उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको बृद्धि दर घट्यो


सुदर्शन सापकोटा
काठमाडौं भदौ २३
वाणिज्य बैंकहरुले उत्पादनमूलक क्षेत्रमा दिने कर्जाको वृद्धि दर घटेको छ । आर्थिक बर्ष २०६५/६६ मा कुल कर्जाको २१.८७ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेकोमा गत बर्ष १९.३५ प्रतिशतमा सिमित गरेका हुन् ।
गत आर्थिक बर्ष बैंकहरुले कुल ४ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । यो अघिल्लो बर्षको तुलनामा १६.८१ प्रतिशतले वढी हो ।
बृद्धि दर घटेपनि गत आर्थिक बर्षमा उत्पादनमूलक क्षेत्रमा बैंक कर्जा ६ अर्ब ८४ करोडले बढेको छ । गत बर्ष ९४ अर्ब ७१ करोड रुपैयाँ उत्पादनमूलक क्षेत्रमा कर्जा गएको छ । अघिल्लो बर्ष यो कर्जा ८७ अर्ब ८७ करोड रुपैयाँ लगानी भएको थियो ।
'रियलस्टेटमा राष्ट्र बैंकले सीमा लगाएपछि उत्पादनमूलक क्षेत्रको कर्जा बढेको हो", उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नागरिकसँग भने, 'उद्योग क्षेत्रमा आएको कर्जा रियलस्टेट सेयर तथा कमोडिटी बजारतिर पनि गएको हुनसक्छ ।" उनले उद्योगका नाममा आएको कर्जा सबै यसै क्षेत्रमा मात्र लगानी नभएको जानकारी दिए ।
उत्पादनमूलकमध्ये सबैभन्दा वढी खाद्य उत्पादन औषधि उद्योग प्लास्टिक उद्योग छड तथा स्टिल उद्योग सिमेन्टलगायतका उद्योगमा कर्जा गएको छ ।
गत बर्ष निर्माण क्षेत्रको कर्जा वढेसँगै यसमा प्रयोग हुने सिमेन्ट स्टील र छड उद्योगमा पनि कर्जा वढेको हो । निर्माण क्षेत्रको कर्जा ५ अर्बभन्दा वढीले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार निर्माण क्षेत्रमा पनि आवसिय घर तथा व्यवसायीक कम्प्लेक्स मललगायतमा वढी कर्जा प्रवाह भएको छ ।
आवसिय घर कर्जा २ अर्ब ५६ करोडले वढेको छ । पुल-पुलेसा सडकलगायतका क्षेत्रमा बैंकहरुले ५ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो बर्ष यसमा बैंक लगानी ३ अर्ब रुपैयाँ मात्र थियो । यसले गत बर्ष विकास निर्माणको कार्य सामान्य वढेको देखिन्छ ।
चिनी मदिरालगायतका उत्पादनमूलयक उद्योगमा पनि बैंक लगानी वढेको छ । तर आयातजन्य उद्योग तयारी पोसाक फनिर्चर छालालगायतका उद्योगमा जाने कर्जा भने घटेको छ । सुर्ति सनपाटलगायतका उद्योगको कर्जा पनि घटेको केन्द्रिय बैंकले जनाएको छ ।
उत्पादनमूलक उद्योगपछि सबैभन्दा वढी कर्जा थोक तथा खुद्रा व्यापारमा गएको छ । यो क्षेत्रको कर्जा २८ प्रतिशतले वढेर ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो ।
सेवा उद्योगमा बैंक लगानी २९ अर्ब ६० करोड रुपैयाँ भएको छ । यो अघिल्लो बर्षको तुलनामा २६.७६ प्रतिशतले वढी हो । सेवा उद्योगमा सबैभन्दा वढी लगानी शिक्षा क्षेत्रमा भएको छ । शिक्षामा बैंक कर्जा २ अर्ब २६ करोड रुपैयाँले बढेको हो ।
होटल पर्यटन मनोरन्जन विज्ञापन एजेन्सीलगायतका क्षेत्रमा पनि कर्जा वढेको छ । तर अतिआवश्यकीय अस्पताल तथा क्लिनिकमा भने कर्जा घटेको छ । यो क्षेत्रको कर्जा २ अर्ब ८१ करोडले घटेको हो । आर्थिक वर्ष २०६५/६६ मा अस्पताल तथा क्लिनिकमा बैंकहरुले ३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
सर्वसाधारणको खर्च गर्ने क्षमतामा भएको वृद्धिसँगै बैंकहरुको उपभोक्ता क्षेत्रमा जाने कर्जामा पनि बृद्धि भएको छ । बैंकहरुको उपभोक्ता कर्जा ५४.२४ प्रतिशतले वढेको हो । अर्थमन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सर्वसाधारणको उपभोगमा खर्च १०.२ प्रतिशतले वढेको थियो । उपभोग खर्चमा भएको वृद्धिलाई रेमिट्यान्सलाई मानिदै आएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको गत बर्षको विवरण अनुसार बैंक कर्जाले पनि यसमा सहयोग गरेको देखिन्छ ।
गत बर्ष साचार तथा सार्वजनिक सेवामा बैंक कर्जा २२ अर्ब २७ करोड रुपैयाँ गएको छ । अघिल्लो बर्ष १८ अर्ब ४३ करोड रुपैयाँ मात्र लगानी भएको थियो । कृषि क्षेत्रमा १ अर्ब कर्जा बढेर १४ अर्ब २९ करोड पुगको छ । सवारी पाटपुर्जा कर्जा करिव ५ अर्ब खनिज १ अर्बले घटेको छ । धातु तथा मेसिनरी कर्जा भने ६६ करोडले घटेको राष्ट्र बैंकले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment