घरजग्गा कर्जा खुकुलियो


राष्ट्र बैंकले घरजग्गामा बैंकहरूले गरेको लगानी परिभाषित गर्दै घरकर्जालाई खुकुलो बनाएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै घर बनाउन दिइने कर्जाको सीमालाई खुकुलो बनाएको छ भने जग्गा प्लटिङ (रियलस्टेट) गर्न लिइने कर्जालाई कडाइ गरिएको छ । 
नयाँ व्यवस्थाअनुसार बैंक वित्तीय संस्थाले आवासीय घर कर्जा लिन राखिने धितोको बजार मूल्यको दुई तिहाइसम्म ऋण दिन सक्नेछन् । गत पुसमा केन्द्रीय बैंकले घर र प्लटिङ गरिने जग्गालाई एकै ठाउँमा राख्दै धितोको बजार मूल्यको ६० प्रतिशतभन्दा बढी ऋण दिन नपाइने व्यवस्था गरेको थियो ।
यसैगरी घर कर्जालाई प्लटिङसँग अलग गरेर लगानी गर्न पाउने सीमा खुकुलो बनाएपछि वित्तीय संस्थालाई यस क्षेत्रमा ऋण दिन केही सहज हुनेछ ।
'घर कर्जालाई केही खुकुलो र प्लटिङ गरी बिक्री गर्न लिइने कर्जालाई कडा गर्न खोजिएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने । यसैगरी आवासीय घर कर्जामा बैंक वित्तीय संस्थाले गरेको लगानीलाई यस आर्थिक वर्षको अन्त्यसम्म कुल कर्जाको ३० प्रतिशतमा झार्नुपर्नेछ । अर्को आर्थिक वर्षको अन्त्यमा भने २५ प्रतिशतमा झार्नुपर्नेछ ।


केन्द्रीय बैंकले दुई वर्षभित्र घर जग्गा (प्लटिङ र घर दुवै) मा हुने लगानीलाई पनि २५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । यता ५० लाखभन्दा बढीको ओभर ड्राफ्टमा भएको लगानी र जग्गा प्लटिङ गर्न लिइएको कर्जा भने दुई वर्षभित्र १० प्रतिशतमा झार्नुपर्ने
छ । '९० प्रतिशत ओभरड्राफ्ट जग्गा प्लटिङमा गएको देखिएपछि यसलाई पनि सीमाभित्र राखिएको हो,' ती अधिकारीले भने ।

नयाँ परिभाषासहित लगानीलाई खुकुलो बनाउनुपर्ने माग व्यवसायी र वित्तीय क्षेत्रबाट आएपछि चालू आर्थिक वर्षको मौदि्रक नीतिले यसलाई समेटेको थियो । मौदि्रक नीतिको व्यवस्थालाई परिपत्रले परिभाषित गर्दै परिपत्रले दुई वर्षसम्मको लगानी घटाउनुपर्ने सीमा तोकेको छ । नयाँ व्यवस्थाअनुसार कुनै बैंकको कर्जा सीमाभन्दा कम भए २५ प्रतिशतभन्दा बढाउन पाइने छैन ।
यसैगरी जग्गामा भएको लगानी आर्थिक वर्ष २०६८/६९ सम्म १० प्रतिशतमा झार्नुपर्नेछ । यसै आर्थिक वर्षमा भने १५ प्रतिशतमा झार्नुपर्ने छ । 'कुनै बैंकको कम भए १० प्रतिशतभन्दा बढाउन पाइने छैन,' परिपत्रमा उल्लेख छ ।
गत वर्ष अर्थतन्त्रमा देखिएको समस्याको एक प्रमुख कारण अनियन्त्रित रूपमा घरजग्गा क्षेत्रमा भएको लगानीलाई केन्द्रीय बैंकले समेत हेरेको छ । गत वर्षको पहिलो ६ महिना यस क्षेत्रमा व्यापक लगानी भएको थियो ।


पुसमा गरिएको कडाइ र तरलता अभावका कारण त्यसयता बैंकहरूले कर्जा प्रवाह रोकेका छन् । गत वर्ष बैंकहरूले थप कर्जा रोकेर ब्याज बढाएपछि रुष्ट भएका व्यवसायीहरूले बढेको ब्याज नतिर्नेसम्मको चेतावनी दिएका थिए ।
गत असारसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले ३५ अर्ब रुपैयाँ हाउजिङ क्षेत्रमा लगानी गरेका छन् । यसैगरी रियलस्टेटमा ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकहरूले कर्जा जोखिम नबढ्ने र व्यवसायीहरूले पनि राहत पाउने हुँदा हाउजिङ र रियलस्टेटलाई अलग गरी हाउजिङलाई सहुलियत दिन माग गरिरहेका थिए ।




No comments:

Post a Comment

thanks for comment