने गुरुयोजना उहाँहरुको छ। यसको मतलव ग्राहकहरु अझ छन् भन्ने हो। ३० प्रतिशत दोहोरिएको छ भन्ने कुरा आएको छ। बैंकिङ पहुँच नपुगेकोलाई दिने हो। हामी ग्रामिण कर्जाको सर्वेक्षण गर्दैछौं। यसबाट केही कुराहरु बाहिर आउँछ। लघुवित्त सुविधा कहाँ दिनु पर्छ, कसरी दिनु पर्छ भनेर छलफल आवश्यक छ। तर अब पुग्यो सबैले पैसा पाए विपन्नमा बढाउनु हुँदैन भन्ने होइन।
अहिले पनि भारु १७० रुपैयाँमा विक्री भइरहेको छ। यसमा राष्ट्र बैंकको चासो देखिँदैन नि?
यो संरचनात्मक समस्या हो। नेपाल भारतबीचको सीमा व्यवस्थापन नगरुन्जेलसम्म र हामीले व्यापारलाई वैध माध्यमबाट मात्र हुने गरी नियन्त्रण गर्न नसकुन्जेल यो समस्या भइरहन्छ। अवैध व्यापारका लागि जबसम्म भारुको माग भइरहन्छ तबसम्म भारु प्रिमियममा नै बिक्ने हो। अवैध व्यापार जति बढ्छ भारुको मूल्य पनि त्यति नै बढ्ने हो। होइन भने हामीले वैध व्यापारका लागि आवश्यक पैसा दिइरहेका छौं भने किन उनीहरुले बढी भारुको माग गरिरहेका छन् त? अनौपचारिक व्यापारलाई वढावा दिन नगद भारु हामी जतिपनि दिन सक्दैनौं।

सरकारी जागिरे वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाडौं, फागुन १० 
 - राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिमा बस्न पाउने व्यवस्थालाई थप कडाइ गरेको छ। सरकारी जागिरेले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थासँगै अबदेखि बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गरेर सञ्चालकमा निर्वाचित हुन सरकारी कर्मचारीले पाउने छैनन्। तर, सरकार आफैले मनोनयन गरेर पठाएमा भने सञ्चालक बन्न पाइने छ।
अहिले सञ्चालक रहेकाहरुले भने आफ्नो पदावधि नसकिउन्जेल पद छाड्नु पर्दैन। राष्ट्र बैंकले सरकारबाट नियुक्त पाएका कुनै पनि ओहोदाका व्यक्ति, सरकारको स्वामित्व भएका संघ संस्था वा अनुदान प्राप्त विद्यालय, शैक्षिक संस्था लगायतका सार्वजनिक संस्थानमा पूर्णकालिन रुपमा कार्यरत कर्मचारीहरु सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो।
'सरकारी कर्मचारी सञ्चालक बन्दा स्वार्थ बाझिने देखिएकाले नयाँ व्यवस्था गरिएको हो,' ज्ञवालीले भने, 'यसबाट वित्तीय क्षेत्रको सुशासन कायम गर्न अझ सजिलो हुन्छ।' राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम कम गर्न पुँजी कोषलाई अझ बलियो बनाएको छ। बैंकहरुको सञ्चालन जोखिमका लागि २ प्रतिशत कायम गर्नुपर्ने अतिरिक्त पुँजी कोषलाई ५ प्रतिशत पुर्‍याइएको छ। विकास बैंक र फाइनान्स कम्पनीहरुको जोखिम भारित सम्पतिमा पनि कडाइ गरिएको छ।

साना-मझौला उद्योग परिभाषित

काठमाडौं, फागुन १०
साना तथा मझौला उद्योगलाई प्रोत्साहन तथा सुविधा दिने उद्देश्यले पहिलोपटक यो क्षेत्रलाई परिभाषित गरिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै साना तथा मझौला उद्यमलाई परिभाषित गरेको हो।
'साना तथा मझौला उद्योगको विकास गर्न सुविधाहरु दिनुपर्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले नागरिकसँग भने, 'सुविधा दिनका लागि परिभाषित गरिएको हो।' राष्ट्र बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म चुक्ता पुँजी भएको उद्यमलाई साना तथा मझौला उद्योगका रुपमा चिनाइएको छ।
उद्यमी आफंै पनि कारोबार तथा व्यवसायमा संलग्न हुनुपर्ने साना तथा मझौला उद्योगको सर्त छ। उत्पादन तथा सेवामूलक व्यवसायले मात्र साना तथा मझौला उद्योगको परिचय पाउने छ। राष्ट्र बैंकले यस्ता उद्योगको बढीमा ५ करोडभन्दा बढीको स्थिर सम्पति हुन नहुने सर्त राखेको छ।
विकसित मुलुकहरुमा पनि साना तथा मझौला उद्योगको विकासका लागि सुविधा तथा सहुलियतहरु दिइन्छ। नेपालमा पहिलोपटक परिभाषित गरिएको यो व्यवसाय विस्तारका लागि राष्ट्र बैंक र सरकारले सुविधाका प्याकेजहरु ल्याउने तयारी गरेको छ।
'यो क्षेत्रलाई विस्तार गर्न तत्काललाई परिभाषित गरिएको हो,' ज्ञवालीले भने, 'विकास तथा विस्तार गर्न क्रमिक रुपमा नीतिगत सुविधाहरु ल्याइने छ।' नेपालमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझौला उद्योगको लागि भन्दै कर्जा योजना ल्याएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले एक करोडदेखि ५ करोडसम्मको कर्जालाई साना तथा मझौला उद्योगअन्तर्गत भन्दै लगानी गर्दै आएका छन्। राष्ट्र बैंकले परिभाषा सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्थालाई उत्पादन तथा सेवा क्षेत्रका साना व्यवसायलाई लक्षित गरी ऋण लगानी गर्न अझ सजिलो हुने छ।

मूल्यवृद्धि नियन्त्रण बाहिर

काठमाडौं, फागुन १० 
 नेपाल राष्ट्र बैंकले ६ महिनाअघि प्रक्षेपण गरेको मूल्यवृद्धि लक्ष्यलाई बढाएको छ। बुधबार चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले साढे सात प्रतिशतको लक्ष्यलाई बढाएर ९.५ प्रतिशत पुर्‍याएको हो।
पुसको मूल्यवृद्धि ९.८ प्रतिशत छ। राष्ट्र बैंकले पछिल्लो समय मूल्यमा सुधार हुन थालेकाले ९.५ मा मूल्यवृद्धि सीमित हुने दाबी गरेको छ।
मौद्रिक उपायबाट मात्र मूल्यवृद्धि सीमाभित्र राख्न नसकिने भन्दै गभर्नर युवराज खतिवडाले भारतीय र अन्य गैरमौद्रिक कारणले मूल्यवृद्धिको लक्ष्य हासिल गर्न नसकिएको बताएका छन्। 'आन्तरिक उत्पादनको वृद्धिदरमा न्यूनता आएको र भारतको मूल्यवृद्धिमा चाप देखिएको छ,' गभर्नरले भने, 'यसले मूल्यवृद्धि तोकिएको सीमाभित्र राख्न सकिएन।'
गभर्नर खतिवडाले मौद्रिक नियन्त्रणका साथै आपूर्ति पक्ष पनि सहज हुनु आवश्यक रहेको बताए। उनले उपभोक्ता मूल्यसूचीलाई बढी यथार्थपरक बनाउन प्रयोग गरिने भार अद्यावधिक गरिन थालिएको जानकारी दिए। राष्ट्र बैंकले सार्वजनिक गर्ने मूल्यवृद्धिको तथ्यांक विश्वासिलो नभएको गुनासो आएपछि यसमा सुधार गर्न लागिएको हो।
सरकारको पूर्ण बजेट अभावमा पुँजीगत खर्चमा ह्रास आएको र घटेको कृषि उत्पादनलाई गैरकृषि क्षेत्रले धान्न नसक्ने भन्दै गभर्नरले आर्थिक वृद्धि दरको लक्ष्य घटाउनुपरेको बताएका छन्। ६ महिनाअघि सरकारले आर्थिक वृद्धिदर लक्ष्य ५.५ प्रतिशत राखेकामा घटाएर ४.१ प्रतिशतमा कायम गरेको छ।
राष्ट्र बैंकले शोधनान्तर बचतको लक्ष्यलाई यथावत राख्दै बैंकिङ क्षेत्रको अनिवार्य नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर, पुनर्कर्जा दर र विशेष पुनर्कर्जा दरलाई छोएको छैन। गभर्नरले बैंकहरुलाई लागु गरिएको आधार ब्याजदर भने विकास बैंक र फाइनान्स कम्पनीमा पनि कार्यान्वयन गराउने तयारी भएको जानकारी दिए।
घरजग्गा कारोबार नभएर ऋण समस्यामा परेको बताउँदै आएका बैंकहरुले अर्धवार्षिक समीक्षामा यो क्षेत्रबारे सम्बोधन आउने अपेक्षा राखे पनि गभर्नरले यसबारे एक शब्द पनि खर्च गरेनन्। बढ्दो मूल्यवृद्धि र घट्दो शोधनान्तर बचतबाट चिन्तित देखिएका गभर्नरले अनौपचारिक वित्तीय कारोबारलाई निरुत्साहित गर्दै लैजानुपर्ने बताए।
गभर्नरले दीगो स्वस्थ र समावेशी वित्तीय प्रणालीको विकास गर्ने उद्देश्यले वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने कार्य अगाडि बढिरहेको बताए। उनले निक्षेपको तुलनामा कर्जा विस्तार बढेको भन्दैै चालु वर्षमा १६ प्रतिशतले ऋण लगानी बढ्ने प्रक्षेपण गरे।
गभर्नर खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन १५.१ पप्रतिशतले वृद्धि हुने अपेक्षाविपरीत घटेर १३.१ प्रतिशतमा आउने अनुमान गरे। उनले सरकारले विकास खर्च गर्न थालेपछि यसमा सुधार आउने बताए।
गभर्नरले अमेरिकी डलर भुक्तानी गरी भारतबाट आयात गर्न सकिने वस्तुहरुको संख्या बढाएर १ सय ६१ पुर्‍याएको जानकारी दिँदै पुससम्म निर्यात पुनर्कर्जाका लागि २९ करोड नेपाली रुपैयाँ र २६ लाख अमेरिकी डलर उपलब्ध गराइएको बताए।
गभर्नरले चालु वर्षभित्र २० बैंक तथा वित्तीय संस्थाको 'डाइग्नोस्टिक' समीक्षा गर्ने लक्ष्य भएको बताए। उनले अहिलेसम्म ७ वाणिज्य बैंक, २ विकास बैंक र २ वित्तीय संस्थाको समीक्षा गरिएको जानकारी दिए।
गभर्नर खतिवडाले पुससम्म शोधनान्तर बचत ६ अर्ब ७ करोड रहेको जानकारी दिए। अघिल्लो वर्ष शोधनान्तर बचत ६६ अर्ब ७२ करोड थियो। 'वस्तु आयातमा उल्लेख्य वृद्धि भएको, खुद सेवा आय घाटामा रहेको, वैदेशिक अनुदानमा कमी आएको र विप्रेषण आप्रवाहको वृद्धिदर घटेका कारण बचत घटेको हो,' उनले भने।
शोधनान्तर बचत कम भए पनि पुसमा कायम विदेशी विनिमयको सञ्चिति १०.२ महिनाको वस्तु र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा रहेको गभर्नरले बताए।

बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज बढाउन थाले

सुदर्शन सापकोटा
 काठमाडौं, फागुन ९ - 
 लगानी योग्य पुँजी (तरलता) अभाव हुन थालेपछि वाणिज्य बैंकहरूले ठूला निक्षेपकर्ताको ब्याज दर बढाउन थालेका छन्। संस्थापक निक्षेपकर्ताबाट बढीमा साढे ६ प्रतिशतमा पैसा उठाइरहेका बैंकले तरलता संकुचन हुन थालेपछि ८ प्रतिशतसम्म तिर्न थालेका हुन्। 
एक महिनाअघिसम्म पैसा बढी भएर सर्वसाधारणलाई दिँदै आएको भन्दा कम ब्याजमा बैंकहरूले संस्थागत निक्षेपकर्ताबाट पैसा लिइरहेका थिए। कर्जा बढेको र त्यो अनुपातमा निक्षेप वृद्धि हुन नसकेर कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) वृद्धि हुन थालेपछि बैंकले संस्थागत निक्षेपकर्तालाई धेरै तिर्न थालेका हुन्।
'बजार सिद्धान्तअनुसार पैसा बढी हुँदा ब्याज घट्ने र पैसा कम हुँदा बढी हुन्छ,' ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले मंगलबार नागरिकसँग भने, 'अहिले त्यहीअनुसार निक्षेपको ब्याज सामान्य बढ्न थालेको हो।'
कर्जा वृद्धि अनुपातमा निक्षेप बढ्न नसकेका कारण बैंकको कर्जा-निक्षेप अनुपात वृद्धि भएकाले यसलाई सीमाभित्र राख्न संस्थागतलाई केही बढी तिरेर निक्षेप ल्याउनु परेको उनले बताए। राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम राख्न निर्देशन दिएको छ।
बैंक आफैं धाएर संस्थागत निक्षेपकर्ता (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल प्रहरी, नेपाली सेना, बिमा कम्पनी, गुठी संस्थानलगायत) सँग पैसा माग्न थालेका छन्। बैंक धाउन थालेपछि संस्थागत निक्षेकर्ताले पनि ब्याजमा मोलमोलाइ गर्न थालेका छन्। बैंकबीच फेरि पैसा माग्न प्रतिस्पर्धा चल्न थालेका कारण संस्थागत निक्षेकर्ताको हात माथि पर्न थालेको हो।
'संस्थागतले हाल चलेको ब्याजभन्दा बढी माग्न थालेका छन्,' एक बैंकरले भने, 'पैसा तत्काल चाहिएका बैंकले बढाएर ब्याज दिन थालेका छन्।' संस्थागत निक्षेपकर्ताले पैसा राख्ने गरेको बढाबढमा पनि बैंकले माथिल्लो दर राखेरै दरखास्त दिन थालेका छन्।
भर्खरै मात्र प्रहरीले गरेको 'कोटेसन' मा ८ प्रतिशत ब्याज दिने बैंकले मात्र निक्षेप पाएको थियो। बजारमा तरलता अभाव हुन थालेपछि सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनीले पनि निक्षेपको ब्याज कस्न थालेका छन्।
बैंकरका अनुसार सर्वसाधारणलाई दिने निक्षेपको ब्याज भने तत्काल बढ्दैन। चैतसम्म पनि सरकारी विकास खर्च भएन भनेमात्र सर्वसाधारणको ब्याज वृद्धि हुनेछ। गत वर्ष पनि चैतबाट विकास खर्च बढेर निक्षेप वृद्धि हुन थालेकाले तत्काल सर्वसाधारणको निक्षेपको ब्याज बढाउन हतार हुनेछ।
वाणिज्य बैंकहरूको निक्षेप घट्न थालेसँगै अन्तरबैंक सापटीमा पनि वृद्धि भएको छ। यस्तो सापटीको ब्याज दर ५ प्रतिशत पुगिसकेको छ। दैनिक ५ अर्ब रुपैयाँहाराहारीमा कारोबार हुन थालेको छ। निक्षेपको ब्याज बढ्न थालेपछि कर्जाको ब्याज वृद्धि गर्न बैंकलाई हौसला मिल्छ।
केही पुराना बैंकरले भने आधार दरपछि कर्जाको ब्याज घटाउन दबाब परेका कारण त्यसलाई रोक्न हल्ला मच्चाइएको दाबी गरे। 'आधार दरपछि हरेक बैंकको टेबुलमा कर्जाको ब्याज घटाउन फाइल आएको छ,' ती बैंकरले भने, 'ब्याज दर नघटाउन केही बैंकले रणनीतिक रूपमा हल्ला मच्चाइरहेका छन्।' निक्षेपको वृद्धि रोकिएर तरलतामा सामान्य संकुचन आएपछि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
अभाव देखिन थालेपछि बैंकर्स संघले राष्ट्र बैंकसँग सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन आग्रह गरिसकेको छ। तर, राष्ट्र बैंकले रिपो नियमित गर्ने/नगर्ने कुनै प्रतिक्रिया दिएको छैन।
ऋण विस्तार अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको हो। रेमिट्यान्स वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले बचत संकलनमा कमी भएर तरलता अभाव देखिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेप वृद्धि दरसमेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप बढेको थियो। यसपालि ७० अर्ब ८३ करोडले बढेको छ। यही अवधिमा वाणिज्य बैंकका कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष ३२ अर्ब २६ करोडले बढेको थियो।

राजनीतिक सहमतिको आशमा उचालियो नेप्से, २५ मिनेटमा ८ करोडको कारोबार

सुदर्शन सापकोटा
 काठमाडौं, फागुन ७ - 
दलहरु निर्वाचन गराउन राजनीतिक सहमति नजिक पुगेपछि सेयर बजार ह्वात्तै बढेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बन्ने पक्कापक्की भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २५.७३ अंकले बढेको छ।
सबै समूहको उपसूचक वृद्धिले परिसूचक ५५५.९३ अंकमा पुगेको छ। परिसूचकले छलाङ मार्न थालेपछि नेप्सेले तीनपटक कारोबार रोक्का गरेको थियो। पाँच प्रतिशतले परिसूचक वृद्धि भएपछि कारोबार सोमबारसम्मलाई बन्द गरिएको थियो।
'राजनीतिक सहमतिका कारण परिसूचक बढेको हो,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने।
आइतबार बजार खुलेको १५ मिनेटभित्रै नेप्से ३ प्रतिशतले बढेपछि केही समयका लागि कारोबार बन्द गरिएको थियो। बजार खुलेलगत्तै परिसुचक ४ प्रतिशतले वढेको थियो। तेस्रोपटक पाँच प्रतिशतले बढेपछि आइतबारको कारोबार बन्द गरिएको थियो।
नेप्से बढेर तीनपटकसम्म कारोबार स्थगत गर्दा लगानीकर्ताले जम्मा २५ मिनेटमात्र सेयर किनबेच गर्न पाएका थिए। तीन घन्टामा जम्मा २५ मिनेट कारोबार हुँदा समेत ८ करोड चार लाख रुपैयाँको सेयर किनेबेच भएको नेप्सेले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले दिनहुँजसो उच्च नाफा भएको विवरण सार्वजनिक गरिरहँदासमेत खासै प्रतिक्रिया नदिएको नेप्से परिसूचकले निर्वाचन गराउनलाई सरकार गठन हुने देखिएपछि तातो प्रतिक्रिया दिएको हो। बिहीबार पनि परिसूचक ३.६ अंकले बढेको थियो। 'बैंक तथा वित्तीय संस्थाको विवरणहरुले सामान्य वृद्धिमात्र भएको थियो,' उनले भने, 'राजनीतिक सहमतिले परिसूचकलाई निकै माथि पुर्या यो।'
नेप्सेमा आइतबार ५९ कम्पनीहरुको सेयर कारोबार भएको थियो। यसमध्ये पाथिभरा विकास बैंक, शुभेच्छा विकास बैंक, विराटलक्ष्मी विकास बैंक, विश्व विकास बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको मात्र सेयर मूल्य घटेर कारोबार भएको थियो।
सूर्या लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोग स्किम-१, प्रभु फाइनान्स, ज्योति विकास बैंक र नबिल बैंकको संस्थापक सेयर मूल्य परिवर्तन नभई कारोबार भएको नेप्सेले जनाएको छ।
पछिल्लो समय निक्षेपको ब्याज दर घटेर लगानीकर्ता राम्रो प्रतिफलको आशमा पुनः सेयर बजारमा फर्किन थालेका थिए। यसबाट कारोबारमा सुधार आए पनि परिसूचकले उच्च छलाङ मार्न सकेको थिएन। राजनीति सहमतिबाट गतिरोध अन्त्य हुने निस्कर्ष निकाल्दै लगानीकर्ताले आइतबार परिसूचक उचालेका हुन्।
सरकारले परिसूचक बढाउन राष्ट्र बैंकमार्फत सेयर खरिद कर्जा सहज बनाएको थियो। बैंकिङ क्षेत्रमा तरलता बढेर ऋणको ब्याज पनि घट्न थाल्यो। टेलिकम, बिमा कम्पनीजस्ता संस्थागत लगानीकर्ताको पैसा बजारमा ल्याउने खालका निर्णयहरु भए। यसपछि राजनीतिक अन्योलबीच पनि परिसूचक उकालो लाग्न थालेको हो।
सबैभन्दा बढी जलविद्युत उपसूचकमा सुधार आएको छ। यो सूचक ६२ अंकले बढेको छ। यसपछि बैंकिङ ३८.५८ र बिमा २४.९४ अंकले वृद्धि भएको छ।
नेप्सेमा आइतबार १ लाख ६३ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो। ५ सय ३३ वटा कारोबारबाट बजार पुँजीकरण ५ खर्ब ३५ अर्ब ४९ लाख पुगेको छ।

