शंकर ग्रुपको नयाँ चाउचाउ


एक महिनापछि अर्को ब्रान्डको स्वदेशी चाउचाउ नेपाली बजारमा आउने भएको छ । सिमेन्ट, रड, विद्युतीय तार, साबुनलगायत उद्योगमा लगानी गरी स्थापित भएको शंकर ग्रुपले नयाँ ब्रान्डको चाउचाउ बजारमा ल्याउने भएको हो ।

विभिन्न १६ कम्पनी सञ्चालन गरिरहेको ग्रुपले जगदम्बा फुड्स प्रालिमार्फत नयाँ चाउचाउ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । चाउचाउ उत्पादनका लागि शंकर ग्रुपले सबै तयारी पूरा गरिसकेको र एक महिनाभित्रै उत्पादन बजारमा ल्याउन लागिएको कार्यकारी निर्देशक साहिल अग्रवालले बताए ।
'हामीले चाउचाउ उद्योग स्थापना गरिसकेका छौं,' उनले भने, 'भैरहवा करिडोरमा स्थापित उद्योगबाट एक महिनाभित्रमै उत्पादन सुरु हुन्छ ।'

अग्रवालका अनुसार, थाइल्यान्ड र जापानी प्रविधिमा आधारित रही चाउचाउ उत्पादन गर्न लागिएको छ । 'हामीले विभिन्न देशका आधुनिक प्रविधि समावेश गरी चाउचाउ उत्पादन गर्न लागेका हौं,' उनले भने ।
अग्रवालले सुरुमा एउटा ब्रान्डबाट चाउचाउ बजारमा ल्याउन लागिए पनि तत्कालै चार/पाँच ब्रान्डका उत्पादन सुरु हुने जानकारी दिए ।

नेपालमा चाउचाउ बजार बढ्दै गएकाले लगानी गरिएको बताउँदै अग्रवालले भने, 'चाउचाउ उत्पादन गरेपछि हाम्रो मुख्य लक्ष्य भने विदेश निर्यात हुनेछ ।' उनले चाउचाउ बजार धेरै भए पनि नेपालमा स्थापित ब्रान्डले मात्र माग पूर्ति गर्न नसकेकाले जगदम्बा फुडले त्यसलाई पूर्ति गर्ने दाबी गरे । अग्रवालले चाउचाउ ब्रान्ड नाम र लगानी भने खुलाउन चाहेनन् । 'लन्च गर्ने बेला हामी लगानी र ब्रान्ड नेम एकैचोटि सार्वजनिक गर्छौं,' उनले भने ।

राजनीतिक अस्थिरताले औद्योगिक क्षेत्र अस्तव्यस्त भए पनि चाउचाउ उद्योगको भविष्य राम्रो रहेको अग्रवालको दाबी छ । 'पोलिटिकल अनस्टाबिलिटीले इन्डस्टि्रयल सेक्टर अप्ठ्यारोमा छ,' उनले भने, 'इस्टाबिलटी हुने आशमा लगानी गरिएको हो ।' नेपालमा स्थापित चाउचाउ उद्योगले हाल विदेशबाट चाउचाउ प्याकेट पि्रन्ट गरी ल्याउने गरेकामा जगदम्बाले भने स्वदेशमै प्याकेट उत्पादन गर्ने अग्रवालले बताए । उनले भने, 'सुरुमा हामीले विदेशबाटै प्याकेट ल्याए पनि चाँडै नै मुलुकभित्रबट पनि सुरु गरिनेछ । त्यसका लागि परीक्षण भइरहेको छ ।'

सिमेन्ट र रड उत्पादनमा स्थापित शंकर ग्रुपले हालै वीरगन्जमा पनि जगदम्बा सिमेन्ट उद्योग स्थापना गरेको छ । यसअघि भैरहवामा रहेको जगदम्बा सिमेन्टले १ हजार २ सय मेटि्रक टन प्रतिदिन उत्पादन गर्ने गरेकामा वीरगन्जमा उद्योग स्थापनापछि क्ष्ामता बढेर २ हजार मेटि्रक टन पुगेको छ । वीरगन्जको उद्योगले प्रतिदिन ८ सय मेटि्रक टन उत्पादन गर्ने भएकाले क्षमता २ हजार मेटि्रक टन पुगेको हो ।

अग्रवालले हाल भारतबाट क्लिंकर ल्याएर सिमेन्ट बनाउने गरिएकामा नेपालकै चुनढुंगाबाट क्लिंकर बनाई सिमेन्ट उत्पादन गर्न लागिएको जानकारी पनि दिए । उनले भने, 'भैरहवाको उद्योगबाट क्लिंकर बनाउने प्रयासमा लागेका छौं ।'
यसैबीच शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिलले पनि नेपालकै सबैभन्दा ठूलो टिएमटी फलामे छड बनाउने प्लान्ट स्थापना गरेको छ । हाल ३ सय मेटि्रक टन छड उत्पादन गर्दै आएको जगदम्बाले अब दैनिक १ हजार मेटि्रक टन छड उत्पादन गर्न सक्नेछ । एक महिनापछि ठूलो प्लान्टबाट उत्पादन सुरु गरिने अग्रवालले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment