सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १८-
अधिकांश बैंक तथा वित्तीय संस्थाले
सम्भावित नोक्सानी व्यवस्थाबाट जोगिन पहिले कर्जा दिएका ऋणीहरुलाई
ओभरड्राफ्टमार्फत थप कर्जा दिएर ब्याज असुली गरेका छन्।

रियलस्टेट, हाउजिङ र क्रसर उद्योगका लागि कर्जा लिएका
व्यवसायीले अहिले ब्याजसमेत तिर्न सकेका छैनन्। बैंकहरुले उनीहरुबाट ब्याज
असुल गर्न उल्टै ऋण दिएका हुन्। ‘ब्याज उठ्न छाडेकाले ओभरड्राफ्टको बाटो
प्रयोग गर्नुपरेको हो,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग
भने, ‘अहिले ब्याज नआउँदा सम्भावित नोक्सानीमा ठूलो रकम छुट्याउनुपर्ने
हुन्छ। यसले बैंकको वासलात नराम्रो देखिने हुँदा ब्याजसमेत तिर्न नसक्ने
व्यवसायीलाई जोखिम मोलेर उल्टै थप कर्जा दिइएको छ।'
सरकार तथा
राष्ट्र बैंकको नीतिले घरजग्गा कारोबारमा ह्रास आएको र क्रसर उद्योग बन्द
भएपछि व्यवसायीले ब्याज तिर्न सकेका छैनन्। ‘सहकारी वा अन्य कतैबाट पैसा
ल्याएर तिर्दिनुस्। वासलात बनेपछि ओभरड्राफ्टबाट कर्जा बढाइदिन्छु अनि
सहकारीको तिर्नुहोला भनेर चैतको वासलात तयार पारेँ,' एक बैंकरले भने,
‘अहिले ब्याज नआए २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्छ। असार अन्त्यमा
यो बढेर ५० पुग्छ। यस्तो अवस्थामा बैंककै आर्थिक अवस्था (वासलात) नराम्रो
देखिन्छ ।'






