वाणिज्य बैंकलाई साढे तीन लाख जरिवाना

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच वाणिज्य बैंकले राष्ट्र बैंकले तोकेको सीमाभित्र अनिवार्य नगद मौज्दात (सिआरआर) व्यवस्थापन गर्न नसक्दा जरिवाना तिरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले आपनो कुल निक्षेपको साढे पाँच प्रतिशत रकम राष्ट्र बैंकको खातामा जम्मा गर्नुपर्ने प्रावधान छ ।
सो रकम घटे बैंकले राष्ट्र बैंकलाई जरिवाना तिर्नुपर्छ ।बैंकले सो अवधिमा तीन लाख ३३ हजार रुपैयाँ जरिवाना तिरेका छन् । दोस्रो त्रैमासिकमा सिआरआर व्यवस्थापन नगरेकोमा सिद्धार्थ बैंकले सबैभन्दा बढी जरिवाना तिरेको छ ।
सिद्धार्थले दुईपटक गल्ती गरेर एक लाख ८७ हजार रुपैयाँ जरिवाना तिरेको हो । त्यस्तै, बैंक अफ काठमाण्डुले ६९ हजार सात सय २०, प्राइम कमर्सियल बैंकले ५५ हजार सात सय र एनआइसी बैंकले १९ हजार रुपैयाँ जरिवाना तिरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डुले पहिलो त्रैमासिकमा करिब २६ हजार रुपैयाँ जरिवाना तिरेको थियो ।राष्ट्र बैंकले दुई साताको निक्षेप हिसाब गरी अर्का साता सिआरआर व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । अर्काे साता अघिल्ला दुई साताको निक्षेप अनुपातमा सिआरआर व्यवस्थापन नभएमा अपुग रकमको साढे ६ प्रतिशत (बैंक दर) बराबर जरिवाना तिर्नुपर्छ ।
एक आर्थिक वर्षमा जतिपटक सिआरआर व्यवस्थापन हुन सक्दैन, त्यति गुणाले बढी जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको विवरण तयार गरिएका १० बैंकको भने सिआरआर व्यवस्थापन गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले अरु १५ वाणिज्य बैंकको विवरण तयार गर्दैछ ।

No comments:

Post a Comment

thanks for comment