विकास बैंकमा ३३ सय निक्षेपकर्ता


नेपाल राष्ट्र बैंकले सम्पत्ति नियन्त्रणमा लिएको नेपाल विकास बैंकमा ३३ सय ३८ जना साधारण निक्षेपकर्ता रहेको जानकारी राष्ट्र बैंकले प्राप्त गरेको छ ।
विकास बैंकमा ती निक्षेपकर्ताको १० करोड रुपैयाँ बचत छ । राष्ट्र बैंकका उच्चअधिकारीबीच शुक्रबार अबेरसम्म बालुवाटारमा निक्षेपकर्ताको रकम सुरक्षा विषयमा छलफल भएको थियो । साधारण निक्षेपकर्ताको रकम जोखिममा पर्ने सम्भावना रहेको र पूरै रकम फिर्ता पाउने सम्भावना बढी रहेको निष्कर्ष निस्किएको एक अधिकारीले बताए ।

राष्ट्र बैंकले नेपाल विकास बैंकको नगद, नगदजन्य वस्तु र धितोपत्र नियन्त्रणमा लिई गणना गर्दैछ । गणना कार्य सम्पन्न हुन्न अझ केही समय लाग्ने भएकाले नेपाल विकास बैंकको नगदजन्य सम्पत्ति थाहा पाउन केही समय कुर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । प्राप्त विवरण सार्वजनिक गर्दै जाने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार विज्ञप्ति जारी गरी संस्था खारेजीको अवस्थामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७७ अनुसार संस्था खारेज हुँदा दायित्व भुक्तानीमा ९ वटा प्राथमिकताक्रम रहेकोमा बचत निक्षेपकर्ता, मुद्दती निक्षेपकर्ता र अन्य निक्षेपकर्ता क्रमशः दोस्रो, तेस्रो र चौथो प्राथमिकतामा पर्ने स्पष्ट गरेको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था अत्यन्त खराब भएको नेपाल विकास बैंकलाई खारेजी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले १५ दिनभित्र सफाइ पेस गर्न बैंकलाई म्याद दिएको छ ।
चित्तबुझ्दो जवाफ नआएमा राष्ट्र बैंकले विकास बैंक खारेजीका लागि पुनरावेदन अदालतमा निवेदन दिने निर्णय गरेको छ । निर्णय गरेको तीन दिनपछि शुक्रबार नेपाल राष्ट्र बैंकले औपचारिक रुपले निर्णय सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment

thanks for comment