माछापुच्छे्र बैंकका सिइओ भन्छन्– पाँच वर्षमा पाँचौ ठूलो बैंक बनाउने छु

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
 मर्जरपछि पनि बैंकका चुनौतीहरु सकिएका छैनन्। कसरी हल गरिरहनु भएको छ?
चुनौती नभएका बैंक नै छैनन्। चुनौतीका प्रकृति मात्र फरक हुन्। हाम्रो सञ्जाल ठूलो छ। कर्मचारीहरु पनि पर्याप्त छन्। पहिले पुँजीका कारण लगानी विस्तार गर्न सकिएको थिएन। मर्जरपछि पुँजी थपिएको छ। यसले लगानी विस्तार गर्न
तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
सजिलो भएको छ। मर्जरपछि हामीले सवा तीन अर्बले ऋण लगानी वढाएका छौं।
मर्जर भएर म आउँदा बैंकका अधिकांस समस्या समाधान भइसकेका थिए। असार मसान्तको हिसाव किताव एउटै आएको हो। वित्तीय रुपमा कम्पनी एक भइसकेको थियो। कर्मचारीमा केही मुद्दाहरु थिए। एउटा वाणिज्य बैंक र एउटा फाइनान्स कम्पनी भएकाले समान–समान हैसियतमा राख्ने कि के गर्ने भन्ने जस्ता समस्या थिए। तर त्यसलाई पनि मिलान गरियो। अहिले बैंक बजार विस्तारतर्फ अगाडि वढेका छ। कुनै खालका समस्या छैनन्।
कसरी अगाडि वढिरहनु भएको छ?
लगानी विस्तार नै अहिलेको योजना हो। राष्ट्र बैंकका नीति निर्देशनहरुलाई पालन गर्दै हामी लगानी विस्तार तिर लागेका छौं। पुँजी वृद्धिसँगै लगानी विस्तार भइरहेको छ। विचमा अलिकति अप्ठेरो भनेको पुँजी नपुगेर हो। दुई वर्षजति माछापुच्छ्रेले लगानी विस्तार गर्न सकेको थिएन। सुसुप्त अवस्थामा थियो। मर्जरपछि पुँजी वढेर लगानी विस्तार गर्न थाल्यौं। बजारमा माछापुच्छे्रले विजिनेस गर्दैन की भन्ने पर्न थालेको थियो। यो विचार पनि हामीले मेटाइसक्यौं।
के गर्नु भयो यसका लागि?
हामीले लगानीका लागि बजारीकरण गर्‍यौं। भएका सबै सञ्जालाई प्रयोग गर्‍यौं। मार्केटिङका लागि पूर्वदेखि पश्चिमसम् पुग्यौं। अहिले विजिनेस आइरहेको छ। ल्याइरहेका छौं। हामी  पाँच वर्षभित्र नेपालकै पाँचौं ठूलो बैंक बन्ने लक्ष्य साथ अगाडि वढेका छौं। सबैले मनपराएको बैंकमा पर्ने लक्ष्य हो हाम्रो।
पाँचौं बैंक भन्ने आधार के छन्?
हामीसँग ५४ वटा शाखा छन्। एक करोड मात्र विजिनेस गर्दा पनि ५४ करोड आउँछ। ग्राहक संख्या ३ लाखभन्दा वढी छन्। उनीहरुलाई राम्रो र छिटो छरितो सेवा दियौं भने उनीहरुले नै हाम्रो मार्केटिङ गर्छन्। हरेक किसिमको सेवा दिन्छौं। जसलाई जे  चाहिएको छ त्यो सेवा दिन्छौं। ऋण चाँडै पारित गर्छौं। तीनदेखि सात दिनमा ऋण दिन्छौं।
कसैले बैंकहरुको नाम गन्न थाल्दा अग्रपङतिमा  माछापुच्छे्रको आउने गरी काम गरिरहेका छौं। व्यवसायको आकार वढाउँछौं। यो वर्षलाई धेरै ठूलो नाफाको लक्ष्य छैन। अर्को वर्षदेखि नाफाको वृद्धि भने निकै राम्रो हुने छ। देशको अहिलेकै जस्तो अवस्था रहे पनि हामी मूख्य पाँच बैंकको सुचीभित्र पर्छौं।
व्यवसायको आकार कसरी विस्तार गर्दै हुनु हुन्छ?
व्यवसायको आकार बढाउन हामीसँग राम्रो जग छ। शाखा विस्तारमा खर्च भयो तर त्यसले पुँजीका कारण व्यापार गर्न पाएको थिएन। अब पुँजीको समस्या छैन। शाखाले पनि व्यवसाय विस्तार गर्ने छ। हामीले ऋणको काम गर्न शाखालाई दिएका छौं। पहिले सबै शाखा नाफामा नगएको कारण पनि व्यवसाय गर्न नपाएर हो।  पुँजी नपुगेका कारणले उनीहरुले ऋण विस्तार गर्न सकेका थिएनन्। अहिलेको अवस्थामा ७ अर्बसम्म लगानी गर्नसक्ने क्षमता छ। नाफा वढ्दै गएपछि यो क्षमता अझ वढ्ने छ।
एभ्को समूहको ऋण अपलेखन गरेर वासलात राम्रो बनाइयो। तर त्यो ऋण उठाउन के पहल भइरहेको छ?
त्यो ऋण उठाउन हामी लागि परेका छांै। ऋण उठाउन एउटा कानुनी बाटो अँगाल्छौं अर्को ऋणीसँग छलफल गरिरहेका छौं। उनीहरुसँग नियमित भेटभइरहेको । उनीहरुले तिर्ने इच्छा देखाएका छन्। चार वटा पार्टीको ऋण अपलेखन गरिएको हो। व्याज, जरिवाना व्याज र साँवासहित यो ऋण ठूलो हुन्छ। त्यो सबै नउठ्ला। तर पेनाल व्याज लगायत छाडेर उठाउने प्रयास भइरहेको छ।
अब बैंक सबै समस्याबाट मुक्ता भइसकेको हो?
हो, पूर्ण रुपमा समाधान मुक्त भइसकेको हो। डुवेको ऋण अपलेखन गरिसकेकाले बैंकमा पुरानो विषहरु छैन। नयाँ केही ऋणहरु समस्यामा छन्। ती भनेको अरु बैंककै जस्तो रियलस्टेट र क्रसरको हो। प्लटिङ जग्गा विकेको छैन। विकेपछि त्यो पैसा उठ्छ। अहिले डुवेकै बराबर हो। केही हायर पर्चेज ऋण डुवेको छ। यो चैं पुरै नउठ्ला।
माछापुच्छे्रबाट थुप्रै वर्ष भयो लगानीकर्ताले केही नपाएको। मर्जर भयो। व्यवस्थापनको नेतृत्व फेरियो। अब के आशा गर्न सक्छन्?
यो वर्षको नाफाबाट आगामी वर्ष नै प्रतिफल दिन  गाह्रो होला। अर्को वर्षबाट हामी राम्रो प्रतिफल दिने अवस्थामा पुग्छौं। यो वर्षको ६ महिना वितिसक्यो। अब ६ महिना वाँकी छ। ६ महिनामा राम्रो नाफा हुन्छ। यो वर्ष दिनसक्ने पोजिसनमा पु्र्‍याउँछु। तर अर्को वर्षको नाफाबाट प्रतिफल वाँडिने छ।
यहाँका केही कर्मचारी तपाईभन्दा वरिष्ठ थिए। उनीहरुसँग काम गर्न कतिको सहज छ?
मसँग काम गरेकै केही पुराना साथीहरु हुनु हुन्छ। उहाँहरुसँग काम गर्न केही गाह्रो छैन। सबैले सहयोग नै गर्नु भएको छ। कर्मचारीको समस्या पहिले नै मिलाइएकाले मलाई केही गाह्रो छैन।
बैंकका सञ्चालकहरुले विदेशी लगानी भित्राउने वा अर्को मर्जरमा जाने बताइ रहुन भएको छ। के हुँदै छ?
अहिले भएकै शाखालाई राम्रो बनाएर लैजाने हो। भएकोलाई अगाडि वढाएर लैजाने हो। त्यसपछि मात्र मर्जरको कुरा आउन सक्ला। लगानीको कुरा आउन सक्ला। तर, तत्काल यो संभावना छैन। सञ्चालक समितिको दीर्घकालिन सोचाइ हुन सक्छ।
अहिले आधार दर कार्यान्वयनमा आएको छ। यसबाट नयाँ र साना बैंकलाई व्यवसाय विस्तार गर्न गाह्रो हुन्छ भनिँदैछ नि?
आधार दरले केही फरक पर्दैन। योभन्दा अगाडि पुँजी लागत (कस्ट अफ फन्ड) छापिएको हो। केही फरक परेको थियो र? नयाँ र पुरानालाई गाह्रो भन्ने नै हुँदैन। कस्ट अफ फन्ड पहिले पनि केहीको थोरै थियो केही वढी थियो। तर, खै त सबैले लगानी विस्तार गरे। सस्तो हुनेले ऋण दिने भन्ने हुँदैन। पुँजी पनि पुग्नु परो नि। निक्षेप मात्र भएर लगानी गर्न मिल्ने त होइन। आधार दरबाट केही आत्तिनु पर्दैन।

स्प्रेड वृद्धिले बैंकको नाफा ५० प्रतिशत बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ३
लगानी वातावरण नभएर व्यवसायिक क्षेत्र खस्किरहेका बेला वाणिज्य बैंंकहरुले निक्षेपकर्तालाई दिने र ऋणीबाट लिने ब्याजको अन्तर (स्प्रेड दर) फराकिलो बनाउँदै नाफा वढाएका छन्।
बैंकहरुले आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ५० प्रतिशतले बृद्धि गर्दै ७ अर्ब ९० करोड पुर्‍याएका छन्। अघिल्लो पुसमा बैंकहरुले ५ अर्ब २६ करोड रुपैयाँ नाफा गरेका थिए। असोजमा बैंकको नाफा वृद्धि दर ४१ प्रतिशत थियो।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये तीन वटाले मात्र स्प्रेड दर घटाएका छन्। लक्ष्मी बैंक, ग्रान्ड बैंक नेपाल र स्ट्यार्न्डर्ड चार्टर्डले स्प्रेड घटाएका हुन्। यसमध्ये लक्ष्मी र ग्रान्ड बैंकको नाफाको वृद्धि दर नै घटेको  छ। भने स्ट्यान्डर्ड चार्टर्डलेे ३७ लाख रुपैयाँले मात्र नाफा वढाएको छ।
बैंकले निक्षेपकर्तालाई दिने ब्याज दर ह्वात्तै घटाएपनि ऋणीबाट लिने ब्याज सामान्य मात्र घटाएका कारण स्प्रेड फराकिलो भएको हो। स्प्रेडकै कारण पुस मसान्तमा अधिकांस बैंकले उच्च नाफा कमाएका हुन्।
'अधिकांस बैंकको स्प्रेड दर वढेको छ। स्प्रेड वढाएकै कारण बैंकको नाफा वढेको छ,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने। उनले यसपाली अधिकांस बैंकको व्याज र किस्ता नउठेका कारण जोखिम व्यवस्थाका लागि राखिने रकम वढेपनि स्प्रेडका कारण नाफामा वृद्धि भएको जानकारी दिए।
स्प्रेड दर फराकिलो भएकै कारण बैंकहरुको खुद ब्याज आम्दानी २८ प्रतिशतभन्दा वढीले वृद्धि भएको छ। १६ अर्ब ३२ अर्ब  खुद ब्याज आम्दानी गरेका बैंकहरुले यसपाली २० अर्ब ७२ अर्ब  पुगेको छ।
अघिल्लो वर्षको पुसमा घाटामा गएका नयाँ चार बैंकले यसपाली नाफा राम्रो आर्जन गरेका छन्। अघिल्लो वर्ष घाटामा गएका सिभिल, जनता, मेगा र सेन्चुरी बैंकले यसपाली नाफा गरेका हुन्। यसपाली किस्ट बैंक भने घाटामा गएको छ। बैंकले ६ करोड ९५ लाख रुपैयाँ घाटा खाएको छ।
यसपाली सबैभन्दा वढी नाफा नबिल बैंकले कमाएको छ। बैंकले ६५ करोड ८६ लाखको नाफालाई १ अर्ब ११ करोड पुर्‍याएको छ। व्याज आम्दानीका साथै डलर किनबेच तथा छुट तथा कमिसनमा आधारित आम्दानी वढाएका कारण नाफा व्यापक वृद्धि गरेको हो।
पुसमा ६ वटा बैंकले नाफा ५० करोड नघाएका छन्। ५० करोड नघाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक छन्। इन्भेष्टमेन्टको ८९ करोड नाफा छ। एभरेष्टको ६४ करोड र राष्ट्रिय वाणिज्इ बैंकको ६० करोड ९९ लाख छ।
स्प्रेड बढाए पनि नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेको छ। बैंकको आम्दानी १.३२ प्रतिशतले घटेर २ अर्ब ८५ करोडमा झरेको छ। स्प्रेड दर घटाएका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानी ४.८२ प्रतिशतले घटेर ८७ करोड ५६ लाखमा झरेको छ। यि वाहेक सबै बैंकको खुद ब्याज आम्दानी वढेको छ।
स्प्रेड दर फराकिलो हुँदा निक्षेपकर्ता र ऋणी दुवैलाई नोक्सान हुन्छ। निक्षेपकर्ताले कम पाउने र ऋणीले वढी तिर्नु पर्ने हुन्छ।
सबैभन्दा वढी व्याज अन्तर नेपाल बंगलादेश बैंकले राखेको छ। बैंकले २.२१ प्रतिशतको स्प्रेडलाई वढाएर ६.२७ प्रतिशत पुर्‍याएको छ। यसपछि सिटिजन्स् बैंकले ४.३३ को स्प्रेडलाई ८.८१ प्रतिशत पुर्‍याएको छ।
एभरेष्ट बैंकको ५.१७ प्रतिशत स्प्रेड दर पुगेको छ। यसअघि उसको ४.८६ प्रतिशत थियो। नबिल, मेगा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डूको स्प्रेड वढेर साढे चार प्रतिशतभन्दा माथि छ।
स्प्रेड दर वढाए पनि कम माछापुच्छ्रे बैंकको छ। बैंकले १.८४ बाट बढाएर २.४१ पुर्याएको छ। जनताले १.९७ प्रतिशतबाट वढाएर २.८५ प्रतिशत, प्राइमले २.९५ प्रतिशतबाट वढाएर २.९९ प्रतिशत पुर्‍याएको छ।

पुसमा वढी नाफा गर्ने बैंक

बैंक                                    नाफा (रु.करोडमा)
नबिल बैंक                                   १११.२३
नेपाल इन्भेष्टमेन्ट                        ८९.१२
एभरेष्ट बैंक                                    ६४.२४
राष्ट्रिय वाणिज्य                                 ६०.९९
स्ट्यान्डर्ड चार्टर्ड                               ५५.८८
कृषि विकास                                      ५४.६३
हिमालयन                                            ५०.०३

लगानी वोर्डले चार ठूला परियोजना अघि वढाउन वार्ता थाल्ने

काठमाडौं, फागुन २
नेपाल लगानी बोर्डले जलविद्युत उत्पादक तीन ठूला कम्पनीहरूसँग परियोजना विकास सम्झौता (पीडीए) सम्बन्धी औपचारिक वार्ता अघि बढाउने निर्णय गरेको छ। वोर्डले नेपालका चार वटा ठूला परियोजना विकास गर्नका लागि औचारिक वार्ता आगाडि वढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार बसेको बोर्डको बैठकले पीडीएको नमूनालाई वार्ताको आधारको रुपमा प्रयोग गरिने निर्णय गरेको  छ। बोर्डले ६३० मेगावाटको तामाकोसी–३, नौं सय मेगावाटको अरुण–३, नौं सय मेगावाटको माथिल्लो कर्णाली र ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ विद्युत परियोजनाका लागि औपचारिक वार्ता थाल्ने निर्णय गरेको हो।
अरुण–३ र माथिल्लो मर्स्याङ्दी–२ निर्माणको जिम्मा जिएमआर, अरुण–३ सतलज र तामाकोशी–३ वनाउने जिम्मा एसएन पावर कम्पनीले लिएको छ। अरुण–३ र माथिल्लो कर्णाली निर्माणका लागि विकासकर्ता कम्पनीहरुसँग सैद्धान्तिक सम्झौता भइसकेको छ। उनीहरुसँग सम्झौताभित्रै रहेर वार्ता अगाडि वढाइने छ।
जडित क्षमता ३ हजार ५० मेगावाट भएका भारतीय बजारलक्षित यी परियोजनाले नेपालको आन्तरिक ऊर्जाको आवश्यकता पूर्ति गर्ने छ। राजस्व (रोयल्टी) र कर तिर्नेबाहेक चार परियोजनामध्ये अरुण–३ ले २१.९ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ। माथिल्लो कर्णालीले १२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर प्रदान गर्ने प्रतिवद्धता जनाइसकेको छ।
सरकारले परियोजना विकासकर्ता कम्पनीहरूबाट पीडीए मस्यौदाको नमूनामा राय मागिसकेको छ। उनीहरुले दुई महिनाअघि बोर्डलाई अन्तिम सुझाव समेत दिइसकेका छन्।
वोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री वावुराम भट्टराईले वैठकमा निर्णय गरेपछि नेपालले चार वटै जलविद्युत परियोजनाबारे द्रूत गतिमा औपचारिक वार्ता अघि बढाउन सक्ने बताए।
लगानी बोर्डले जलविद्युत परियोजनाहरू कार्यान्वयन गर्दा आवश्यक पर्ने लगानीबाट हुनसक्ने आर्थिक उपार्जनको आँकलन गर्न विस्तृत वित्तीय विश्लेषण ढाँचा तयार गरिरहेको छ। प्रत्येक परियोजनाको लागत एक अर्ब अमेरिकी (८५ अर्ब रुपैयाँ) भन्दा बढी हुन्छ।
वोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले परियोजनाको लाभ लागत आँकलनमा सुझाव दिन र वार्ताको रणनीतिलाई थप सुसूचित गराउन विज्ञहरूको अन्तर्राष्ट्रिय टोली नियुक्त गरिएको बताए।
चारै वटा परियोजनाको समीक्षा गर्न केही समयअघि मात्र विश्व बैंकको सहयोगमा खुला प्रतियोगितात्मक प्रकृयाद्वारा अग्रणी इन्जिनियरिङ संस्था लामेयेर इन्टरन्याशनललाई नियुक्त गरिएको छ। 'संस्थाको नतिजाका साथै हाम्रो वित्तीय विश्लेषणले नेपालले गर्ने वार्ताको स्थितिलाई सुसूचित गर्ने छ,' पन्तले भने, 'नेपाल र लगानीकर्ता दुवै पक्षलाई फाइदा पुग्ने सम्झौतामा सहि गर्न चाहन्छौं।'
चार परियोजना अगाडि वढाउने वार्तालगायत अन्य ठूला पूर्वाधार निर्माणहरु अगाडि बढाउने निर्णयसमेत बोर्डले गरेको छ। काठमाडौं उपत्यका मेट्रो रेल परियोजनाको लागि विस्तृत संभाव्यता अध्ययन (डिपिआर) अगाडि बढाउने निर्णय गरेको छ। विज्ञ सहितको ६ सदस्यीय स्थलगत प्रमाणीकरण टोली गठन गरी काठमाडौं उपत्यका फोहरमैला व्यवस्थापन परियोजनाको कार्य अगाडि बढाउनेसमेत निर्णय भएको छ।
नेपालमा रासायनिक मल कारखानाको लागि सम्भाव्यता अध्ययन गर्ने कार्यादेश समेत बोर्डले स्वीकृत गरेको छ। वैठकले सिमेन्ट उद्योगको लागि वैदेशिक लगानी सम्बन्धमा कार्यान्वयन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि लगानी बोर्डको कार्यकारी प्रमुखको संयोजकत्वमा उद्योग विभाग, खानी तथा भूगर्भ विभागका महानिर्देशकहरु सदस्य भएको समिति गठन गरिएको छ।
वैठकमा प्रधानमन्त्री भट्टराईले सरकारलाई राजस्व प्राप्त हुने, स्थानीय समुदायहरूलाई फाइदा पुग्ने, नेपाली उद्योग तथा सेवा क्षेत्रलाई अधिकतम लाभ हुने, हजारौं नेपालीलाई रोजगारी प्राप्त हुने र उर्जा संकट समाधान गर्नेजस्ता विषयमा अधिकतम हित हुने गरी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताए।
वोर्डले आयोजना विकासकर्ता कम्पनीहरु र अन्तर्राष्ट्रिय ऋणदाता समुदायबाट प्राप्त विस्तृत सुझाव तथा प्रतिक्रियापछि पीडीएको नमूनामा व्यापक परिवर्तन गरिसकेको छ। पीडीएलाई परिस्कृत गर्न अन्तर्राष्ट्रिय स्तरका वाणिज्य, प्राविधिक तथा कानुनी विज्ञहरूका साथै ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग धेरै निकट रहेर काम गरिएको थियो।
'बोर्डले कार्यादेश अनुमोदन गरेलगत्तै अब उर्जा उत्पादक कम्पनीहरूसँग परियोजना विशेषका लागि पिडिए वार्ता टोलीले वार्ता शुरु गर्नेछ,' पन्तले भने। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा पिडिए संयोजक समिति हुनेछ। समितिले वार्ता टोलीलाई मार्गदर्शन र निर्देशन गरी बाधा अड्काउ फुकाउने कार्य गर्नेछ। पिडिए वार्ता टोलीले राष्ट्रिय–अन्तराष्ट्रिय कानूनी, प्राविधिक र वाणिज्य विशेषज्ञहरुबाट सल्लाह लिनेछ।

अभाव वढ्न थालेपछि बैंकहरु स्थायी तरलता प्रयोग गर्दै

सुदर्शन सापकोटा
काठमाडौं, फागुन १
बैंकहरुमा लगानी योग्य पुँजी (तरलता) अभाव हुन थालेपछि अन्तर बैंक ब्याज दर बढेको छ। एक साताअघि २.२५ प्रतिशत रहेको अन्तर बैंक व्याज दर अहिले ५ प्रतिशत पुगेको छ।
तरलता अभाव हुन थालेपछि बैंकिङ प्रणालीमा अन्तर बैंक सापटी दिने बैंकहरु घट्न थालेका छन्। अहिले अधिकांस बैंकले सापटी माग गरिरहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंकले नियमित सापटी दिइरहेका छन्।
'अहिले अन्तर बैंक सापटीको माग एकदमै बढेर गएको छ,' राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले मंगलबार नागरिकसँग भने, 'नियमित आवश्यकताका लागि बैंकहरुले सापटी लगिरहेका छन्।' उनले अधिकांस बैंकले सापटी माग गरेको जानकारी दिए।
अभाव देखिन थालेपछि बैंकर्स संघले राष्ट्र बैंकसँग सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन   आग्रह नै गरिसकेका छन्। तर राष्ट्र बैंकले रिपो नियमित गर्ने/नगर्नेमा कुनै प्रतिकृया दिएको छैन।
बैंकरका अनुसार, रिपो निस्कासन नभए बैंकहरु स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्ने  अवस्थामा पुगेका छन्। 'भोलीबाटै (वुधबार) स्थायी तरलता सुविधा प्रयोग गर्नु पर्ने अवस्था छ,' एक बैंकरले भने।
राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितो राखेर स्थायी तरलता सुविधा जुनसुकै बेला प्रयोग गर्न पाइन्छ। यसको ब्याज दर भने महँगो हुन्छ।
'तरलता अभाव हुन थालेपछि हामीले रिपो मागेका हांै,' संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, …बैंकहरुले आन्तरिक प्रयोगका लागि स्थायी तरलता सुविधा माग्ने अवस्था छ।' उनले तरलता सहज नभए बैंकहरु पुनः ब्याज दर बढाउन वाध्य हुने बताए।
निक्षेप आधार बलियो भएका ठूला बैंकहरुले पनि अहिले अन्तर बैंक सापटी माग गरिरहेका छन्। नबिल, हिमालयन, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्टलगायतका ठूला बैंकले पनि सापटी माग गरेका छन्। नयाँ आएका मेगा, जनताले पनि सापटी मागेका छन्।
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको हो। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले बचत संकलनमा कमी भएर तरलता अभाव देखिएको छ।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत १ अर्ब ६० करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.९ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २२.७ प्रतिशतमा झरेको छ। मंसिरसम्म कुल १६३ अर्ब ४९ करोड रेमिट्यान्स् भित्रिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेपको वृद्धि दर समेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप वढेको थियो। यसपाली जम्मा ७० अर्ब ८३ करोडले वढेको छ। यही अवधिमा बैंकहरुको कर्जा लगानी भने व्यापक विस्तार भएको छ।
वाणिज्य बैंकहरुको कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष जम्मा    ३२ अर्ब २६ करोड वृद्धि भएको थियो।

पोहोरजति पनि विकास खर्च भएन, ५१ अर्बमा जम्मा ७ अर्ब ६६ करोड खर्च

सुदर्शन सापकोटा
काठमाडौं, माघ २९
विकास खर्च गर्न नसकेपछि सरकारी कोषको बचत रकम बढेको छ। विकास खर्च घटेपछि दातृ निकायहरुले दिने आर्थिक सहायता र ऋण प्रभावित भएको छ।
सरकारले आधा आर्थिक वर्ष सकिँदासम्म पोहोरको जति पनि विकास खर्च गर्न सकेको छैन। सरकारले गर्ने विकास खर्च घटेपछि उसको कोषमा ४३ अर्ब ६१ करोड रुपैयाँ जम्मा भइसकेको छ। अघिल्लो वर्षको पुसमा सरकार जम्मा १३ अर्ब ८ करोड रुपैयाँ बचतमा थियो।
विकास खर्च प्रत्येक वर्ष कम हुन थालेपछि दातृ निकायहरुले चिन्दा व्यक्त गर्दै आगामी बजेटका लागि सहायता रकम घटाउने संकेत गरेका छन्। उनीहरुले आयोजनासमेत तोकेर छुट्याएको रकम वाहेक वाँकी बजेट अन्य मूलुकमा स्थानान्तरण गर्न सक्ने सरकारलाई जानकारी गराइ सकेका छन्।
'सरकारले गर्ने विकास खर्च पोहोरको भन्दा घटेको छ,' अर्थसचिव शान्तराज सुवेदीले सोमबार नागरिकसँग भने, 'यसबाट सहायता दिँदै आएका दातृ निकायहरु चिन्तित बनेका छन्।' पोहोर पुससम्म सरकारले ९ अर्बभन्दा वढी विकास खर्च गरेको थियो। यसपाली ७ अर्ब ६६ करोड रुपैयाँ विकास खर्च भएको छ।
सचिव सुवेदीले विकास बजेट खर्च गर्न प्रत्येक मन्त्रालयलाई ताकेता गर्न थालिएको जानकारी दिए। उनले पोहोरकै बजेट बराबरको रकम यसपाली खर्च गर्न पाइने भएकाले प्रत्येक मन्त्रालयलाई एकमुष्ट रकम निकासा गरिसकिएको बताए। गत वर्षभरी सरकारले ५१ अर्ब रुपैयाँ विकास खर्च गरेको थियो।
'सरकारले  विकास खर्च गर्न नसकेपछि दातृ निकायको सहायता प्रत्यक्ष प्रभावित हुन्छ,' पूर्वअर्थसचिव तथा मन्त्रीपरिषद्का सचिव कृष्णाहरि वास्कोटाले भने, 'आयोजनामा आवद्ध वाहेकको बजेट अन्यत्र स्थानान्तरण गर्न सक्छन्।' वास्कोटाले दातृ निकायको प्रतिवद्धता केही वर्षका लागि मात्र हुने भएकाले तोकिएको अवधिमा आयोजना निर्माण नभए अन्यत्रै बजेट लैजान सक्ने जानकारी दिए।
दातृ निकायले चालु आर्थिक वर्षका लागि १ सय अर्बको ऋण तथा सहायताको प्रतिवद्धता गरेका छन्। यसमध्ये ७० अर्ब सहायता रकम हो। उनले विकास खर्च वढाउन नियमित अनुगमन र ताकेता हुनु पर्ने बताए।
'विकास  खर्च वढाउनुको विकल्प छैन,' उनले भने, 'आयोजना तोकेर यति मितिमा सक्ने भन्ने कार्य योजना हुनु आवश्यक छ।' उनले योजना आयोग, अर्थमन्त्रालय र प्रधानमन्त्रबी कार्यालयले योजना निरिक्षण तथा अनुगमन गरेर खर्च वढाउनु पर्ने ब ताए।
अर्थसचिव सुवेदीले सुरुमा चार महिनाका लागि मात्र बजेट आएकाले विकास खर्च प्रभावित भएको बताए। उनले हरेक वर्ष बजेटको ६५ प्रतिशतसम्म मात्र खर्च हुने गरेको भन्दै वाँकी ६ महिनाको अवधिमा खर्च वढ्ने जानकारी दिए।
उनका अनुसार, साउन, भदौ, असोज र कात्तिकमा एक तीहाइ  मात्र बजेट आएकाले पोहोरको जति पनि विकास खर्च नभएको हो। त्यसैको असरका कारण विकास खर्च घटेको हो। उनले दुई तीहाइ बजेट आइसकेकाले अब खर्च हुने बताए।
'हामीले खर्च वढाउन सम्वन्धित मन्त्रालयलाई ताकेता गरिरहेका छौं। गत वर्षजस्तै यसपाली पनि विकास खर्च ६५ प्रतिशतको हाराहारीमा पुग्छ,' उनले भने। सुवेदीले पछिल्लो समय आयोजनाहरुको ठेक्का लाग्न थालेको र गौरवका आयोजनाहरुको काम सुरु भइसकेकाले बाँकी अवधिमा खर्च हुने जानकारी दिए।
'पोहोर पनि आधा वर्ष वितेपछि ४२ खर्ब खर्च भएको थियो,' उनले भने, 'यसपाली अझै समय वाँकी भएकाले विकास खर्च हुन्छ।' उनले विकास खर्च भएन भनेर दातृ निकायले चिन्ता जनाउनु स्वभाविक भएको भन्दै सरकारलाई खर्च वढाउनु चुनौती भएको जानकारी दिए।
उनले राष्ट्रिय गौरवका आयोजनाका साथै काठमाडौंको सडक निर्माण, रासायनिक मललगायतका क्षेत्रमा खर्च भइरहेको जानकारी दिए।  मूख्य लगानीकर्ता सरकारले खर्च गर्न छाडेपछि निजी क्षेत्रले पनि लगानी गर्न छाडेका छन्।
सरकारी कोषमा रकम थपिन थालेपनि वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) घट्न थालेको छ। यसको असर उनीहरुको निक्षेपमा देखिन थालेको छ। गत वर्ष वित्तीय प्रणालीमा ९७ अर्ब ३० करोड निक्षेप वढेकोमा यसपाली जम्मा ७० अर्ब ८३ करोड मात्र वढेको छ।

बैंक आधार दर ६–१२ प्रतिशतसम्म, कम चार्टर्डको, बढी कृषि बैंकको

सुदर्शन सापकोटा
काठमाडौं, माघ २८
ऋण लिँदै हुनु हुन्छ भने आधार ब्याज दर कम भएको बैंकमा जानु होला। सम्पूर्ण खर्च कटाइ त्यसमा नाफासमेत जोडेर आधार दर निकालिने भएकाले योभन्दा वढी तिर्दिन भनेर मोलमोलाइ गरे सस्तैमा ऋण पाइनेछ।
'ग्राहकले प्रतिस्पर्धि ब्याजमा ऋण पाउन् भन्ने उद्देश्यले आधार दर कार्यान्वयनमा ल्याएकोे हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'ऋणको जोखिम मूल्यांकन गरेर बैंकहरुले आधार दरभन्दा माथिमा लगानी गर्छन्। ग्राहकले मोलमोलाइ गरेमा सस्तोमै ऋण पाउँछन्।'
सञ्चालनमा रहेका ३२ मध्ये २६ वटा बैंकले आधार दर निर्धारण गरिसकेका छन्। नौं वटा वाणिज्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६.८ प्रतिशत छ।
सबैभन्दा वढी आधार दर कृषि विकास बैंकको छ। बैंकले १२.३९ प्रतिशत आधार दर तोकेको छ। नयाँ आएको सेन्चुरी कमर्सियल बैंकको आधार दर ११.०७ प्रतिशत छ। कृषि र सेन्चुरीसहित १० वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। ९ प्रतिशतको बीचमा ८ वटा वाणिज्य बैंकको आधार दर छ।
स्ट्यान्डर्ड चार्टर्डपछि एभरेष्ट, नबिल, हिमालयन, बैंक अफ काठमाण्डू, मेगा, नेपाल एसबिआइ र सिटिजन्स् बैंकको आधार दर ९ प्रतिशतभन्दा  तल छ। कम आधार दर भएको बैंकमा ऋण लिँदा मोलमोलाइ गरे सस्तोमा ऋण पाइन्छ। आधार दर कम भएपनि कतिपय बैंकले ऋणको ब्याज उच्च राखेका छन्।
महँगोमा निक्षेप उठाइरहेका बैंकहरुको पुँजी लागत वढी भएकाले उनीहरुको आधार दर उच्च छ। पुराना र ठूला बैंकले सस्तोमा नै निक्षेप उठाइरहेकाले आधार दर  कम छ। कतिपय नयाँ बैंकहरुले पनि निक्षेपको ब्याज घटाएका कारण लागत कम भएर आधार  दर तल आएको छ।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिविलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर, नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनु पर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर वढी भएको हो।
पुरानो बैंक नबिलको आधार दर ७.२६ प्रतिशत छ। हिमालयन बैंकको ८.२३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.२९ प्रतिशत आधार ब्याज दर छ। 
सिटिजन्स्को ८.९२ प्रतिशत, ग्रान्ड बैंक नेपालको १०.४९ प्रतिशत र कमर्ज एन्ड ट्रस्टको १०.१४ प्रतिशत आधार दर रहेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौं प्रतिशतको हाराहारीमा छ।
'बैंकहरुले आधार दरमा नै ऋण उपलब्ध गराउनु पर्छ भन्ने छैन। उनीहरुले जोखिम मूल्यांकन गरेर आधार दरभन्दा केही माथि लगानी गर्न पाउँछन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'आधार दरमा ऋण दिने भन्ने होइन। योभन्दा माथि व्याज तोकिन्छ।'
लक्ष्मी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र कुमारी बैंकले आधार दर औपचारिक रुपमा सार्वजनिक गरिसकेका छैनन्। उनीहरुले राष्ट्र बैंकलाई भने आफ्ना दर पठाइ सकेका छन्।
व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। आधार दरलाई बैंकहरुले 'रिफरेन्स' का रुपमा लिएर लगानी गर्छन्। 
बैंकहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको शुत्र (फर्मुला) का अधारमा निस्कासन गर्नु पर्छ। व्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
'न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धि व्याजमा ऋण पाउने छन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालनय बैंकका प्रमुख कार्यकारी अधिकृत र अशोक राणाले भने।
राष्ट्र बैंकले आधार व्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत  सम्पति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको  छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शुन्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्युनतम व्याज निकाल्नु पर्छ। 
नेपालका बैंकहरुका लागि आधार व्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागू गरेको हो। अघिल्लो महिनाको वित्तीय विवरण  र तथ्यांकका आधारमा बैंकहरुले आधार दर गणना गर्छन्।

