सेयर बजारमा अटोमेसनको प्रभाव सकारात्मक

सेयर कारोबार कम्प्युटरको माध्यम -आटोेमेसन) बाट हुन थालेपछि सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
सोमबार सार्वजनिक अटोमेसन हुनुभन्दा १७ महिनाअघि र अटोमेसन भएको १७ महिनाको कारोबारलाई आधार मानेर गरिएको अध्ययन प्रतिवेदनमा कारोबार रकम, कारोबार संख्या तथा तरलता वृद्धि भए पनि नेप्सेको औसत परिवर्तन दरमा भने कमी आएको पाइएको छ ।
अध्ययन सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज -एसआरसिएस) ले गरेको हो । एसआरसिएसका अध्यक्ष रवीन्द्र भट्टराईले अध्य्यनका लागि औसत, स्ट्यान्डर्ड डेभिएसन, हाइपोथेसिस टेस्टिङ -परिकल्पना परीक्षण) जस्ता विधि प्रयोग गरिएको बताए ।
अध्ययन प्रतिवेदनमा अटोेमेसनअघि दैनिक औसत कारोबार ३ करोड ४३ लाख ३४ हजार १ सय १६ हुने गरेकामा अटोमेसनपछि औसत कारोबार रकम करिब तीन गुणाले बढ्दै १० करोड ४१ लाख ७४ हजार १ सय ५७ पुगेको उल्लेख गरिएको छ ।
यसैगरी अटोमेसनअघि दैनिक कारोबार संख्या औसतमा ४ सय ८४ भएकोमा पछि बढेर ७ सय ४६ पुगेको छ भने कारोबार हुने सेयर संख्यामा पनि उच्च वृद्धि भएको छ । अटोमेसनअघि दैनिक औसत ८१ हजार २ सय ७६ हुने गरेकोमा सेयर संख्या बढेर १ लाख ३० हजार ६ सय ५९ पुगेको छ । औसत नेप्से परिसूचकमा पनि अटोमेसनपछि करिब दुई गुणा वृद्धि भएको अध्ययनले देखाएको छ । अटोेमेसनअघिको १७ महिने अवधिमा औसत नेप्से परिसूचक ४ सय ६१ थियो भने पछि ८ सय ४० पुगेको छ ।
अध्ययनका लागि छनोट गरिएका सबै पक्षमा वृद्धि देखिए पनि औसत दैनिक नेप्से प्रतिफल -परिवर्तन) मा भने कमी देखिएको छ । अटोमेसनअघि दैनिक औसत परिवर्तन शून्य दशमलव २२७५ भएकोमा पछि शून्य दशमलव शून्य शून्य ४१ मा झरेको छ ।
दैनिक औसत परिवर्तन प्रतिफल घट्नुमा २०६५ भदौदेखि नेप्सेमा आएको निरन्तर गिरावट र सेेियर बजारमा नेपाल टेलिकमको प्रभुत्व मुख्य कारण भएको अध्ययनको निष्कर्ष छ । यीबाहेकका सेयरबजारसम्बन्धी सरकारको नीति तथा कार्यक्रमले दैनिक परिवर्तन दर घटेको भट्टराईले बताए । 'राजनीतिक परिवर्तनभन्दा पनि सरकारको नीति तथा कार्यक्रमले बजारलाई असर पारेको छ,' उनले भने ।
पुँजीगत लाभ करमा वृद्धि हुनु, भिडिआइएसजस्ता कार्यक्रमले बजारमा गिरावट आएको उनले बताए । भारत तथा ट्युनिसियामा पनि सोसम्बन्धी अध्ययन गरिएकोमा नेपालको जस्तै नतिजा आएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा सेयर किनबेच सुरु भएको १४ वर्षपछि २०६४ भदौ ६ बाट सेयर खरिद बिक्री कम्प्युटर माध्यमबाट हुन थालेको हो ।

No comments:

Post a Comment

thanks for comment