साना निक्षेपकर्ताको पैसा फिर्ता हुने


नेपाल राष्ट्र बैंकले नेपाल विकास बैंकमा जम्मा भएको साना निक्षेपकर्ताको रकम सुरक्षित रहेको बताएको छ ।

बैंक खारेज गर्ने सम्बन्धमा व्यवस्थापनसँग स्पष्टीकरण लिएको १० दिनपछि राष्ट्र बैंकले शुक्रबार नेपाल विकास बैंकको वित्तीय अवस्था सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

राष्ट्र बैंकले विकास बैंकको वित्तीय अवस्था बिग्रिँदै गएकाले कर्मचारी सञ्चयकोषको ३३ करोड १४ लाख र सैनिक कल्याणकारी कोषको १८ करोड रुपैयाँ भने जोखिममा रहेको बताएको छ ।

राष्ट्र बैंकबाट सार्वजनिक तथ्यांक अनुसार हाल नेपाल विकास बैंकसँग नगद १ करोड ६५ लाख र नेपाल सहकारी संस्थामा रहेको ९ करोड ५० लाखसहित विभिन्न बैंकमा गरी १६ करोड ३ लाख रुपैयाँ छ ।

विकास बैंकले भुक्तानी दिनुपर्ने रकमको हकमा बचत निक्षेपतर्फ ९ करोड ५७ लाख, मुद्दति निक्षेप ८ करोड ४९ लाख , अन्य निक्षेप १९ करोड ३५ लाख र भुक्तानी म्याद समाप्त भएको निक्षेप ३३ करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ ।

'विकास बैंकको वित्तीय अवस्था हेर्दा संस्थागत निक्षेपकर्ता कर्मचारी सञ्चयकोषको ३३ करोड १४ लाख र सैनिक कल्याणकारी कोषको १८ करोड रुपैयाँबाहेक साना निक्षेपकर्ताको रकम सुरक्षित देखिएकाले फिर्ता दिन सकिन्छ,' राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले नेपाल विकास बैंकको पुँजीकोष न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्नेमा ४८.३१ प्रतिशत ऋणात्मक रहेको र निस्त्रिय कर्जा ५५.०९ प्रतिशत रहेकाले खारेजी गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ ।

राष्ट्र बैंकले पुँजीकोष क्रमिक रुपले ऋणात्मक हुँदै गइरहेको र सञ्चित नोक्सानी अत्यधिक बढ्दै गएकाले बैंकले निक्षेपकर्ताको भुक्तानी गर्न नसक्ने अवस्था देखिएको स्पष्ट पारेको छ ।

नेपाल विकास बैंकले कर्जा सूचना केन्द्रमा गरेको ३ लाख रुपैयाँ लगानीबाहेक कुल लगानी ८ करोड ७७ लाख रुपैयाँ रहेको सूचीकृत नभएको कम्पनी नेपाल सहकारी संस्था, गोर्खा हाइड्रोपावर कम्पनी र ह्याम्स हस्पिटलमा सेयर लगानी गरेको बताएको छ ।

नेपाल विकास बैंकले कर्मचारी सञ्चयकोष र सैनिक कल्याणकारी कोषको म्याद समाप्त भएको निक्षेप पटक-पटक झिक्न खोज्दा पनि भुक्तानी गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

हाल बैंकको गैरबैंकिङ सम्पत्ति १७ करोड ५७ लाख तथा सञ्चित नोक्सानी ६९ करोड २ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल विकास बैंकको अधिकांश कर्जा खराब रहेको, राष्ट्र बैंकको निर्देशन अवज्ञा गरी सूचीकृत नभएका कम्पनी तथा सहकारी संस्थामा सेयर लगानी तथा मुद्दति निक्षेप राखी कर्जा प्रवाह गरेको, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन कमजोर रहेको, बैंक सञ्चालक समिति तथा व्यवस्थापनमा रहेका व्यक्ति बैंकको वित्तीयस्थिति सुधारतर्फ गम्भीर नदेखिएको र बैंक हितमाभन्दा व्यक्तिगत वित्तीय स्वार्थ भएका अन्य संस्था र कम्पनी हितमा काम गरी बैंकलाई हानि पुर्‍याएकाले बैंक संकटग्रस्त हुनपुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक व्यवस्थापकीय रुपमा संकटमा परेका बेला अध्यक्ष तथा प्रबन्ध निर्देशकलाई बैंकको खर्चमा विदेश भ्रमण नगर्न र उनको योग्यता नपुगेकाले कार्यरत समयको तलबभत्ता एवम् अन्य सुविधा फिर्ता गर्न निर्देशन दिएकामा फिर्ता नगरेको, राष्ट्र बैंक ऐन, २०५८ विपरीत बैंकको वर्तमान सञ्चालक समिति अध्यक्ष तथा सदस्य नेपाल सहकारी संस्थाको सञ्चालक समिति अध्यक्ष तथा सदस्य रहेको, सकार गरेको होलिल्यान्ड इन्टरनेशनल स्कुलको गैरबैंकिङ सम्पत्ति बिक्री गर्दा बैंकलाई ठूलो हानिनोक्सानी भएको सन्दर्भमा पुनर्मूल्यांकन गरी बिक्री गर्न दिएको निर्देशन पालना नगरेको तथा बैंक व्यवस्थापनमा संलग्न नयाँ लगानीकर्ताले समेत बैंक व्यवस्थापन छाडेकाले कारबाही प्रक्रिया अघि बढाउनुपरेको राष्ट्र बैंकले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment