व्यवसायीद्वारा राष्ट्र बैंकको सुन लिन अस्वीकार

सुदर्शन सापकोटा
काठमाडौं, असोज १३ - 
राष्ट्र बैंकले सुन बेच्न मंगलबार आह्वान गरेको बोलकबोल प्रक्रिया त्रुटिपूर्ण भएको आरोप लगाउँदै अधिकांश व्यवसायी सुन नकिनी फर्केका छन्। बैंकको बोलकबोल प्रक्रियाबाट सुन खरिद गरे बजार मूल्य झनै बढ्ने व्यवसायीको दाबी छ।


बैंकले बोलकबोलमा सबैभन्दा बढी मूल्य तिर्न तयार हुने व्यवसायीको मूल्यलाई अन्तिम मान्दै सबै (एक सय किलो) सुन बिक्री गर्ने व्यवस्था गरेको छ। यसअनुसार बोलकबोलमा कम मूल्य हाल्नेले पनि सबैभन्दा बढी मूल्य तोक्नेको भाउमा सुन किन्नु पर्ने बाध्यता छ। यही व्यवस्थाका कारण अधिकांश व्यवसायीले सुन खरिद बहिस्कार गरेका हुन्।

राष्ट्र बैंकका पूर्व वरिष्ठ एक अधिकारीका अनुसार केन्द्रीय बैंकले अपनाएको बोलकबोल प्रक्रिया अन्यायपूर्ण र अव्यवहारिक छ। उनले सबैभन्दा बढी मूल्य तिर्नेलाई प्राथमिकता दिँदै बैंकले राखेको मूल्यभन्दा माथि बोलकबोल गर्नेलाई क्रमशः सुन वितरण गर्नुपर्ने बताए। 'अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो,' ती अधिकारीले भने।
Kiva Microfinance
"Loans that Change Lives." Make a Difference and Lend Today!
www.kiva.org
 Public Service Ads by Google 

राष्ट्र बैंकले बेच्न लागेको एक सय किलो सुनमध्ये ७५ किलो बोलकबोल प्रक्रियाबाट र २५ किलो अप्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने व्यवस्था गरेको थियो। केन्द्रीय बैंकले यो प्रक्रियाका लागि मंगलबार प्रारम्भिक मूल्य प्रतितोला ३६ हजार २ सय ८८ रुपैयाँ राखेको थियो। तर, बोलकबोलमा एक व्यवसायीले सबैभन्दा बढी प्रतितोला ३७ हजार ९३ रुपैयाँ तोकेकाले यसभन्दा कम मूल्य तोक्ने र प्रतिस्पर्धामा नरहेका व्यवसायीले पनि सस्तोमा सुन पाएनन्। यसै दिन उपत्यकाको बजार मूल्य भने प्रतितोला ३७ हजार रुपैयाँ थियो।

बोलकबोलमा ७ जना र अप्रतिस्पर्धामा २ जना व्यवसायीले सुन किन्न धरौटी राखेका थिए। सबैभन्दा बढी मूल्य तोक्ने इबिसु ज्वेलरी थियो। बजार मूल्यभन्दा बोलकबोल अन्तिम मूल्य बढी भएको भन्दै व्यवसायीले यसबाट बजारमा सुन थप महँगिने बताए। बढी मूल्य तिर्ने इबिसु ज्वेलरीले २ किलो ९ सय १५ ग्राम र अन्य केही व्यवसायीले गरी ८ किलो सात सय ४८ ग्राम मात्र सुन उठाएका छन्।

यस्तै अप्रतिस्पर्धाबाट सुन किन्न धरौटी राखेका दुई जनाले पनि सुन उठाएका छन्। 'धरौटी गुम्ने कारण हामीले सुन लियौं,' प्रतिस्पर्धामा सहभागी नभएका सुन व्यवसायी महेन्द्र शाक्यले नागरिकसँग भने, 'धरौटी राखेको रकम गुम्ने भएकाले मैले एक किलो सुन उठाए।'

उनले राष्ट्र बैंकको यस्तो व्यवस्थाले बजारमा सुनको मूल्य थप महँगिने बताए। राष्ट्र बैंकले अव्यवहारिक ढंगबाट सुनको बोलकबोल प्रक्रिया तय गरेकाले बजारमा आवश्यक सुन नजाने व्यवसायीहरु बताउँछन्। 'बजार मूल्यभन्दा बढी मूल्यमा सुन बेचेर केन्द्रीय बैंकले नै कालो बजारी सुरु गरेको छ,' दाङबाट सुनको बोलकबोलमा सहभागी हुन आएका व्यवसायी मिनराज ओलीले भने, 'महँगोमा सुन किनेर व्यवसाय गर्न सकिँदैन।' उनी सुन खरिद गर्न दुई साताअघि दाङबाट आएका हुन्।
'सुनको मूल्य अब थप महँगो हुन्छ,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'महँगोका कारण सुनको तस्करी पनि बढेर जान्छ।' उनले बजार मूल्यभन्दा बढी मूल्यमा सुन बिक्री भएकाले भारतबाट अवैध रुपमा सुन भित्रिने प्रक्रिया नरोकिने दाबी गरे।

सुन आयात बन्द भएपछि नेपालमा माग बढेकाले यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले एक हजार किलो सुन बिक्री गर्ने प्रक्रिया थालेको हो। यही प्रक्रियाअनुसार एक सय किलो सुन बिक्रीका लागि केन्द्रीय बैंकले आह्वान गरेको थियो।

'यो बोलकबोलको नियम विपरीत छ,' शाक्यले भने, 'यसलाई व्यवहारिक नबनाए दसैको मुखमा सुन महँगिने मात्र होइन अवैध आयात बढेर अर्थतन्त्रलाई नै असर पार्नेछ।' उनले राष्ट्र बैंकले तोकेको प्रारम्भिक मूल्यभन्दा केही बढी र बजार मूल्यभन्दा ५ सय रुपैयाँ सस्तो भए सर्वसाधारणलाई आर्थिक भार नपर्ने बताए। 'हामीले घाटा खाएर सुन बिक्री गर्ने कुरा आउँदैन,' उनले भने, 'महँगोमा बिक्री गर्दा भार उपभोक्तालाई नै पर्ने हो।'

No comments:

Post a Comment

thanks for comment