अनलराज भट्टराई भन्छन्- लगानीकर्ताले अधिकतम प्रतिफल पाउने छन्

अनलराज भट्टराई
प्रमुख कार्यकारी अधिकृत
कमर्ज एन्ड ट्रष्ट बैंक
लगानीका लागि कमर्जको सेयरमा आकर्षक पक्ष के छ?
सेयरमा लगानी दुई किसिमले हुने गर्छ। एउटा तत्काल नाफा गर्न र अर्को, सम्पतिको मूल्य वढाउनका लागि। हाम्रो सेयरमा दुवै खाले आम्दानीको अवशर छ। कमर्जको सेयरबाट निरन्तर प्रतिफल प्राप्त गर्न सकिन्छ।
हामीभन्दा पछाडि दुई वटा आए र अगाडि २८ बैंक सञ्चालनमा थिए। ३२ बैंकमध्ये हाम्रो खर्च एकदमै कम छ। सञ्चालन खर्च कम गर्ने र सम्पति गुणस्तर राम्रो राख्ने हाम्रो योजना हो। हामीले प्रत्येक खर्चमा प्रतिफल खोज्छौं। प्रतिफल नआउने ठाउँमा खर्च गर्दैनौं। यसको फाइदा लगानीकर्तालाई नै हो। यसबाट लगानीकर्ताले पाउने प्रतिफल वढ्छ।
व्यवस्थापन र सञ्चालक समिति बैंक संस्थागत र दीगो रुपमा चलोस् भन्ने चाहन्छ। हामी  तत्काल नाफा गरेर भोली अप्ठेरोमा पर्ने लगानीमा विश्वास गर्दैनौं। नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन पच्छ्याएर अगाडि वढेका छौं। सुशासनमा कहिले पनि सम्झौता गर्दैनौं। जसले गर्दा लगानीकर्ता कहिले निरास हुनु पर्दैन।
बैंकले चालु वर्ष करिव २१ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ। नाफा वृद्धि दर हेदा लक्ष्य पुग्लाजस्तो देखिँदैन। यस्तोमा बैंकले कसरी प्रतिफल दिन सक्छ?
पुस मसान्तसम्म हामीले साढे ६ करोड नाफा गरिसकेका छौं। पुँजी लागत ६.९ प्रतिशत छ। सञ्चालन खर्च घटाएका छौं। १३ वटा शाखाबाट अरुले उठाएको निक्षेप हामीले उठाएका छौं। यसमध्ये ९ वटा शाखा नाफामा गइसकेका छन्। अर्को त्रैमासमा १० करोड नाफा पुग्छ। अहिलेकै अवस्थामा मुलुक रहयो भने पनि हामी १६ करोड नाफा त त्यतिकै गर्छौं। तर हाम्रो खर्च घटेको र अन्य आम्दानी वढेका कारण हामीले लिएको लक्ष त्यति ठूलो होइन।
लगानीकर्ताले कमर्जमा लगानी गरेपछि के आशा गर्न सक्छन्?
लगानीकर्ताले हाम्रो सेयरमा लगानी गरे वापत राम्रो प्रतिफलको आशा गर्न सक्छन्। बैंकको …स्ट्रेन्थ' वलियो भएकाले प्रतिफल राम्रो हुनेमा दुई मत हुन सक्दैन। अहिलेकै त्रैमास साढे ६ करोड नाफा पुग्छ। हामीलाई आगामी वर्ष राम्रो प्रतिफल दिन सक्छांै।
कतिसम्म आश गर्न सकिन्छ?
६० करोडको सेयर निकालेपछि हाम्रो न्युनतम पुँजी पुग्छ। पुँजी पर्याप्तता अनुपात पनि राम्रो स्थानमा हुन्छ। आगामी वर्षको अवस्था मूल्यांकन गरेर लाभांस घोषणा गछौं। त्यो बेला पुँजी वढाउनु पर्ने नीतिगत व्यवस्था भए वोनस सेयर दिन्छौं। नभए नगद लाभांस दिन्छौं। दुवै विकल्प हामीले खुला राखेका छौं। नीतिगत परिवर्तन नभए आगामी बर्ष नै पुँजी वृद्धि गर्ने पक्षमा हामी छैनौं। आजको भोली प्रतिफल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारबाट हुन्छ। बैंकको तर्फबाट भने लगानीकर्तालाई दीगो प्रतिफल दिन्छ।
कमर्जको सेयर लगानी कत्तिको सुरक्षित छ?
व्यवसायिक आचरण पालना गर्दै संस्थागत सुशासन कायम राखेर अगाडि वढ्छौं। प्रत्येक रुपैयाँ खर्च गर्दा हामी प्रतिफल खोज्ने भएकाले जोखिम हुने क्षेत्रमा जाँदैनौं। बैंकिङमा इमान्दारिता र स्वच्छता चल्ने भएकाले यसबाट हामी पछाडि हट्दैनौं। लगानी सुरक्षाको प्रत्योभूति भनेकै यही हो। लगानीकर्ताले गरेको लगानी एकदमै राम्रो ठाउँमा छ भन्ने विश्वास हुन आवश्यक छ। त्यो प्रत्याभूति हामी दिने छौं।
कमर्जले सँगै आएका बैंकले जस्तो सञ्जाल विस्तार गरेको छैन। कसरी लगानी वढाउँछ?
शाखा विस्तारको होडबाजीमा हामी लाग्दैनौं। १३ वटा शाखामध्ये ९ वटा नाफामा छन्। चाँडै तीन वटा थप्छौं। खुलेका  शाखा  नाफामा नगएसम्म  थप शाखा विस्तार गर्ने हाम्रो सोचाइ छैन। शाखा जहिले पनि नाफामा चल्नु पर्छ। विदेशी साझेदारमा खुलेका बैंकहरुले सुरुमा लिएको रणनीतिलाई मैले पनि पच्छ्याएको छु। शाखा विस्तार गरेर मात्र उपलब्धि हाँसिल हुँदैन। त्यसबाट प्रतिफल पनि आउनु पर्छ। 
हामीसँगै आएका बैंकहरुले शाखा धमाधम विस्तार गरेपनि हामीजस्तै नै निक्षेप संकलन गरेका छन्। ऋण पनि हाम्रै अनुपातमा छ। शाखाले मात्र व्यवसाय विस्तार हुने होइन। व्यवसाय विस्तार गर्न आक्रमक रुपमा  शाखा विस्तार गर्नु आवश्क छैन। आफ्नो क्षमता मूल्यांकन गरेर शाखा खोल्ने हो। अहिले हामीसँग ८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप नै पुगिसक्यो। कर्जा लगानी ७ अर्ब ८६ करोड गरिसकेका छौं।
चाँडै ठूलो बैंक बन्ने योजना सार्वजनिक गर्नु भएको छ यो कसरी संभव छ?
हामी 'युनिभर्सल' बैंकिङको अवधारणा अनुसार अगाडि बढ्दैछौं। ग्राहकले एउटै छानोबाट सबै खालको वित्तीय सुविधा पाउनु पर्छ। हामी गुणस्तरीय सेवाको पक्षमा छौं। हामी वित्तीय सेवका साथै सल्लाहकारको भूमिका पनि निर्वाह गर्छा।
भर्खरै साना व्यवसाय कर्जा योजना ल्यायौं। हामी यो कर्जा लिनेलाई सल्लाह र तालिम दिन्छौं। तालिमपछि प्रमाणपत्र पनि उपलब्ध गराउँछौं। बैंक भनेको ऋण दिने र निक्षेप लिने मात्र होइन। यससँग सम्वन्धित अन्य सेवा पनि दिनु पर्छ। हामी ग्राहकलाई बैंकिङ …ह्याविट' दिन्छौं। त्यही भएर आकारले होइन सेवाले ठूलो बैंक बन्ने लक्ष्य लिएका छौं।
खर्च कम गरेर ठूलो हुने हो। खर्च वढी गरेर कोही ठूलो हुँदैन। सेवा गुणस्तरीय दिन्छौं। सेवाका हिसावले ठूलो बैंक  बन्छौं भनेका हौं। पोर्टफोलियो बढाएर ठूलो हुनेभन्दा पनि पोर्टफोलियोको रिटर्नका हिसावले ठूलो हुने छौं।
बैंकका आगामी योजना के छन्?
हामी चाँडै नै शाखारहित र मोवाइल बैंकिङमा जाँदैछौं। ग्राहकले चाहेको हरेक सेवा   हामी उपलब्ध गराउँदै जान्छौं।
तरलता अभावको संकेत देखिन थालेको हो?
अहिले तरलता अभाव हुनेजस्तो देखिएको छ। सरकारी खर्च घटेकेा छ। यसले तरलता अभाव मात्र हुँदैन विकास निर्माण पनि घट्छ। सरकारले खर्च बढाएमा तरलतामा सहज भइहाल्छ।

फेरी तरलता अभावको संकेत

सुदर्शन सापकोटा
काठमाडौं, माघ २४
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा फेरी तरलता अभावको संकेत देखिएको छ। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकोक छ। यसले गर्दा बचत संकलनमा कमी भएर तरलता अभावको संकेत देखिएको छ।
अभावको संकेत देखिएपछि वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन राष्ट्र बैंकसँग आग्रह गर्ने भएको छ। संघका सबै सदस्य बैंकबीच रिपो नियमितका लागि राष्ट्र बैंकसँग औपचारिक आग्रह गर्न छलफल भइसकेको छ। 
'तरलता अभावको संकेत देखिन थालेकाले बेलैदेखि रिपो जारी गर्न आग्रह गर्दैछौं,' संघका एक सदस्य बैंकरले भने, 'सरकारी कोषमा बचत जम्मा भएकाले अभाव देखिन थालेको हो।' सरकारी खर्च हुन थालेपछि भने तरलता फेरी बजारमा आउने ती बैंकरले जानकारी दिए।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत १ अर्ब ६० करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.९ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २२.७ प्रतिशतमा झरेको छ। मंसिरसम्म कुल १६३ अर्ब ४९ करोड रेमिट्यान्स् भित्रिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेपको वृद्धि दर समेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप वढेको थियो। यसपाली जम्मा ७० अर्ब ८३ करोडले वढेको छ। यही अवधिमा बैंकहरुको कर्जा लगानी भने व्यापक विस्तार भएको छ।
वाणिज्य बैंकहरुको कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष जम्मा    ३२ अर्ब २६ करोड वृद्धि भएको थियो।
'एकातिर निक्षेप वृद्धि हुने स्रोतहरु खुम्चिएको छ भने अर्कोतिर व्यापक रुपमा कर्जा विस्तार भएको छ,' ती बैंकरले भने, 'यसले गर्दा तरलता विस्तारै अभाव हुन थालेको छ। वेलैदेखि यसलाई शंवोधन गर्न आवश्यक छ।'
पछिल्लो समय बैंकहरुले आपसमा दिने सापटी (अन्तर बैंक) दरसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ। लामो समय ०.५० प्रतिशतमा कारोबार हुँदै आएको अन्तर बैंक सापटी तीन सातायता २.२५ प्रतिशतमा कारोबार हुन थालेको हो। पुस मसान्तको वरिपरी अन्तर बैंक कारोबार ४ प्रतिशतसम्म भएको थियो। कारोबार रकम ५० करोडबाट वढेर दैनिक ४ अर्ब पुगेको छ।
'केही सातायता कारोबार र सापटी दर दुवै वढेको छ,' ग्रान्ड बैंक नेपालका टे्रजरी विभाग प्रमुख सुशिल मानन्धरले भने, 'यसले विस्तारै तरलताको कमी हुन थालेको जनाउ दिन्छ।' उनले दैनिक २/३ वटा बैंकले सापटी कारोबार गर्नेमा अहिले वढेर १२/१३ बैंकको दैनिक कारोबार हुन थालेको जानकारी दिए।
राष्ट्र बैंकमा रहने वाणिज्य बैंकहरुको कुल बचत रकमसमेत घटेको  छ। निक्षेप रकम वढेको अनुपातमा राष्ट्र बैंकमा रहने बचतमा पनि वृद्धि हुनु पर्छ। तर, यो रकम ५१ अर्ब ६६ करोडमा झरेको छ। अघिल्लो पुसमा यस्तो बचत  ६४ अर्ब ४ करोड रुपैयाँ थियो।


वित्तीय अवस्था (रु.अर्बमा)
विवरण                                            चालु बर्षको पुस मसान्त                       अघिल्लो वर्षको पुस मसान्त
सरकारी बचत                                           ४३.६१                                                         १३.०८
वित्तीय प्रणालीमा बढेको निक्षेप                  ७०.८३                                                         ९७.३०
राष्ट्र बैंकमा वाणिज्य बैंकको बचत              ५१.६६                                                             ६४.०४
बाणिज्य बैंकको कर्जा वृद्धि                           ७२                                                              ३२.२६
रेमिट्यान्स                                     १६३.४९ (मंसिरसम्मको)                                            १६२.३७
शोधनान्तर बचत                             १.६ (मंसिरसम्मको)                                                     ६६.७१

बंगलादेश बैंकबाट एनबी ग्रुपको बर्चस्व हट्यो, ३८ लाख कित्ता सेयर २ सय ६० रुपैयाँका दरले विक्री

