विश्व बैंकद्वारा ५९ अर्ब सहयोग घोषणा

विश्व बैंकले गरिबी निवारण र विकास प्रक्रिया अघि बढाउन नेपाललाई आगामी दुई वर्षका लागि करिब ७८ करोड २० लाख अमेरिकी डलर (५८ अर्ब ६५ करोड रुपैयाँ) बराबरको बजेटरी सहयोग घोषणा गरेको छ ।

विश्व बैंकको केन्द्रीय कार्यालय वासिङ्टनबाट शुक्रबार सार्वजनिक नेपालको नेपाल सहायतासम्बन्धी अन्तरिम रणनीतिपत्रमा आगामी दुई वर्षका लागि सो सहायता उपलब्ध गराउने घोषणा गरिएको हो ।
नेपालमा अहिले नयाँ संविधान लेखन जारी रहेको र सन् २०११ मा निर्वाचन हुने अपेक्षा गरिएकोलगायत नेपालको वर्तमान संक्रमणात्मक अवस्थालाई दृष्टिगत गरी विश्व बैंक समूहले आर्थिक वर्ष २०१० र २०११ लाई समेट्ने अन्तरिम रणनीतिपत्र तयार गरेको जनाएको छ ।

विश्व बैंकले सन् २०११ मा नेपालमा संविधान निर्माण भई नयाँ निर्वाचन हुने अपेक्षासमेत गरेको छ । सन् २००६ नोभेम्बरमा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि हासिल भएका उल्लेख्य प्रगतिप्रति बैंकको रणनीतिपत्रमा स्वागत गरिएको छ । 'मुलुकले थुप्रै अप्ठ्यारा संक्रमण एकैसाथ पार लगाउँदै जानुपर्नेछ ।
'अहिले नेपालका चुनौती वास्तविक हुँदाहुँदै पनि संक्रमणकालले नयाँ नेपालतर्फ पदार्पण गर्ने नयाँ अवसर प्रदान गरको छ, जुन नेपाल स्थिर र शान्तिपूर्ण, सबै नागरिकका लागि समावेशी, सम्पन्न र जनताप्रति उत्तरदायी हुनेछ,' विश्व बैंकको अन्तरिम रणनीतिपत्रमा उल्लेख छ ।

अमेरिकामा भएको बैठकमा विश्व बैंक समूहको निजी क्षेत्र हेर्ने निकाय अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले उचित लगानी उपलब्धता र व्यावसायिक वातावरणमा सुधार भए वाषिर्क औसत दुई करोड अमेरिकी डलरसम्मको सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सञ्चालक समितिको बैठकले कृषिको व्यावसायिकीकरण र व्यापार आयोजनालाई पनि स्वीकृति दिएको छ । योजनाले नेपालका २५ जिल्लाका छानिएका वस्तु मूल्यशृंखला (भ्यालु चेन)मा पर्ने साना किसान र कृषि व्यवसायको प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउने लक्ष्य लिएको छ ।

No comments:

Post a Comment

thanks for comment