तरलता अभाव दोहोरिने

सुदर्शन सापकोटा
काठमाडौं, असोज ६ - 
पूर्ण बजेट आउने अनिश्चितता, घट्दो सरकारी खर्च र बैंक निक्षेपले बैंकिङ क्षेत्रमा तरलता (लगानी योग्य पुँजी) अभाव दोहोरिने विज्ञले बताएका छन्। 

'दसैंअघि बजेट नआए तरलता अभाव दोहोरिन्छ,' बैंकर्स संघका अध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले नागरिकसँग भने।
गत आर्थिक वर्षभरी नै बैंक तथा वित्त कम्पनीले तरलता अभाव बेहोरेका थिए। राजश्व तथा अनुदान, ऋणका रुपमा सरकारी खातामा जम्मा भएको रकम सरकारी खर्च रोकिएर बजारमा प्रवाह हुन नसक्दा तरलता अभाव दोहोरिने संभावना बढेको बैंकर्सले बताए। 

गत वर्ष समयमा बजेट पारित नहुँदा तरलता अभाव बेहोरेको बैंकिङ क्षेत्रमा गत जेठ दोस्रो सातादेखि साउन दोस्रो सातासम्म करिव ४० अर्बले निक्षेप बढेको थियो। आर्थिक वर्षको अन्त्यमा सरकारले विकास निर्माणमा खर्च बढाएकाले बैंकको निक्षेप बढेको थियो। 

पछिल्लो दुई महिनामा भने निक्षेप १० अर्बले घटेको छ। गत शुक्रबारसम्म वाणिज्य बैंकहरुले ६ खर्ब २१ अर्ब निक्षेप संकलन गरेका छन्। गत असार मसान्तसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ निक्षेप थियो। 

'अहिले निक्षेपमा खासै समस्या नभएपनि बजेट अझै केही समय रोकिए तरलता अभाव दोहोरिन्छ,' प्राइम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरले नागरिकसँग भने, 'तरलता अभावपछि बैंकहरुले लगानी गर्न सक्दैनन्, यसले उत्पादमूलक र औद्योगिक विकासमा वाधा पुग्छ।'

माधवकुमार नेपालले राजिनामा गरेपछि सातौं चरणसम्मको निर्वाचनले पनि प्रधानमन्त्री छान्न नसक्दा बजेट आउने टुंगो लागेको छैन। 'तरलता अभाव हुने/नहुनेलाई बजेटले निश्चित गर्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'बजेटको अनिश्चितताले तरलता अभाव चर्किएर आर्थिक वृद्धि दरको लक्ष्य पनि पुरा हुँदैन।' ती अधिकारीले साधारण खर्चबाहेक सरकारले कुनै खर्च गर्न नसकेको भन्दै विकास खर्च ठप्प भएको बताए। 

'साधारण खर्च उपभोगमा जाने हुँदा त्यो बैंकिङ क्षेत्रमा कमै पुग्ने भएकाले यसले निक्षेपमा सहयोग गर्दैन,' ती अधिकारीले भने, 'निक्षेप बढ्न नसकेपछि बैंकको कर्जा लगानी क्षमता घट्छ।' 

'दशैं-तिहारमा उपभोगका लागि बैंकिङ क्षेत्रबाट अरुबेला भन्दा बढी निक्षेप घट्छ,' गत वर्ष दशैंमा बाहिरिएको पैसा ६ महिनापछि मात्र बैंकिङ क्षेत्रमा भित्रिएको उदाहरण दिँदै राष्ट्र बैंक स्रोतले भन्यो, 'बैंकिङ क्षेत्रमाथिको सर्वसाधारको विश्वास अझै फर्किनसकेकाले अहिले बाहिरिएको पैसा सजिलै आउन भन्न सकिन्न।' उनले तरलतालाई सहज बनाइ राख्न बजेटबाहेक अर्को विकल्प नभएको दाबी गरे।

'गत आर्थिक वर्षको अन्त्यतिर सरकारी बजेट खर्चमा भएको वृद्धिले तरलता अभाव कम भएको थियो,' जोशीले भने, 'नयाँ बजेट आउन नसकेकाले खर्च रोकिएको छ।' उनले दशैंअघि बजेट आए मंसिरसम्म पारित भएर सरकारी खर्च बढ्ने जानकारी दिए। 

दुई महिनायता बैंकिङ क्षेत्रमा ४० अर्ब निक्षेप वढेर अधिक तरलताको अवस्था छ। अधिक तरलता भएर केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत २ अर्ब रुपैयाँ बैंकिङ क्षेत्रबाट खिचिसकेको छ। 

गत कात्तिकबाट सुरु भएको तरलता अभावले गर्दा बैंकहरुले ६ महिना कर्जा लगानी गर्न सकेका थिएनन्। उनीहरुले एकआपसमा लिने सापटी (अन्तर बैंक) दर साढे १५ प्रतिशतसम्म पुगेको थियो। दुई महिनायता अन्तर बैंक दर तीन प्रतिशतको हाराहारीमा छ। 

तरलता अभावले गर्दा बैंकहरुले कर्जालाई निरुत्साहित गर्न त्यसको व्याजदर ४ देखि ५ प्रतिशत विन्दुसम्मले बढाएका थिए। निक्षेप आकर्षित गर्न त्यसको व्याज दर बढाएका थिए।

No comments:

Post a Comment

thanks for comment