सुदर्शन सापकोटा
काठमाडौं, माघ २३
नेपाल बंगलादेश बैंकमा रहेको एनबी समुहको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारले खरिद गरेको छ। प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर खरिद गर्न दुवै समूहबीच बंगलादेशको राजधानी ढाकामा वुधबार औपचारिक सम्झौता भएको छ।
बंगलादेशी साझेदार आइएफआइसी बैंकले समूहको ३८ लाख ३ हजार ४ सय ३४ किक्ता सेयर खरिद गरेको हो। सेयर खरिदबाट एनबी समूहलाई ९८ करोड ८८ लाख ९२ हजार ८ सय ४० रुपैयाँ प्राप्त भएको छ।
'बैंकबाट समूहको एकाधिकार हटाउन सेयर विक्रीको स्वीकृति दिएका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, …अब केही सेयर वाँकी छ। ऋण चुक्ता गर्न नपुगे वाँकी सेयर पनि प्रकृया पुर्‍याइ विक्री गराएर ऋण तिर्न लगाइने छ।' सेयर विक्रीबाट आएको रकमले एनबी बैंक र नबिल बैंकको ऋण चुक्ता गर्न पुग्छ।
राष्ट्र बैंक स्रोतका अनुसार, समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंकलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
विक्रीअघि एनबी समूहको बैंकमा विभिन्न कम्पनीको नाममा ६० लाख कित्ता सेयर थियो । अब समूहसँग अझै २२ लाख किक्ता सेयर वाँकी छ।
सेयर खरिद–विक्री सम्झौतामा एनबी समूहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ र आइएफआइसी बैंकका प्रबन्ध निर्देशक एम शाह आलम सरवाले हस्ताक्षर गरेका छन्।
सञ्चालक समितिबाट हटेको एक वर्षसम्म सेयर विक्री गर्न नपाइने कानुनी व्यवस्थाका कारण वाँकी सेयर एनबी समूहसँगै छ। समूहका सदस्य केही महिना अघिसम्म एनबी बैंककै सञ्चालक थिए। ऋण भुक्तानी नगरेको भन्दै नबिल बैंकको सिफारिसमा समूहका सबै सदस्य कर्जा सुचना केन्द्रको कालोसुचीमा परेपछि तीन महिनाघि सञ्चालकबाट हटेका थिए।
आइएफआइसीले एनबी बैंकको अर्को साझेदार बैंक एसिया ढाकाको सेयरसमेत खरिद गरेको छ। बैंक एसियाको २६ लाख ६७ हजार ५ सय कित्ता सेयर खरिद गरेको हो। सेयर विक्रीसँगै बैंक एसिया एनबी बैंकबाट पूर्ण रुपमा वाहिरिको छ।
एनबी समूह र बैंक एसियाको गरी आइएफआइसीले ३२.४० प्रतिशत सेयर खरिद गरेको छ। ९.१८ प्रतिशत सेयर वोकेर बसेको आइएफआइसीसँग अब ४१.१८ प्रतिशत सेयर पुगेको छ। बैंक एसियासँग १३.७७ प्रतिशत सेयर थियो।
सम्झौतासँगै आइएफआइसीले राष्ट्र बैंकसँग मंगलबार अन्तिम स्वीकृति माग गरेको छ। १८ वर्षअघि खुलेको बैंकले सेयर खरिद सम्झौता बारेमा कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मंगलबार जानकारी गराएको छ। 
एनबी बैंकमा आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमानले प्रतिनिधित्व गरेका छन्। उनी अहिले बैंकको सञ्चालक समिति अध्यक्ष पनि हुन्। बैंक एसियाका तर्फबाट इरफानुद्दिन एहेमद सञ्चालक छन्। वाँकी चार जना नेपाली सञ्चालक छन्।
कालोसुचीमा परेका श्रेष्ठलाई बैंकिङ कसुर गरेको अभियोगमा प्रहरीले अनुसन्धानका लागि खोजिगरिरहेको छ। प्रहरीले उनलाई फरार सुचीमा राखेको छ। 
समूहले आफ्नो सेयर धितो राखेर विभिन्न व्यक्ति तथा संस्थाको नाममा श्रीलंका मर्चेन्टबाट ऋण चलाएको थियो। एनबी बैंकसँग मर्जर स्वीकृति पाएपछि अनियमित तवरबाट सेयर धितोमा ऋण उपलब्ध गराइएको थियो। ऋण दूरुपयोग गरेको भन्दै श्रीलंका मर्चेन्टका तत्कालिन कार्यकारी अध्यक्ष रुवी जोशी, सञ्चालकहरु श्रीराम लामिछाने र गौरीशंकर चौधरी प्रहरी हिरासतमा छन्। 
बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। सञ्चालक समितिमा प्रतिनिधित्व गरेको सेयर त्यहाँबाट हटेको एक वर्ष नपुगेकाले विक्री नगरिएको हो।
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन।
वित्तीय क्षेत्रमा बद्नाम एनबी समूहको झल्को दिने नाम भएकाले यसलाई परिवर्तन गर्ने तयारीमा सञ्चालक समिति छ। बैंकको साधारणसभाले नाम परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गरिसकेको छ।
एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। उनीहरुले हात हालेको सबै क्षेत्रमा आर्थिक वेथितिहरु भेटिने गरेको छ। एनबी समुहकै वद्मासिका कारण केही वर्षअघि बंगलादेश बैंक समस्यामा परेको थियो।
चलिरहेको हरिसिद्धि इटा टायल उद्योग एनबी समुहको हातमा गएपछि बन्द भएको थियो। एनबी समुहको सेयर रहेको नेसनल हाइड्रो पावर कम्पनीको अवस्थामा पनि नाजुक छ। एनबी इन्स्योरेन्समा आर्थिक अनियमितता भेटिएपछि बिमा समितिले केही महिनाअघि कारवाहीसमेत गरेको थियो।
'एनबी समुहले हात हाल्ने वित्तिकै कम्पनी विग्रियो भनेर वुझे हुन्छ,' यो समुहसँग नजिक भएर काम गरेका एक जानकारले भने, 'उसको हातमा रहेको कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। आर्थिक अनियमितता धेरै हुने गरेको छ।'
समूहले गरेको आर्थिक अनियमितताका घटनाहरु सार्वजनिक हुन थालेपछि उसले केही महिनाअघि प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था मजवुत भएको जनाएको थियो। आर्थिक अवस्था मजबुत भएको जनाउ आइरहेकै बेला बैंक तथा वित्तीय संस्थाहरुले ऋण भुक्तानी गर्न सार्वजनिक आह्वान गरिरहेका थिए।

बैंकका कर्मचारीको न्युनतम तलव १८ हजार

काठमाडौं, माघ २३
राष्ट्र बैंकले वाणिज्य बैंकका कर्मचारीको न्युनतम तलव तथा सुविधा १८ हजार रुपैयाँ हुने गरी नीति ल्याउने तयारी गरेको छ। सरकारी कर्मचारीले पाउनेभन्दा कम्तिमा डेढ गुणासम्म हुने गरी बैंकका कर्मचारीको तलव निर्धारण गर्न लागिएको हो।
बैंक तथा वित्तीय संस्थाहरुको माथिल्लो र तल्लो तहका कर्मचारीहरु बीचको तलब सुविधाको अन्तर धेरै फराकिलो हुन  थालेपछि यसलाई नियन्त्रण गर्न नयाँ नीति ल्याउन लागिएको हो। तल्लो तहका कर्मचारीलाई वढी काम लाउने तर त्यो अनुपातमा तलव सुविधा पाउने नगरको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको छ।
राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सबै तहका कर्मचारीको तलव सुविधालगायतको विवरण संकलन गरिसकेको छ। यसमा आवश्यक अध्ययन गरी राष्ट्र बैंकले नीति ल्याउन लागेको हो।
सरकारका खरदार  तहका कर्मचारीको तलव न्युनतम १३ हजार रुपैयाँ छ। कतिपय वाणिज्य बैंकमा काम गर्ने कर्मचारीको न्युनतम तलव साढे सात हजारसम्म छ। काम वढी लाउने तर तलव सुविधा राम्रो नदिने गरेको भेटिएछि राष्ट्र बैंकले ठूला र साना कर्मचारीको तलव अन्तर कम गर्ने नीति लिन लागेको हो।
'बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तलब सुविधामा हुने गरेको दूरी हटाउन नीति तर्जुमा भइरहेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'बजार भाउ र मूल्यवृद्धि सुहाउँदो तलव सुविधा हुने गरी नीर्देशन आउने छ।' उनका अनुसार, कतिपय बैंकले वाँच्न पुग्ने तलव सुविधा समेत दिएका छैनन्। केही बैंकहरुले वार्षिक रुपमा अनिवार्य दिनु पर्ने ग्रेडको रकमसमेत नदिएको पाइएको छ।
दक्ष कर्मचारी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले माथिल्लो  तहका कर्मचारीलाई तल्लोको भन्दा कयौं गुणा तलव दिन थालेका छन्। अन्य सुविधा पनि तल्लोको भन्दा माथिल्लोको निकै धेरै हुने गरेको छ। यही दूरीलाई कम गर्न नीतिगत व्यवस्था गर्न लागिएको हो।
राष्ट्र बैंकले खुला बजार सिद्धान्त अनुसार गुणस्तरीय सेवा प्रवाहमार्फत उपभोक्ताको हित संरक्षण  गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत जनशक्तिको श्रमको शोषण हुन नपाओस् भन्ने पृष्ठभूमिमा रहेर निर्देशन दिन लागेको हो। 'सवै तहका कर्मचारीको पारिश्रमिक निर्धारण  गर्दा पारदर्शीता कायम हुनु पर्छ,' ती अधिकारीले भने।
उनका अनुसार, सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु, लगानीकर्ताको प्रतिफल प्राप्तिमा पारदर्शीता स्थापित गर्नु राष्ट्र बैंकको जिम्मेवारी भित्र पर्छ। 'यस क्षेत्रमा प्रत्यक्ष संलग्न सञ्चालनको जिम्मेवारी वहन गर्ने जनशक्तिलाई कार्य सम्पादनको आधारमा पारदर्शी  तलव सुविधा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नु पनि हाम्रै काम हो,' उनले भने, 'यसको सुक्ष्म अनुगमन तथा नियमन गर्नका लागि पनि नीतिगत व्यवस्था आवश्यक छ।'
'राष्ट्र बैंकले असल नियतले नै नीतिगत व्यवस्था गर्न लागेको होला। तर पैसा नै तोक्न भने हुँदैन,' एक बैंकरल भने, 'कर्मचारीबीच तलव सुविधामा वढी नै दूरी हुनु राम्रो होइन।'
केन्द्रीय बैंकले कर्मचारीलाई मनसिक तनाव हुने गरी कार्य घण्टाभन्दा वढी काममा लगाएको भन्दै त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिन लागेको छ। दैनिक कार्यघण्टा किटान गरी हप्तामा कुल ४५ घण्टाभन्दा वढी कार्यसम्पादन गरेको भएमा प्रति घण्टा आधारभूत तलवको १ प्रतिशतका दरले भुक्तानी गर्नु पर्ने हुन्छ। राजधानी वाहिर जाने कर्मचारीलाई प्रोत्साहन भक्ता दिनसमेत निर्देशन दिइन लागिएको छ।
नेपालमा अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक, ६९ फाइनान्स कम्पनी र २७ लघुवित्त विकास बैंक सञ्चालनमा छन्।
'बैंकिङ क्षेत्र अझै पनि पारदर्शी हुन सकेको छैन,' केन्द्रीय बैंकका एक अधिकारीले नागरिकसँग भने, 'त्यसमा पनि आन्तरिक वित्त र कर्मचारी भर्ना प्रकृया पारदर्शी हुन सकेको छैन।' 
स्रोतका अनुसार, नेपालमा बजार स्वयंमले आफ्नै कार्यसन्चालन प्रणालीलाई स्वनियमन गर्न सक्ने अवस्था नआउन्जेल बैंक तथा वित्तीय संस्थामा भरपर्दो सुशासनको प्रत्याभूति दिन नीतिगत व्यवस्था तय गर्नु परेको हो।
केन्द्रीय बैंकले …बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावलीमा आवश्यक परिमार्जन गरी एकरुपता कायम गर्न' भन्दै निर्देशन दिन लागेको हो।
राष्ट्र बैंकले प्रतिवेदनमा संस्थाको स्तरअनुसार टेलिफोन, पत्रपत्रिका खर्चमा पनि सीमा तोक्ने तयारी गरेको छ। व्यक्तिगत दुर्घटना बीमामा पनि आवश्यक निर्देशन दिने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए। केन्द्रीय बैंकले कर्मचारी नियुक्तिलाई पारदर्शी बनाउनका लागिसमेत निर्देशन दिने छ। 

