अनुत्पादक क्षेत्रमा लगानी वढी

आर्थिक सर्वेक्षण
सुदर्शन सापकोटा
काठमाडौं असार २७
लामो समय लगानी गर्नुपर्ने उद्योगधन्दामा भन्दा तत्काल प्रतिफल पाइने घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ ।
आर्थिक सर्वेक्षणअनुसार उत्पादनमूलक उद्योगधन्दामा जाने कर्जाको वृद्धिदर यस वर्ष साढे ९ प्रतिशतमा सीमित भएको छ । गत वर्ष १२ प्रतिशत थियो । घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा जाने कर्जा भने करिब दोब्बर बढेको छ ।
उत्पादनमूलक क्षेत्रको कर्जाले रोजगार अवसर वृद्धि र वस्तु उत्पादनमा सहयोग पुर् याउँछ । बजार मूल्य नियन्त्रण र कृषिजन्य आयात निरुत्साहित गर्न यसमा बढी लगानी हुनुपर्छ । जबकि घरजग्गामा हुने लगानीले पुँजी निस्क्रिय बसिरहन्छ । नयाँ रोजगारको अवसर सिर्जना हुँदैन । अर्थविद्हरुले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नुको कारण यसैलाई बताउँदै आएका छन् ।
सर्वेक्षणअनुसार गत वर्ष साउनदेखि फागुनसम्म ७ अर्ब ७१ करोड रुपैयाँ घरजग्गामा लगानी भएको थियो । यस वर्ष त्यही अवधिमा यस्तो कर्जा १४ करोड ९२ लाख पुगेको छ । लगानी वेपत्तासँग बढेपछि केही महिनाअघि राष्ट्र बैंकले घरजग्गामा जाने कर्जा नियन्त्रण गर्न सीमा तोक्नुपरेको थियो ।
यस वर्ष निजी क्षेत्रलाई जाने कर्जा भने बढेको सर्वेक्षणले देखाउँछ । यसअन्तर्गत थोक तथा खुद्रा व्यापार वित्त बिमा र सेवा क्षेत्रमा हुने लगानी पर्छ ।
बैंकहरुले निजी क्षेत्रमा गर्ने लगानी ६६ अर्ब ७० करोड रुपैयाँ बढेको छ । यो अघिल्लो वर्षको तुलनामा साढे १६ प्रतिशत वृद्धि हो । गत वर्षको वृद्धिदर १६।३ प्रतिशत थियो ।
थोक तथा खुद्रा व्यापारमा हुने लगानी गत वर्षको १० प्रतिशतबाट २३ प्रतिशत नाघेको छ । वित्त बिमा तथा स्थिर सम्पत्तितर्फ २४ बाट ४१ प्रतिशतभन्दा बढी लगानी भएको छ । सेवा क्षेत्रको लगानी पोहोरको १२ बाट २० प्रतिशत पुगेको छ ।
चालू वर्ष बैंकहरुको तरल कोष झन्डै १० प्रतिशत घटेको छ । राष्ट्र बैंक र विदेशमा रहेको मौज्दातमा कमी आएकाले तरल कोष घटेको हो । विदेशी मौज्दात ४ अर्ब २५ करोड केन्द्रीय बैंकमा रहने मौज्दात १० अर्ब ८ करोड र सरकारी ऋणपत्रमाथिको लगानी ८ अर्ब ८२ करोड रुपैयाँ घटेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धिदरमा पनि १० प्रतिशतभन्दा बढीको कमी आएको छ । गत वर्ष बैंकहरुको निक्षेप संकलन ६० अर्ब १७ करोड रुपैयाँ बढेको थियो । यसपालि २२ अर्ब ९० करोड रुपैयाँ मात्र थपिएको छ ।
चालू वर्ष फागुनसम्म बैकको कर्जा ६९ अर्ब ७७ करोड रुपैयाँ बढेको छ । यो गत वर्षको तुलनामा साढे १५ प्रतिशत वृद्धि हो । गत वर्ष यसै अवधिमा ५३ अर्ब १८ करोड रुपैयाँ कर्जा बढेको थियो ।
निक्षेप संकलन र कर्जा प्रवाहको असन्तुलनले वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात फागुनसम्म ९० प्रतिशत पुगेको छ । गत असारसम्म यो अनुपात ८१ प्रतिशत थियो । बैंकहरुले विगतमा जस्तै निक्षेप बढ्ने अनुमानमा कर्जा विस्तार गरेकाले अनुपात बढेको सर्वेक्षणमा उल्लेख छ ।
बैंकहरुले गत असारदेखि पुससम्म आउँदा निस्क्रिय कर्जा ८४ करोड ७० लाख रुपैयाँ घटाएका छन् । असारमा यस्तो कर्जा १४ अर्ब ३७ करोड ३० लाख थियो । पुसमा १३ अर्ब ५२ करोड ६० लाखमा झरेको छ । २०६४ असार मसान्तमा यो अहिलेको भन्दा झन्डै दोब्बर २३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ थियो ।


बैंकिङ सेवा विस्तार
यस वर्ष बैंकिङ सेवा लिनेहरुको संख्या बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । वाणिज्य बैंकहरुले एकपछि अर्को नयाँ शाखा खोलेपछि बैंकिङ सेवाको दायरा फराकिलो भएको हो ।
सर्वेक्षणअनुसार अघिल्लो असारसम्म वाणिज्य बैंकका ७ सय ५२ शाखा थिए । चैतसम्म आउँदा यो ८ सय ४५ पुगेको छ । बैंकले एउटा शाखा बराबर ३३ हजार ४ सयलाई सेवा दिँदै आएका छन् ।
शाखासँगै प्रतिव्यक्ति औसत निक्षेप पनि बढेको छ । २०६५ चैतमा प्रतिव्यक्ति औसत निक्षेप संकलन १८ हजार २ सय १७ रुपैयाँ थियो । यसपालि २० हजार २ सय ९३ रुपैयाँ पुगेको छ । कर्जा पनि औसत १५ हजार १ सय ९७ बाट १८ हजार २ सय ९७ रुपैयाँ पुगेको छ ।
ुयसलाई जनसंख्यासँग तुलना गरी हेर्दा उल्लेखनीय प्रगति भएको देखिन्छु सर्वेक्षणमा भनिएको छ ।


पुँजी बजार
चालू वर्ष चैत मसान्तसम्म १९ कम्पनीले साधारण र २० कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यी कम्पनीमार्फत् ८ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर बजारमा आएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्ष चैतको तुलनामा चालू वर्षको चैतसम्म सेयर बजार पुँजीकरणमा १८ प्रतिशतभन्दा बढीको कमी आएको छ । ४ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण ३ खर्ब ४४ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०६५÷६६ को अन्त्यतिर यो ५ खर्ब १२ अर्ब ९३ करोडसम्म पुगेको थियो ।

सेयर कारोबार रकममा पनि उल्लेख्य ह्रास आएको छ । गत आर्थिक वर्षको चैतभन्दा चालू वर्ष यसै अवधिमा कारोबार रकम ४२ प्रतिशत घटेको छ । गत वर्ष चैतमा १६ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो वर्षको चैतसम्म घटेर ९ अर्ब ८६ करोड रुपैयाँ आएको छ ।

No comments:

Post a Comment

thanks for comment