सुन ल्याउने जिम्मा राष्ट्र बैंकलाई

काठमाडौं, भदौ ३० - भन्सार दर बढाउने प्रयास असफल भएपछि सरकारले सुन आयातको जिम्मा राष्ट्र बैंकलाई दिने भएको छ। सुनको भन्सार दर बढाउन कानुनी व्यवस्थाको अभाव भएपछि सरकारले आयात खुला गर्न राष्ट्र बैंकलाई यस्तो जिम्मेवारी दिन लागेको हो।

सरकारले आयात रोकेपछि बजारमा मुल्यमा भएको अन्तर, कालोबजारी र अस्थिरतालाई रोक्न सरकारले यस्तो नीति ल्याएको हो।
अर्थ मन्त्रालय स्रोतका अनुसार मंगलबार वाणिज्य सचिव पुरुषोतम ओझा र राजस्व सचिव कृष्णहरि बाँस्कोटालगायतका अधिकारीबीच राष्ट्र बैंकलाई सुन आयात गर्न दिने सहमति भएको छ। 'राष्ट्र बैंकलाई सुन आयात गर्न दिने विषयमा छलफल भयो' बाँस्कोटाले नागरिकसँग भने ' राष्ट्र बैंकलाई जिम्मेबारी दिए अहिलेको समस्या समाधानमा सहयोग पुग्नेछ।'


भन्सार दरको फरकका कारण नेपालभन्दा भारतमा सुन चाँदी महँगो भएकाले पछिल्लो समयमा यसको अबैध आयात बढेको छ। सरकारले नेपाल हुँदै भारतमा सुन जान थालेपछि अध्यादेशमार्फत् भन्सार दर बढाएको थियो। तर, अध्यादेशको कानुनी वैधता समाप्त भएपछि सरकारले भदौ १८ बाट सुन आयात बन्द गरेको थियो। नेपालमा प्रति दशग्राम सुनको भन्सार १ सय ३० रुपैयाँ छ। भारतमा यसको ४ सय ७० रुपैयाँ छ।

सुन आयात रोकिएपछि कालोबजारी सुरु भएको छ। भारतबाट समेत अवैध रुपमा सुन आयात हुन थालेको छ। भारतबाट आयात हुँदा मुलुकले पाउने राजस्व गुम्ने र विदेशी मुद्रा समेत बाहिरिने कारण सरकारले आयात खुला गर्न राष्ट्र बैंकलाई दिने बाटो रोजेको हो।

राष्ट्र बैंकले आफुले आयात गरेको सुनको मूल्य निर्धारण गरि सम्बन्धित व्यवसायीलाई दिनेछ। यसमा भारतमा भन्दा सस्तो नहुने गरेर उसले मूल्य तोक्नेछ। बजार मुल्य भने व्यवसायीलाई तोक्न दिइनेछ। बजारको माग र देशको आवश्यकताअनुसार राष्ट्र बैंकले सुन आयात गरी वितरण गर्ने योजना बनाएको स्रोतले बतायो।
बैंकहरुमा रहेको सुन व्यवसायीले नलगेको जनाउँदै राष्ट्र बैंकले बजारमा प्रशस्त सुन रहेको अनुमान गरेको छ। गत आर्थिक वर्षमा ४२ अर्बको सुन आयात भएकाले अभाव नहरेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्।

अहिले वाणिज्य बैंकहरुसँग १ सय ३० किलो सुन मौज्दात छ। दैनिक १० किलोको दरले वितरण गर्दा यो १३ दिनका लागि पर्याप्त हुन्छ। यसपछि आवश्यक व्यवस्था राष्ट्र बैंकमार्फत मिलाइने अधिकारीहरु बताउँछन्। दैनिक १० किलो आयात भएको सुनमध्ये ४ किलो वाग्मती अञ्चल बाहिर बिक्री गर्ने व्यवस्था गरिएको छ। बाँकी ६ किलो सुनमध्ये व्यवसायीका संघमार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ।

सुनको मूल्य नेपाल सुनचाँदी कला व्यवसायी संघ, नेपाल सुनचाँदी आभुषण व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी संघलाई तोक्ने अधिकार दिएपछि विवाद बढेको हो। अहिले व्यवसायिले सुन खरिद गरेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघले विवाद समाधानका लागि बनाएको संयन्त्रको निर्णय पनि व्यवसायीले पालना गरेका छैनन्।

अहिलेको विवादका कारण व्यवसायीले बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३८ हजार रुपैयाँसम्म तोकेका छन्। बैंकको मूल्य अनुसार सुन प्रति तोला ३६ हजार ७ सय रुपैयाँमा पाउनुपर्ने हो। माग अनुसार सुन नभएको भन्दै व्यवसायीले एक हजार पाँचसयसम्म बढीमा बिक्री गरिरहेका छन्।
व्यवसायीले सुनमा लगाएको कोटा प्रणाली खारेज वा स्थगित गर्न समेत माग राखेका छन्। उनीहरुले सुन विधेयक टुङ्गो नलागेसम्म झिटीगुन्टाबाट आयातको व्यवस्था गर्न आग्रह गरेका छन्।

No comments:

Post a Comment

thanks for comment