ब्याज अन्तर घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्ने

सुदर्शन सापकोटा, काठमाडौं, माघ २२ - बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो हुन थालेपछि राष्ट्र बैंकले यसको नियन्त्रण तयारी गरेको छ। असोजदेखि नै स्प्रेड दरलाई नजिकबाट अनुगमन गरिरहेको राष्ट्र बैंकले यसलाई स्वभाविक स्तरमा ल्याउन हस्तक्षेपको तयारी गरेको हो।
'हामीले ब्याज दर अनुगमन गरिरहेका छौं। स्प्रेड दर बान्छनीयस्तरभन्दा बढी हुनु हुँदैन,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'बढी स्प्रेडलाई हामी प्रश्रय दिन सक्दैनौं।' उनले स्प्रेड अस्वभाविक रुपमा बढेको सन्दर्भमा उपयुक्त कदम चालिने जानकारी दिए।
पुस मसान्तसम्मको वासलात सार्वजनिक गरिरहेका बैंकहरुले फराकिलो स्प्रेड दरका कारण नाफा वृद्धि गरेको देखाएका छन्। अहिलेसम्म सबैभन्दा बढी स्प्रेड एनबी बैंकको छ। एनबीको ६.२७ प्रतिशत स्प्रेड छ। यसपछि सिटिजन्स् बैंक इन्टरनेसनलले ५.८१ प्रतिशत स्प्रेड दर देखाएको छ।
कतिपय ऋणको ब्याज र किस्ता नउठेर नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्याउँदासमेत बैंकहरुले राम्रो नाफा देखाएका छन्। फराकिलो स्प्रेड दरका कारण नै उनीहरुले नाफामा वृद्धि गरेका हुन्।
असोज मसान्तमा नोक्सानी व्यवस्था वापतको रकम दोब्बरले बढ्दासमेत नाफामा उल्लेख्य सुधार भएको थियो। सञ्चालन नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनुपर्ने हुँदा खुद नाफा घट्छ। तर असोजमा ४१ प्रतिशतले नाफा वृद्धि भएको थियो।
राष्ट्र बैंक स्रोतका अनुसार स्प्रेड दर चार प्रतिशतभन्दा कम हुनु पर्छ। 'वाणिज्य बैंकहरुले ४ प्रतिशतभन्दा माथि स्प्रेड दर राख्न नहुने अघोषित नियम नै हो,' स्रोतले भन्यो, 'पछिल्लो समय स्प्रेड बढेको गुनासो बढी नै आउन थालेकाले यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ।'
बैंकरहरु भने आधार दर कार्यान्वयनमा आइसकेकाले स्प्रेड दरको पछाडि दौडन नहुने बताउँछन्। 'आधार दर आइसकेकाले बैंकहरुले आफ्नो जोखिम हेरी केही नाफाको हिस्सा तोक्छन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, 'स्प्रेड धेरै/थोरै भयो भनेर ध्यान दिनु आवश्यक छैन।'
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार अघिल्लो असोजको तुलनामा निक्षेपकर्तालाई भुक्तानी गर्नुपर्ने ब्याज रकम ५ प्रतिशतले घटेको छ। ऋणीहरुबाट उठाएको ब्याज रकमको वृद्धि दर भने ७ प्रतिशतले बढेको छ। पुसमा स्प्रेड दर अझ फराकिलो भएको राष्ट्र बैंकको अनुगमनमा देखिएको छ।
राजनीतिक अन्योल बढ्दै गएको, घरजग्गा कारोबारमा सुधार नआएको र नयाँ उद्योगधन्दा आउने अवस्था नभएका कारण बैंकहरुले स्प्रेड बढाएर नाफा सुरक्षित गरेका हुन्।
ब्याज दर घट्दो अवस्थामा हुँदा स्प्रेड फराकिलो हुन्छ। गत वर्ष निक्षेपको ब्याज १२ प्रतिशतको हाराहारीमा थियो। ऋणको ब्याज १४/१५ प्रतिशतमा थियो। अहिलेको पुसमा निक्षेपको ब्याज ५/६ प्रतिशतमा झरे पनि ऋणको १२/१३ प्रतिशतभन्दा ओर्लेको छैन। लिने र दिने ब्याजमा उच्च फरक गरेका कारण बैंकहरुको आम्दानीसँगै नाफामा वृद्धि भएको हो।
अघिल्लो वर्ष स्प्रेड दर ४ प्रतिशतको हाराहारीमा थियो। पछिल्लो समय पैसा प्रशस्त जम्मा हुन थालेपछि बैंकहरुले दिने ब्याजका तुलनामा लिने ब्याज नघटाउँदा स्प्रेड दर बढ्दै गएको हो। यसले बैंकहरुमा पैसा राख्ने सर्वसाधारण र कर्जा लिने उद्योगी व्यवसायी दुवैलाई मर्का पारेको छ।

हिमालयनले ५० हजार कार्ड फेर्दै

सुदर्शन सापकोटा, काठमाडौं, माघ १९ - ग्राहकको जानकारीबिना रकम झिकिएपछि डेबिट कार्ड कारोबार बन्द गरेको हिमालयन बैंकले ५० हजार कार्ड फेर्ने भएको छ। भारतको नयाँ दिल्लीबाट ग्राहकको पैसा झिकिन थालेपछि बैंकले यसलाई रोक्न कार्ड फेर्न लागेको हो। 
हिमालय बैंक र उसँगको गेटवे प्रयोग गरेका बैंकहरुले पनि केही कार्ड र पिन नम्बर परिवर्तन गरेका छन्। हिमालयन बैंकको कार्डमा समस्या आएपछि एस डेभलपमेन्ट बैंक र एनआइसी बैंकले पनि कार्ड कारोबार रोकेका थिए।
हिमालयनले मे २०१२ अघि जारी कार्डहरु परिवर्तन गर्न लागेको हो। बैंकले ग्राहकलाई आफ्नो नयाँ कार्ड लिन आह्वान गरिरहेको छ।
'६ महिनाअघि जारी कार्डबाट ठगी भएकाले त्यो बेला जारी भएका सबै कार्ड हटाएर नयाँ वितरण सुरु गर्दैछौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'अब कार्डमा समस्या छैन।'
बैंकले सुरक्षा प्रणाली बलियो भएको नयाँ प्रविधिको कार्ड प्रयोगमा ल्याइसकेको छ। यी कार्ड प्रयोग हुनुअघि जारी कार्डबाट ठगी भएको थियो। 'पुराना कार्डको मिति नसकिएकाले तिनीहरु परिवर्तन गरेका थिएनौं,' राणाले भने, 'त्यही कार्ड अहिले दुरुपयोग भएको हो।'
बैंकले आफ्नो कार्डको पिन नम्बर र डेबिट कार्ड परिर्वतन गर्न आग्रह गरिसकेको छ। कार्ड दुरुपयोगपछि बैंकले कार्ड सेवा बन्द गरेका थिए। हिमालयन बैंकले इएमभी कार्ड वितरण सुरु गरिसकेको राणाले बताए।
राणाका अनुसार एउटा कार्डको मूल्य २ सय रुपैयाँ पर्छ। हिमालयनको गेटवे लिएका बैंकहरुले २ सय ५० रुपैयाँसम्म कार्डमा खर्चिनुपर्छ। एस डेभलपमेन्ट बैंकले ६ हजार कार्ड परिवर्तन गरिसकेको प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले जानकारी दिए।
हिमालनयन बैंकका तीन लाख कार्डवाहक छन्। अन्य बैंकको समेत गरेर पाँच लाख ग्राहकले केही दिन कार्ड प्रयोग गर्न नपाएर दुःख पाएका थिए। खासगरी भारत गएका ग्राहकले वैकल्पिक बाटो प्रयोग गर्न नपाएकाले उनीहरुले बढी मार सहनुपरेको छ।
बैंकको कार्डबाट उसैको पूर्वकर्मचारीसहित गिरोहले गठी गरेको पुष्टि भएको छ। तर अवैधानिक रुपमा कार्ड दुरुपयोग गरेर पैसा झिक्नेहरु अझै पक्राउ पर्न सकेका छैनन्।
हिमालयन बैंकको चार महिनअघि भिसा मास्टर कार्डबाट पौने ६ करोड रुपैयाँ ठगी गर्ने आफ्ना तत्कालिन डेपुटी म्यानेजर अनिसभत्त सुवालको टोली अहिलेको ठगी कान्डमा सक्रिय रहेको देखिएको छ। पौने ६ करोड ठगेर फरार भएका सुवालले भारतमा गएर पुनः कार्डबाट पैसा झिकेका हुन्।
बैंक स्रोतका अनुसार कार्डबाट करिब करोडको हाराहारीमा दुरुपयोग भएको छ। गिरोहले मन्लाग्दी जुनसुकै खाताको पैसा झिकेको हो। त्यही भएर बैंकले सेवा बन्द गर्नुपरेको हो। बैंकले सबै नयाँ कार्ड वितरणपछि सेवा नियमित गर्ने छ। सुवालले अघिल्लोपटक पाँच करोड ७६ लाख रुपैयाँ हिनामिना गरेका थिए।
कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटकपटक गरेर रकम झिकेका थिए।

१ करोडले बैंकमा बचत गर्छन, जम्मा ७ लाख ६९ हजारले ऋण झिक्छन्

३९ प्रतिशत जनसंख्याको बैंक बचत खाता


सुदर्शन सापकोटा
काठमाडौं, माघ १७
बैंक तथा वित्तीय संस्थाले शाखा सञ्जाल विस्तार गरेपछि ३९ प्रतिशत  जनसंख्याले निक्षेप खाता खोलेका छन्। एक वर्ष अघिसम्म ३१ प्रतिशतसँग मात्र निक्षेप खाता रहेकोमा चालु वर्षको पुस मसान्तसम्म १ करोड ३ लाख ७३ हजार ८२० जनाको निक्षेप खाता छ।
निक्षेप खाता वढेपनि बैंक तथा वित्तीय संख्थाबाट ऋण लिनेको संख्या भने धेरै नै कम छ। ३२ वाणिज्य बैंक, ९० विकास बैंक, ६७ वटा फाइनान्स कम्पनी र २७ वटा लघुवित्त विकास बैंकहरुबाट जम्मा ७ लाख ६९ हजार १७३ जनाले मात्र ऋण लगेका छन्।
…अहिले बैंक तथा वित्तीय संस्थाहरुको एउटा शाखाले औषतमा १० हजार ८ सय जनालाई सेवा दिइरहेका छन्,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, …वित्तीय साक्षरता वढ्न थालेसँगै वित्तीय सेवा लिनहरुको संख्या वृद्धि भएको छ।'
पुससम्म वाणिज्य बैंकहरुले १ हजार १ सय ६०, विकास बैंकहरुले ७ सय १२, फाइनान्स कम्पनीहरुले २ सय ९७ र लघुवित्त विकास बैंकहरुले ५ सय ६७ वटा शाखा विस्तार गरेका छन्।
राष्ट्र बैंकका अनुसार, निक्षेप खाता भएकामध्ये २० प्रतिशतले मात्र एटिम तथा डेविट कार्ड सेवा लिएका छन्। अहिले देशभर २२ लाख ३९ हजार ८ सय ४० जना डेविट कार्ड सुविधा लिनेहरु रहेको राष्ट्र बैंकले जनाएको छ। क्रेडिट कार्ड लिनेको संख्या अझ कम छ। पुस मसान्तसम्म ३९ हजार १ सय ३० जनाले क्रेडिट कार्ड सुविधा लिएका छन्। अहिले देशभर १ हजार १ सय ८७ वटा एटिम काउन्टर छन्।
केही समयअघि विश्व बैंकले गरेको अध्ययनले,  विगत आठ वर्षमा एटिएम प्रयोगकर्ता ह्वात्तै वढेको देखाएको छ। तर, एक लाख जनसंख्याको एउटा एटिएममा पहुँच छ। अध्ययनका अनुसार नेपालमा बैंकिङ पहुँच दक्षिण एसियाकै कमजोर अवस्थामा रहेको देखाएको थियो।
विश्व बैंकको अध्ययनमा नेपालका व्यावसायिक संस्थाहरुले एकदमै थोरैमात्र वित्तीय सेवा लिने गरेको उल्लेख छ। लघु, साना, मझौला र ठूलासमेत सबै गरेर ४४.९ प्रतिशत व्यावसायिक संस्थासँग बैंक बचत खाता छ। यसमध्ये ३२.५ प्रतिशत लघु संस्था, ७१.७ साना, ९०.३ मझौला र सवै ठूला संस्थासँग बचत खाता छ। १०.२ प्रतिशत व्यावसायिक संस्थाले ओभरड्राफ्ट सुविधा प्रयोग गर्छन्। यसमध्ये ४.४ लघु, २१.२ साना, ४५.९ मझौला र ७८.५ ठूलाले ओभरड्राफ्ट प्रयोग गर्ने गरेका छन्।
पछिल्लो दुई वर्षलाई आधार मान्दा २३ प्रतिशतले बैंक ऋण माग गरेका छन्। ५७ प्रतिशतले बैंक ऋण आवश्यक नभएको जनाएका छन्। नेपालमा ऋण लिनका लागि ७०.४ प्रतिशत धितो राख्नुपर्छ। यो धितो  व्यक्तिगत सम्पत्तिका लागि हो। सबैभन्दा कम मेसिनरी र उपकरण खरिदमा राखे पुग्छ। १०.६ प्रतिशत धितो राख्दा ऋण पाइन्छ।
अध्ययनले नेपालमा वित्तीय क्षेत्रको पहुँच बढाउन राष्ट्र बैंकले काम गरिरहेको भए पनि अपर्याप्त भएको जनाएको छ। वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले सुपरिवेक्षकीय र नियमनकारी भूमिका बढाउन आवश्यक भएको अध्ययनमा उल्लेख छ।