कोमेनमा स्वदेशी मूल्यका आधारमा गहुँ कारोवार


नागरिक संवाददाता
काठमाडौं असोज १०
कमोडिटीज एन्ड मेटल एक्सचेन्ज नेपाल कोमेन ले सोमवारदेखि स्वदेशको मूल्यको आधारमा गहुँको फ्युचर कारोवार सुरु गर्ने भएको छ । आगामी अक्टोबर नोभेम्बर र डेसेम्बर महिनाका लागि करार कन्ट्राक्ट सुरु गरिने कारोवार म्याचिङ आधारमा गरिएको कोमेनका प्रमुख कार्यकारी विजय सत्यालले जानकारी दिए ।

गहुँको आधार मूल्यका लागि कोमेनले मोरङ व्यापार संघसँग सम्झौता गरेको छ । करार समाप्त भएको दिनको सेटलमेन्ट संघले उपलब्ध गराएको मूल्यका आधारमा हुने कोमेनले जनाएको छ । करार समाप्त हुनुभन्दा पाँच दिनअघि 'डेलिभरी इन्टेनसन डे' हुनेछ । यो दिन डेलिभरी लिने तथा दिनेबीच सहमति भए डेलिभरी हुने व्यवस्था मिलाइएको छ ।
गहुँको करार मूल्य १० टन वरावरको छ । यसको प्रारम्भिक मार्जिन २० हजार रुपैयाँ वरावर भएको सत्यालले जानकारी दिए । एउटा कारोवारको अधिकतम कमिसन १५० रुपैयाँ हुने छ । स्वदेशको मूल्यका आधारमा फ्युचर कारोवार गर्ने पहिलो कम्पनी हो । कोमेनसहित तीन कम्पनीले फ्युचर कारोवार गरिरहेका छन् ।

नेपालको पहिलो कमोडिटी एक्सचेन्ज कम्पनी कोमेनले सुन चाँदी तामा जिङलगायतका बस्तुको फ्युचर कारोवार गरिरहेको छ । कोमेनले केही समयदेखि नयाँ सफ्टवेयरमार्फत कारोवार गरिरहेको सत्यालले जानकारी दिए । नयाँ सफ्टवेयर साचालनमा ल्याएपछि लगानीकर्ता बढेको उनले दावी गरे ।



No comments:

Post a Comment

thanks for comment